Sunday 17 June 2012

भारतीय मलको तस्करी तीव्र

प्रहरी-प्रशासनको मिलेमतोमा मध्य तराईको पर्सा, बारा, रौतहटलगायतका सीमाक्षेत्रबाट भारतीय रासायनिक मलको ठूलो परिमाणमा तस्करी भइरहेको छ । कृषकलाई सुविधा पुर्‍याउनेभन्दा केही तस्कर र प्रहरी प्रशासनका उच्चपदस्थ अधिकारीले तस्करीबाट फाइदा लिएका छन् । प्रशासनले कृषकलाई फाइदा पुग्ने भन्दै आँखा चिम्लिएको छ ।
भारतबाट साइकलमा नेपाल भित्र्याएर रासायनिक मल सीमावर्ती क्षेत्रमा जम्मा गरी ट्रकमार्फत मुलुकका विभिन्न ठाउँमा पठाउने गरिएको छ । पर्साको भिस्वा, जानकीटोला, पाँडेपुर र बाराको सिम्रौनगढ, मटिअर्वा, बसतपुर नाकाबाट दैनिक ४० ट्रक मल भित्रिने गरेको स्रोतको दाबी छ । रौतहटको बन्कुल नाकाबाट पनि रातको समयमा तस्करले ठूलो परिमाणमा मल भित्र्याइरहेका छन् । बन्कुल नाकामा भरिया चाहिँदैन । 'नहरपारि भारतीय भूमिमा तस्करले गोदाममा मल राखेका हुन्छन्,' स्रोतले भन्यो, 'रातको समयमै नहरमै पुगेको ट्रकमा मल लोड हुन्छ ।'
भारतीय बजारबाट नाकासम्म मल ल्याएबापत भरियाले प्रतिबोरा एक सय रुपैयाँ लिने गरेका छन् । एकपटकमा भरियाले साइकलमा चार बोरासम्म मल बोक्ने गरेका छन् । तस्करले भारतमा प्रतिबोरा ८ सय रुपैयाँमा खरिद गरिएको युरिया १ हजार ६ सयदेखि १ हजार ८ सय रुपैयाँ र एक हजार तीन सय रुपैयाँमा खरिद गरिएको डीएपी मल २ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । भारतीय किसानलाई त्यहाँको सरकारले अनुदान दिएर सस्तोमा मल उपलब्ध गराउने गरेको छ ।
मल तस्करले बाटोमा पर्ने प्रहरी चौकीलाई मासिक रूपमा रकम बुझाउने गरेका छन् । तस्कर समूहले दिएको जानकारीअनुसार प्रहरी चौकीमा १० देखि १५ हजार, मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र बाराको पिलुवास्थित सशस्त्र प्रहरी बल भद्रकाली गणलाई २/२ लाख रुपैयाँ, राजस्व अनुसन्धान विभागको पथलैयास्थित क्षेत्रीय कार्यालयलाई १ लाख ५० हजार रुपैयाँ दिने गरिएको छ । बारा र रौतहटका प्रहरी प्रमुखले एक/एक लाख लिने गरेका छन् ।
प्रहरी स्रोत भने मल नियन्त्रणमा लिँदा माथिल्लो निकायबाट तत्काल दबाब आउने गरेकाले आँखा चिम्लेको बताउँछ । जेठ ११ गते बाराबाट गएको ३ ट्रक मल मकवानपुर प्रहरी प्रमुखको टोलीले नियन्त्रणमा लिएपछि तत्काल छोडनुपरेको एक मल तस्करले सुनाए । रुद्र बाहिनी गण पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुशील श्रेष्ठले माथिल्लो निकायको दबाबले मल तस्करी नियन्त्रण गर्न असमर्थ रहेको जनाए । उनले भने, 'प्रहरी मात्रैले चाहेर तस्करी रोकिँदैन ।'
मल तस्करी रोक्न आफूले निर्देशन दिइरहेको मध्यमाञ्चल क्षेत्रीय प्रशासक तिलकराम शर्माले बताए । तस्करीको गुनासो आएकाले ४/५ दिनदेखि प्रहरीलाई रोक्न भनेको उनले जनाए । 'मैले निर्देशन दिने हो, आफैं ट्रक रोक्न जाने कुरा भएन,' उनले भने ।
अहिले सिजनमा मलको माग भएको र तस्करहरूले भारतबाट ओसारेको सस्तो मल किसानहरूलाई महँगोमा बेच्न सहज भएपछि प्रहरीको भागमा ठूलो रकम पुगेको स्रोतको दाबी छ । रौतहटदेखि चितवनका कुनै पनि नाकामा मल बोकेका ट्रक चेकजाँच नहुनुको कारण क्षेत्रीय प्रहरी प्रमुखदेखि जिल्ला प्रहरी प्रमुखहरूकै संलग्नताले निर्बाध तस्करी मौलाएको सम्बद्ध व्यवसायीको दाबी छ । रातको समयमा दैनिक ५० ट्रकभन्दा बढी भारतीय रासायनिक मल भित्रिरहेको व्यवसायी बताउँछन् ।
मल तस्करीमा सशस्त्र प्रहरीको मिलेमतोबारे पथलैयास्थित रुद्र बाहिनीका डीआईजी सुशील श्रेष्ठसँग टेलिफोनमा प्रतिक्रिया माग्दा उनले दिन इन्कार गरे । केही बेरमै तस्करीमा संलग्न एक व्यवसायीले संवाददातालाई टेलिफोन गरी मल तस्कबारे डीआईजीलाई फोन गरेको बारे प्रश्न गरे । उनले मल तस्करीको समाचार नलेख्न आग्रह गरे । 'बरु मैले के सहयोग गर्नुपर्छ भन्नुस्,' ती व्यवसायीले भने, 'म तपाईंले जहाँ, जहिले बोलाए पनि हाजिर हुन्छु ।'

No comments:

Post a Comment