Wednesday 6 February 2013

मेसिनबाट मोबाइल ब्यालेन्स रिचार्ज



काठमाडौं, माघ १८ - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले उपत्याकाभित्र मेसिनबाट मोबाइलमा रकम रिचार्ज गर्न मिल्ने सेवा सुरु गर्ने भएको छ।

मेसिनबाट 'ब्यालेन्स' रिचार्ज गर्न सकिने यो सुविधा नेपालमा पहिलो हो। एनसेल ग्राहकले अब बिनाझन्झट यस्ता मेसिनबाट २० देखि २ हजार रुपैयाँसम्म चाहेको कुनै पनि नम्बरमा ब्यालेन्स रिचार्ज गर्न सक्नेछन्।

सुरुमा काठमाडौंका ४० स्थानबाट यो सेवा प्रयोग गर्न सकिने छ भने केही समयभित्रै राजधानी बाहिर पनि सेवा विस्तार गरिने एनसेलले जनाएको छ।
'ग्राहकलाई आधुनिक र उत्कृष्ट सेवा अनुभव गराउनेक्रममा मेसिनबाट रिचार्ज गर्न सकिने सेवा सञ्चालन गर्न लागेका हौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्, 'यसको प्रयोगबाट ग्राहकले एमआरपी (अधिकतम उपभोक्ता मूल्य) मै रिचार्ज गर्न सक्छन्।'

यो मेसिनबाट रिचार्ज सेवा प्रयोग गर्न ग्राहकले मेसिनमा चाहेको भाषा (अंग्रेजी वा नेपाली) रोजेपछि स्त्रि्कनमा देखिने एनसेलको लोगो छनौट गरी आफ्नो वा अरूको मोबाइल नम्बरमा २० भन्दा माथिको रकम रिचार्ज गर्न सक्नेछन्।

'मेसिनले खुद्रा पैसा फिर्ता नगर्ने हुँदा ग्राहकले कति रकमको ब्यालेन्स राख्ने हो त्यहीबराबरको बैंक नोट मेसिनमा राख्नुपर्ने हुन्छ,' कोइरालाले भनिन्।
रिचार्जका लागि सबै प्रक्रिया पूरा गरिसकेपछि मेसिनबाट रसिद पाउनेछन्।

प्राविधिक समस्याको अवस्थामा तत्काल ब्यालेन्स रिचार्ज नहुन सक्छ, तर समस्या हल हुनासाथ रिचार्ज हुनेछ। प्रक्रिया गलत भइ रिचार्ज नभए ग्राहकले एनसेलको कुनै पनि नम्बरबाट ७७०१ म्ाा सम्पर्क गरी समस्या राख्न र विस्तृत जानकारी पाउन सक्नेछन्।

Tuesday 5 February 2013

काठमाडौ आउने सडकको ढलान सकियो



 काठमाडौ भित्रने मुख्य नाका नागढुंगा र आसपासको सडक मर्मतका क्रममा बायाँ लेनतर्फको ढलान पूरा भएको छ ।

झ्याप्लेखोला क्षेत्रको ५० मिटर सडकमा उपत्यका भित्रने बायाँ लेनतर्फ किनारमा पर्खाल लगाइसकिएको ट्राफिक प्रहरी कार्यालय नागढुंगाले जनाएको छ ।

ढलान नसुकुन्जेल किनारबाट गाडी सञ्चालन हुन नसक्ने भएकाले केही दिन एकतर्फी रुपमा गाडी सञ्चालन हुने प्रहरी नायब निरीक्षक खणेन्द्र खत्रीले जानकारी दिनुभयो । यसअघि काठमाडौबाट बाहिरिने दायाँ लेनको किनारमा ढलान गरिएको थियो ।

वर्षा र पहिरोका कारण सडक किनार भत्किएको हुँदा त्यो मर्मत नगरी सडक पीच गर्न नसकिने भएकाले पहिले ढलानको काम गरिएको सडक विभागले जनाएको छ ।