Saturday 16 June 2012

ट्यांकर व्यवसायीलाई भ्याई नभ्याई

काठमाडौं, अषाढ ३ - राजधानीमा ट्यांकरबाट पानी घरमा पुर्‍याउने व्यवसायीलाई यतिखेर भ्याई नभ्याई छ । सुख्या मौसममा पानीको अभाव हुँदा व्यापार दोब्बर बढ्ने गरेको व्यवसायी बताउँछन् । जाडो महिनामा दिनको २ टिप पानी ढुवानी गर्न मुस्किल पर्ने ट्यांकरले ५ टिपसम्म काम पाएको व्यवसायीहरूको भनाइ छ । ट्यांकर व्यवसायीले बालाजु, मातातीर्थ, सुन्दरीजल, महांकाल, गोकर्ण, चोभार लगायत ठाउँबाट पानी ल्याउने गर्छन् । व्यवसायीहरूले क्षमता र दूरी अनुसार १ हजार रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्ममा एक ट्यांकर पानी बेच्ने गरेका छन् ।
गर्मी अनुसार पानीको माग बढेकाले दैनिक ३५ टि्रपसम्म पानी ओसारेको जोरपाटीस्थित गंगा खानपानीका शालिग्राम बन्जाराले बताए । माग बढे अनुसार ट्यांकर व्यवसायीबीच प्रतिस्पर्धा अधिक रहेको उनले बताए ।
आफूले प्रशोधित पानी मात्र वितरण गरेकाले व्यवसाय धेरै राम्रो भएको उनले बताए । उनले दूरी अनुसार ५ हजार लिटर पानीलाई ११ सय रुपैयाँ र १२ हजार लिटरलाई २५ सय रुपैयाँ लिने गरेका छन् ।
सुख्खायामले ट्यांकर व्यवसाय फस्टाएको शर्मा खाने पानीका लक्ष्मण चौलागाईले बताए । ट्यांकरको सिजन माघदेखि असारसम्म भएकाले ६ महिनामा राम्रो कमाइ हुने उनले बताए । जाडोमा मुस्किलले एक टिप पानी ढुवानी गर्ने चौलागाईले अहिले दैनिक ४ टिपसम्म भएको उनले बताए । उनले डिजेलको खपत अनुसार पानीको पैसा लिने गरेको सुनाए ।
तनहुँ खानेपानीका सुजन श्रेष्ठको भनाइ पनि उस्तै छ । जाडो महिनामा खासै काम नभए पनि गर्मी लाग्नासाथ ट्यांकर व्यवसाय फस्टाएको श्रेष्ठले बताए । सिजनमा उनले दैनिक १० टिपसम्म पानी ढुवानी गरेका छन् । राजधानीमा पानीको अत्यधिक माग भए पनि पानीको समस्या भएको उनले गुनासो गरे ।
यसैगरी जोरपाटीस्थित कमलामाई खानेपानी सेवाकी मीना श्रेष्ठको भनाइ भने फरक छ । ट्यांकर व्यवसायमा भएको प्रतिस्पर्धा र तेलको अभावका कारण सिजन भए पनि व्यापार बढ्न नसकेको उनले बताइन् । ३ वर्षअघि दैनिक १५ टि्रप पानी ढुवानी गरेकी श्रेष्ठले हाल मुस्किलले ९ टिप भएको बताइन् ।

No comments:

Post a Comment