Thursday 14 June 2012

फेरिँदै मगर गाउँ

लेस्पार (पर्वत), जेष्ठ ३२ - ढुंगाले छाएका चिटिक्क परेका घरहरू । सफा बाटो र सजिसजाउ पारिएका कोठाहरू । करेसाबारीमा लगाइएका बेमौसमी तरकारी । क्यायङ गाविसको लेस्पारमा पुग्नेहरूले यो दृश्य प्रत्यक्ष रूपमा हेर्न पाउँछन् । त्यस्तै वरिपरिको हरियालीसँगै मगर समुदायको सत्कारले गाउँ पुग्नेलाई गाउँमै बसौ बसौं पार्छ । त्यही भएर अहिले उक्त गाउँका स्थानीय बाह्य पर्यटकको सट्टा आन्तरिक पर्यटकलाई गाउँ भित्र्याउने अभियानमा छन् ।
जिल्ला भूसंरक्षण कार्यालयले जलाधार व्यवस्थापन अन्तर्गत गाउँमा पर्टन सम्बन्धी कार्य सुरु गरेपछि मगर समुदाय पर्यटक भित्र्याउने कार्यमा सक्रिय बनेका हुन् ।
एक वर्ष अघिबाट कार्यालयले गाउँमा पर्यटन सम्बन्धी तालिम दिने, पर्यटक आकषिर्त गर्न बाटोघाटो मर्मतमा सहयोग गर्ने र होमस्टे सञ्चालनका नियमबारे जानकारी गराएपछि मगरहरू होमस्टे सञ्चालनमा लागिपरेका हुन् । 'पहिला हामी गाउँ राम्रो भए पनि कसरी पर्यटकलाई आकषिर्त गर्ने भन्नेबारे जानकार थिएनौं,' होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरसिंह पुनले भने, 'अहिले भूसंरक्षणले सहयोग गरेपछि भने पर्यटक भित्र्याउने कार्यमा छौं ।'
उनले अन्यत्र विदेशीलाई मात्र पर्यटक भनी तानातान गर्ने गरिएको भए पनि आफूहरूले भने आन्तरिक पर्यटकलाई विशेष प्राथमिकता साथ गाउँं भित्राइने बताए । कास्कीको नयाँपुल पर्वतको पूर्ण गाउँ लेस्पार हुँदै पर्यटक म्याग्दीको पुनहिल जानेका गरेका छन् । अहिले १ देखि ४ वडाका ६ घरमा होमस्टे सुरु गरिएको छ । 'पहिला गाउँको विकास कसरी गर्ने भन्ने बारे केही थाहा थिएन, होमस्टे सञ्चालक गौरबहादुर पुनले भने, 'अहिले होमस्टे सुरु गरेपछि भने सिंगो गाउँ परिवर्तन बन्दै गएको छ ।' पहिला फोहोर देखिने गाउँ अहिले सफा छ ।
गाउँंलेले समेत बाटामा फोहोर फाल्दैनन् । उनले ४ वटा बेड रहेको र होमस्टेको नियम अनुसार पर्यटन तान्न्ो काम सुरु गरेको बताए । पहिला आफूलाई मात्र खान तरकारी लगाउने स्थानीयले अहिले भने होमस्टेसँगै तरकारी खेती समेत विस्तार गरेका छन् । बेमौसमी रूपमा बन्दा, काउली, मूला, गाँजर, घिरौंला, बोडी, आलु, गेालभेंडा लगाएर पर्यटकलाई स्थानीय उत्पादन चखाउन लागेका हुन् गाउँलेले । त्यस्तै कुखुरा र खरायो पालन पनि सुरु गरिएको छ । 'अब रुट निर्धारण गरेर आन्तरिक पर्यटकलाई गाउँ भित्र्याउने छौं,' होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरसिंह पुनले भने, 'त्यही भएर आन्तरिक पर्यटकलाई प्रथामिकता दिई नमुना पर्यटकीय गाउँका रूपमा विकास गर्ने छौं ।'
गाउँको विकास गर्न र पर्यटक भित्र्याउन सबै गाउँले कम्मर कसेर लागिपरेका छन् । यो गाउँमा मगर समुदायको बाक्लो बस्ती छ । 'हामीले मगर गाउँमा जलाधार व्यवस्थापन सम्बन्धी काम गर्दै आएका छौं,' भूसंरक्षण कार्यालयका प्रमुख राजु सापकोटाले भने, 'त्यही भएर मगर समुदायलाई आत्मनिर्भर बनाउन पर्यटन सम्बन्धी कार्य सुरु गरेका हौं ।'

No comments:

Post a Comment