Wednesday 27 June 2012

मुस्ताङ प्रवेश मार्गका होटल धमाधम बन्द

मुस्ताङ-, असार १४ - सडक विस्तारले हिमाल पारिको जिल्ला मुस्ताङमा प्रवेश गर्ने मुख्य नाकाका होटल व्यवसायी विस्थापित भएका छन् ।
सवारी सुविधाले पर्यटकहरू सीधै जोमसोम प्रवेश गर्न थालेपछि यस मार्गका होटल व्यवसायी विस्थापित भएका हुन् । यहाँको घासा, लेते, कोबाङ मार्फा जस्ता प्रसिद्ध पर्यटकीय गाउँका होटलमा पदयात्रा मार्फत आउने पर्यटक घटेका छन् । अन्नपूर्ण, नीलगिरि, टुकुचे पिक हिमालदेखि धौलागिरि आइसफल जाने मुख्य मार्ग मानिने यी क्षेत्रका व्यवसायी पोखरा, काठमाडौं, म्याग्दी, जोमसोममा सर्न थालेका छन् ।
पाँच वर्षयता म्याग्दीबाट सीधै मोटरबाटोको सुविधा भएपछि पर्यटक जोमसोम पुग्न सक्छन् । यसले स्थानीय होटल संकटमा परेका हुन् । पहिले पर्यटक पदयात्रा गर्दै जोमसोम पुग्थे । 'मोटरबाटो खनिएपछि विदेशी पर्यटकको आगमन कम भएको छ,' लेतेमा सुविधा सम्पन्न सी यू लज सञ्चालन गदै आएका पर्यटन व्यवसायी प्रेमप्रसाद तुलाचनले भने, 'मोटरबाटोले सोझै जोमसोम जान थालेपछि होटल व्यवसायी विस्थापित हुनुको विकल्प रहेन ।'
उनले मोटरबाटोले पदयात्रामा आउने विदेशी पर्यटकको संख्या पनि हवात्तै घटेको बताए । १ करोडभन्दा बढी लगानी गरेर उनले खोलेको होटल समेत यतिबेला सुनसान छ । पहिले एउटा होटलमा दैनिक १५ देखि ३० जनासम्म बास बस्ने गरेकामा अहिले मुस्किलले एक-दुई जना हुने उनको दुःखेसो छ । जिल्ला प्रवेश मार्गमा रहेका सबै गाउँमा ७० लज तथा होटल रहेकामा २० देखि २५ वटा होटल विस्थापित भइसकेको पर्यटन उपसमितिकी अध्यक्ष शान्ति तुलाचनले बताइन् ।

No comments:

Post a Comment