Wednesday 27 June 2012

कृषिमा ९ अर्बका आयोजना थपिने

काठमाडौ, असार १४ - कृषिमा लगानी बढाउन ९ अर्ब रुपैयाँ बराबरका ४ वटा नयाँ आयोजना थपिने भएका छन् । ५ वर्षसम्म चल्ने उक्त आयोजनालाई आगामी आर्थिक वर्षको बजेटदेखि समावेश गर्ने योजना सरकारको छ ।
विशेषगरी वैदिशिक सहायतामा सञ्चालन हुने उक्त आयोजनाबारे दातृ निकायसँग सहमति भइसकेको छ । '४ वटा बहुवषर्ीय आयोजना थपिनेबारे सहमति भएको छ,' कृषि मन्त्रालय स्रोतले भन्यो ।
कृषिजन्य उद्योग प्रवर्द्धन र यस क्षेत्रको एकीकृत विकासका लागि यस्ता आयोजना सुरु गर्न लागिएको मन्त्रालयले बताएको छ । नयाँ आयोजनामा ग्लोबल फन्डको सहयोगमा सबैभन्दा ठूलो आयोजना सुरु हुँदै छ । उक्त आयोजनाका लागि करिब ५ अर्ब ४० करोड रुपैयाँ (६ करोड डलर) सहयोग पाइएको छ ।
उक्त सहायता रकम कृषिको व्यवसायीकरणमा खर्च गरिने कृषि मन्त्रालय स्रोतले जानकारी दियो । 'आगामी केही वर्षसम्म कृषिको व्यवसायीकरण र उद्यम विकासमा उक्त रकम खर्च हुने छ,' स्रोतले भन्यो । आगामी आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ यस कार्यक्रम अन्तर्गत विनियोजन गरिएको छ । यस कार्यक्रम अन्तर्गत पशुपालनमा सरकारले बढी खर्च गर्ने योजना बनाएको छ ।
दूध, मासु र मासुजन्य उत्पादन, भेडा र च्यांग्रा उत्पादनमा जोड दिने योजना सरकारको छ । पस्मिना र गलैंचाको कच्चा पदार्थ (ब्याकवार्ड लिंकेज) नभएका कारण तुलनात्मक लाभका उत्पादन प्रतिस्पर्धी नभएकाले भेडाच्यांग्रामा लगानी गर्नुपर्ने माग उठ्दै आएको छ ।
यसैगरी कृषि क्षेत्रको वृद्धिदर र उत्पादकत्व बढाउने कार्यक्रमका लागि सरकारले ३ करोड डलर (करिब २ अर्ब ७० करोड रुपैयाँ) पाएको छ । सिँचाइ, मल र बजारसम्मको पहुँच कृषि क्षेत्रको वृद्धिदरलाई प्रभाव पार्ने तत्त्व रहँदै आएका छन् । देशका करिब ६० प्रतिशत सिँचाइ आयोजनामा सुख्यायाममा पानी हुँदैन ।
यस वर्ष समयमा वर्षा भएका कारण बढेको उत्पादनले कृषि क्षेत्रको वृद्धिदर उत्साहजनक भए पनि अन्य वर्षमा न्यून रहँदै आएको छ । चालू आर्थिक वर्षमा ९४ लाख टन खाद्यान्न बाली उत्पादन हुने प्रक्षेपण मन्त्रालयको छ । यो हालसम्मकै सबैभन्दा बढी हो । अर्थतन्त्रमा ३५ प्रतिशत हिस्सा राख्ने कृषि क्षेत्रको बढेको उत्पादनले समग्र आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुने देखिएको छ ।
यसैगरी करिब ९० करोड रुपैयाँ बराबरको माछापालन आयोजना पनि कृषि मन्त्रालयले सुरु गर्ने भएको छ । यसका लागि अन्तर्राष्ट्रिय सहयोग नियोग (आईडीए) ले सहयोग गरेको मन्त्रालयले जनाएको छ ।
पशुपक्षीबाट मान्छेमा सर्ने रोग नियन्त्रण (जुनोसिस) का लागि सरकारले नर्वे सरकारबाट करिब ४५ करोड रुपैयाँ सहयोग पाउने छ । यीसँगै दुई साना गरी छ वटा नयाँ आयोजना यस वर्ष कृषि मन्त्रालयले विदेशी सहयोगमा सुरु गर्ने भएको हो ।
मन्त्रालय अन्तर्गत थपिएका सहित १९ वटा वैदेशिक सहायतामा आयोजना मार्फत काम हुने छ । यी १९ वटै आयोजना मार्फत आगामी आर्थिक वर्षमा ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता कृषि मन्त्रालयले परिचालन गर्ने छ ।
थपिएको वैदेशिक सहायताले प्रधानमन्त्री बाबुराम भट्टराईको कृषिमा लगानी दोब्बर पुर्‍याउने योजनालाई सहयोग पुग्ने मन्त्रालय स्रोतले बतायो । सबै बजेट दोब्बर नभए पनि मलमा दिने अनुदान रकम भने सरकारले दोब्बर बनाउने छ । यस वर्ष ३ अर्ब ४३ करोड अनुदान दिइएकामा आगामी वर्षका लागि ७ अर्ब रुपैयाँ बराबरको अनुदान मलमा दिने योजना सरकारको छ ।



No comments:

Post a Comment