Tuesday 12 June 2012

व्यवसायीले गैरकानुनी रूपमा ५४ प्रतिशतसम्म ढुवानी भाडा बढाए

truckकाठमाडौ, जेष्ठ ३० - इन्धनको मूल्य यथावत भइरहेका बेला यातायात व्यवसायीले भने गैरकानुनी रुमा ढुवानी भाडा ५४ प्रतिशतसम्म बढाएका छन् । यसबाट उपभोक्त वस्तुको मूल्य ३० प्रतिशतसम्म बढेको छ ।
ट्रक तथा ट्यांकर ढुवानी व्यवसायी महासंघको स्वीकृतिमा व्यवसायीहरूले कम्तीमा २० प्रतिशतदेखि ५४ प्रतिशतसम्म ढुवानी भाडा वृद्धि गरेका हुन् । उनीहरूले ढुवानी भाडा वृद्धिको मुख्य कारण लामो समयको बन्द हडताल र इन्धन अभावलाई कारण देखाएका छन् ।
'लामो समय बन्द हडतालको सामान गर्नुपर्‍यो । यसबाट ढुवानी गर्नुपर्ने पदार्थको परिमाण पनि अत्यधिक भयो भने डिजेल समेत अभाव भएर ब्ल्याकमा किन्नुपर्‍यो,' महासंघका अध्यक्ष अर्जुन रानाभाटले भने, 'त्यसकारण ढुवानी भाडा केही मात्रामा बढाइएको हो ।' उनले भाडा वृद्धिको समस्या डिजेलको सहज आपूर्तिसँगै केही दिनमा समाधान हुने दाबी पनि गरे ।
उनले तोकिएको भाडा दर ढुवानी सेवा लिने व्यक्ति र संस्थाको गोदामसम्म नभएकाले पनि ढुवानी भाडा केही बढेको दाबी गरे । 'भाडा दर जिरो किलोमिटर टु जिरो किलोमिटर (उदाहरणका लागि भैरहवाबाट काठमाडौं ढुवानी गर्दा कलंकीसम्म मात्र) हो, गोदामसम्म होइन,' उनले भने, 'त्यसले पनि ढुवानी भाडा केही फरक परेको हो ।'
व्यवसायीहरूले वीरगन्ज र भैरहवाबाट नेपालका करिब १ दर्जन स्थानका लागि यही जेठमा ढुवानी भाडा बढाएका हुन् । यसबाट दैनिक उपभोग्य वस्तुको मूल्य एक महिनामा १५ देखि ३० प्रतिशतसम्म बढेको राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ । 'तरकारी तथा चामल यस वर्ष पर्याप्त उत्पादन भए पनि तिनको बजार मूल्यमा वृद्धि भएको छ,' मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, 'सरकारी निकायहरूको कमजोरी र कानुनी शासनमाथि व्यवसायीहरूको मनोमानी र अराजक हस्तक्षेपका कारण यस्तो भएको हो ।' मञ्चले अनियमित तरिकाले भएको मूल्य वृद्धि रोक्न माग गर्दै मुख्य सचिव माधव घिमिरेलाई हालै ज्ञापनपत्र समेत बुझाएको छ ।
यातायात व्यवस्था विभागले भने ढुवानी भाडा नबढाएको स्पष्ट पारेको छ । 'विभागले हाल ढुवानी भाडा बढाएको छैन,' विभागस्थित मेकानिकल एन्ड पोलुसन कन्ट्रोल शाखाका मेकानिकल इन्जिनियर मोहन भट्टराईले भने, 'त्यसकारण कसैले ढुवानी भाडा बढी लिइरहेको छ भने त्यो विभागले तोकेको आधिकारिक भाडा होइन ।' भट्टराईले ढुवानी भाडा दर निर्धारण सम्बन्धी जिम्मेवारी पाएका छन् । ढुवानी र यातायात भाडा विभागको स्वीकृतिबिना बढाउनु गैरकानुनी हो ।
गैरकानुनी रूपमा आफूखुसी ढुवानी भाडा बढाउने व्यवसायीमाथि जरिवानादेखि रुट परमिट र व्यवसाय दर्ता खारेजसम्म हुने कानुनी प्रावधान रहेको अध्यक्ष महर्जनले बताए । 'मनोमानी र गैरकानुनी रूपमा ढुवानी भाडा वृद्धि गर्ने व्यवसायीलाई १ हजार रुपैयाँ जरिवाना गर्नेदेखि रुट परमिट र व्यवसाय दर्ता खारेज गर्नेसम्मको कारबाही हुने कानुनी व्यवस्था छ,' उनले भने ।

No comments:

Post a Comment