Wednesday 27 June 2012

पोसाक निर्यात ४० प्रतिशतले बढ्यो

garmentsकाठमाडौ, असार १३ - गुणस्तरमा सुधार हुन थालेपछि तयारी पोसाकको निर्यात निकै बढेको छ । चालू आर्थिक वर्षको १० महिनामा ३ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भएको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ४० दशमलव २ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष यस अवधिमा २ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भएको थियो । गुणस्तरमा क्रमिक सुधार र बन्द हडतालमा कमीले निर्यात बढेको नेपाल तयारी पोसाक संघका अध्यक्ष उदयराज पाण्डेले बताए । चालू आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ बराबरको निकासी हुने अनुमान गरिएकामा अहिलेसम्मको तथ्यांक हेर्दा लक्ष्य पूरा हुने उनले बताए । तयारी पोसाकको मुख्य बजार युरोप हो । तयारी पोसाक निर्यातको ६० प्रतिशत युरोप जाने गरेको छ । युरोपेली मुलुकमा भन्सार छुट पाएपछि तयारी पोसाक त्यता जान थालेको उनले बताए ।
तयारी पोसाक भारत, जापान, बंगलादेश लगायत मुलुकमा समेत निर्यात हुन्छ । अन्य मुलुकको तुलनामा नेपाली पोसाक महँगो भए पनि गुणस्तर राम्रो भएकाले माग बढिरहेको उनले बताए । अन्य मुलुकसग प्रतिस्प्रार्धा गर्न आगामी बजेटमा निकासी गर्ने उद्योगलाई सरकारले ५ प्रतिशतमा ब्याज उपलब्ध गराउनुपर्ने उनले बताए । यसैगरी सरकारले २० प्रतिशत आयकरलाई घटाएर १५ प्रतिशत बनाउनुपर्ने उनको माग छ । यसरी तयारी पोसाकको निर्यातमा भएको वृद्धिले व्यवसायीलाई उत्साहित बनाएको छ । संघका अनुस्ाार तयारी पोसाक उत्पादनमा लगभग ३० वटा उद्योग संलग्न छन् । यस उद्योगमा १२ हजार जनाले रोजगारी पाएका छन् ।

No comments:

Post a Comment