Tuesday 19 June 2012

नेपाल सुन तस्करीको अन्तर्राष्ट्रिय ट्रान्जिट

goldकाठमाडौ, जेष्ठ २३ - मुलुकमा बैंकले ल्याएको सुन बाहेक अरू बेच्न पाइँदैन । बजारमा भने बैंकहरूले तोकेको मूल्यभन्दा प्रतितोला ४ सय रुपैयाँ सस्तोमा सुन पाइन्छ ।
------
अिर्कोतर्फ सुन आयात गर्ने बैंकहरू भन्छन्, 'सुन बिक्री भएन । अहिले झन्डै ४ सय किलो सुन ल्याएर पनि बिक्री भएको छैन । झन्डै २ अर्ब रुपैयाँ बराबरको सुन यत्तिकै थन्किएको छ ।'
------
व्यवसायी जिकिर छ, 'बजारमा सुन अभाव छैन । बैंकको भन्दा सस्तोमा पाइन्छ । त्यसैले बैंकमा सुन लिन कोही जाँदैन ।'
------

आधिकारिक रूपमा बैंकबाट सुन बिक्री भइरहेको छैन तर बजारमा अभाव पनि छैन । आखिर यो कसरी सम्भव भयो ? 'अहिले हङकङको सुन खासाको बाटो हुँदै काठमाडौं ल्याएर भारत निकासी भइरहेको छ,' एक सुन व्यवसायी खुलासा गर्छन् 'स्थानीय बजारमा पनि त्यही सुन खपत भइरहेको छ ।' व्यवसाय सम्बद्ध स्रोतका अनुसार खासाबाट दैनिक ५० किलोको हाराहारीमा सुन भित्रिरहेको छ । करिब ५ किलो यहाँ खपत भई बाँकी भारतीय बजारमा गइरहेको स्रोतको दाबी छ ।
भारतीय बजारमा सुन बेच्दा हुने दोहोरो फाइदा हेर्दा फेरि नेपाल सुन कारोबारको ट्रान्जिट भइरहेको पुष्टि गर्छ । तस्करले हङकङबाट ल्हासासम्म जाहजमा सुन ल्याउँछन् । ल्हासाबाट गाडीमा खासा ल्याइएको सुन तातोपानीबाट भित्र्याइने गरेको छ । स्रोतका अनुसार सुन तस्करीमा ठूला समूह सक्रिय छन् । एक थरीले यसरी भित्रिएको सुन स्थानीय बजारमा बिक्री गर्छन् । 'सोझै भारतीय बजारमा पुर्‍याउने समूह पनि सक्रिय छ,' स्रोतले भन्यो ।
तस्करी भएर आएको सुन नेपालमा बेच्दा प्रतिकिलो २ लाख ३० हजार रुपैयाँ नाफा हुन्छ । यो रकम सुन आयात गर्दा लाग्ने भन्सार प्रति १० ग्राम २ हजार ३ सय पूरै छलिने भएकाले हुने हो ।
त्यही सुन भारतीय बजारमा पुर्‍याउँदा भने प्रतिकिलो करिब १ लाख ८० हजार रुपैयाँ फाइदा हुन्छ । नेपालभन्दा भारतमा प्रति १० ग्राम ५ सय रुपैयाँ सस्तो हुने हुँदा कम नाफा भएको हो । तर नेपालभन्दा भारतमा निकै बढी माग भएकाले सुन भारत नै बढी जान्छ । यति मात्रै होइन तोकिएको दरभन्दा बढीमा भारतीय रुपैयाँ (भारु) नेपाली बजारमा बिक्ने हुँदा दोहोरो फाइदा पनि हुन्छ ।
सुन बिक्री गरेपछि आउने भारु स्थानीय बजारमा निर्धारित दरभन्दा ३ रुपैयाँ बढीमा सटही हुने भएकाले थप मुनाफा भएको हो । भारु अभावका कारण १ सय भारु १ सय ६३ रुपैयाँको हाराहारीमा सटही भइरहेको छ । जबकि दुई देशबीच २ दशकदेखि एक सय भारु बराबर १ सय ६० हुने गरी स्थिर विनिमयदर कायम गरिएको छ ।
'एक किलो सुन बेचेर आउने भारतीय रुपैयाँ सटही गर्दा मात्र पनि ९० हजार रुपैयाँ मुनाफा छ,' स्रोतले भन्यो । भन्सार बढेको एक सातापछि तस्करी सुरु भएको उनले बताए । सरकारले एक महिनाअघि सुनको भन्सार बढाएको थियो । भारतमा भन्दा सस्तो भई वैध सुन भारतीय बजारमा चोरी निकासी हुन थालेपछि सरकारले भन्सार महसुल बढाएको थियो ।
तस्करीको सुन स्थानीय बजारमा बेच्दा पनि प्रतिकिलोमा खुद मुनाफा नै १ लाख ५० हजार रुपैयाँ हुन्छ । 'भन्सार छलेर गरिने ओसारपसार खर्च ८० हजारको हाराहारीमा लागे पनि १ लाख ५० हजार रुपैयाँ चोखो बच्छ,' एक सुन व्यवसायीले भने । सुन अवैध रूपमा भित्रिन थालेपछि बैंकसँग झन्डै ४ सय किलो सुन थन्किएको छ । 'भन्सार बढेपछि बिक्री भएको छैन,' एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले भने, 'बैंकबाट सुन किन्न सिफारिस गर्ने जिम्मा पाएका ४ वटा व्यवसायी संघले पनि सिफारिस गरेका छैनन् ।'
बजारमा बैंकले तोकेको मूल्यभन्दा ७ सय रुपैयाँ कममा तस्कारीको सुन पाइने गरेको व्यवसायी बताउँछन् । संघले तोकेको मूल्य पनि बैंकको भन्दा ४ सय रुपैयाँ सस्तो छ । सोमबार बैंकले प्रति दस ग्रामको ४८ हजार ९ सय मूल्य निर्धारण गरेको छ । तर सुनचाँदी व्यवसायी संघले निर्धारण गरेको मूल्य दस ग्राममा ४८ हजार ५ सय २५ रुपैयाँ रहेको छ ।
स्थानीय बजारमा सुनको माग कम भएकाले बैंकको सुन बिक्री नभएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जिकिर गरे । सुनको माग बजारमा पाइने सुनबाट सहजै धानिएको उनले बताए । 'खासाबाट सुन आएको हल्ला छ,' उनले भने, 'तर कहाँबाट आयो हामीलाई थाहा छैन ।'
भारतमा राम्रो मुनाफा हुने भए पछि तस्करहरू अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ल्याउने गरी प्रहरी प्रशासन भित्र चलखेल गराइरहेको स्रोतको दाबी छ ।
'अहिले अवैध रूपमा सुन भित्र्याउन उपयुक्त प्रहरी अधिकृतहरूको खोजी भइरहेको छ,' स्रोतले भन्यो, 'केही प्रहरी सरुवा भइसकेका छन् ।' खासाबाट सुन तस्करी गर्ने आँट नगरेका व्यवसायीले विमानस्थलबाट काम गर्न लबिङ गरिरहेका थिए । 'सरकारी तहबाटै लाइन मिलेको छ,' स्रोतले भन्यो ।

तस्करी इतिहास पञ्चायतदेखि गणतन्त्रसम्म
आयात खुकुलो नभएको र भारतमा महँगो भएकाले पञ्चायतकालमै अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन्थ्यो । हङकङबाट सुन ल्याएर भारतीय बजारमा पुर्‍याइन्थ्यो । तस्करले सुन बोक्न मानिसहरू हङकङ लगेर २/४ किलो सुन बोकाएर यहाँ ल्याई भारतीय बजारमा पुर्‍याउँथे ।
'पञ्चायतकालमा सुन तस्करीमा दरबारियाको संलग्नता थियो,' पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले भने । २०४३ सालमा प्रहरी महानिरीक्षकबाट अवकाशप्राप्त डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका एडीसी भरत गुरुङ तस्करीको आरोपमा कारबाहीमा परेका थिए । 'गुरुङको बयान लिन मलाई खटाइएको थियो,' खरेलले भने, 'यस क्रममा उनले सुन तस्करीमा दरबारियाको संलग्नताको बारे मलाई विस्तृत रूपमा बताएका थिए । 'भरिया मार्फत एक क्विन्टलसम्म सुन भित्र्याएको उनीहरूले सुनाएका थिए ।'
सरकारको नेतृत्व तहको मिलेमतामा पचासको दशकभरि विमानस्थल सुन तस्करीमा प्रयोग भएको थियो । विमानस्थलको सुरक्षा गार्ड उपत्यका प्रहरी कार्यालय -भ्याली कमान्ड) अन्तर्गत हुन्थ्यो । तर आन्तरिक सर्कुलर गरी विमानस्थललाई सोझै प्रहरी प्रधान कार्यालयको कार्यविभाग अन्तर्गत राखिएको थियो । जिल्ला प्रहरी र उपत्यका प्रहरी कार्यालयलाई विमानस्थल प्रवेशको अनुमति थिएन । २०५५ मा इन्डियन एअरलाइन्सको जहाज अपहरण भएपछि उपत्यका प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) सहवीर थापालाई कारबाही गर्नुपर्ने कुरा चल्यो । 'गृहमन्त्री पूर्णबहादुर खड्का सम्मिलित बैठकमै थापाले सुन तस्करी गराउन हामीलाई विमानस्थलमा छिर्न नदिने अनि अहिले जवाफदेही बनाउन खोज्ने भन्दै पड्किएका थिए,' एकजना अवकाशप्राप्त वरिष्ठ प्रहरी अधिकृतले भने । त्यतिबेला प्रहरीकै गाडीमा पनि विमानस्थलबाट सुन ओसारिएको थियो । खरेलका अनुसार २०५३ सालमा एकचोटि सुन बढी लोड गरिएका कारण प्रहरी वाहन पन्चर भएको थियो । '२०५६ सालको निर्वाचनअघि एक जना बहालवाला मन्त्री सचिवलाई लिएर सुन तस्करीको छुट दिनपर्‍यो भनेर मकहाँ आएका थिए,' उनले थपे ।
त्यतिबेला २०५१ सालको त्रिशंकु संसदमा सरकार बनाउने ढाल्ने खेलमा सुन तस्करको पैसा प्रयोग भएको थियो । तत्कालीन अर्थमन्त्री रविन्द्रनाथ शर्माले विमानस्थलबाट सरकारकै मिलेमतोमा सुन तस्करी भएको स्विकार्दै तस्करको नाम लिए आफ्नो ज्यान खतरामा पर्ने सार्वजनिक रूपमा बोलेका थिए ।

No comments:

Post a Comment