Monday 26 November 2012

१२ खनिज ९५ ठाउँमा उत्खनन


काठमाडौ, मंसिर १२ - खनिज पदार्थको प्रचुर सम्भावना रहेको नेपालमा हाल १२ प्रकारका खनिज पदार्थ ९५ ठाउँमा उत्खनन भइरहेका छन् । खानी तथा भूगर्व विभाग, लैनचौरका अनुसार उत्खननमा रहेका खानीमा चुनढुंगा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, ट्रुमालिन र जिंक छन् ।
विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले चुनढुंगाका १० उद्योग सञ्चालनमा रहेको जनाए । नेपाल भौगर्भिक समाज र विभागद्वारा राजधानीमा बुधबारदेखि आयोजना हुने 'हिमालय -काराकोरम -तिब्बत क्षेत्रको भूगर्व विषयक अन्तर्राष्ट्रिय सम्मेलन' को जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा खनिज पदार्थको अध्ययनसमेत भइरहेको बताए ।
महतोका अनुसार दाङ, रोल्पा, प्यूठान, सल्यान, पाल्पामा कोइला र पर्वतमा फलाम खानी सञ्चालनमा छन् । 'पब्लिक प्राइभेट पिपुल पाट्टनरसीप (४ पी) अनुसार खानी उत्खनन्, सञ्चालन गर्ने हो भने नेपालमा खनिज उद्योगको राम्रो सम्भावना छ,' उनले भने ।
खोलाको लाइसेन्स जस्तै खानीको पनि निजी कम्पनीले रोकेर राखेका छन् कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'पानीको लाइसेन्स जस्तो खानीको होल्ड गरेर राख्न मिल्दैन,' उनले भने, 'पानी जस्तै खानी बग्दैन, यसलाई थाहा पाउन धेरै अध्ययन गर्नुपर्छ ।' उनले विभागले खानीका लागि दिएको लाइसेन्सको मासिक सूचना निकाल्ने र जानकारीहरू विभागको वेबसाइटमा राखिने गरेको बताए । विभागको वेबसाइट भने अपडेट छैन ।
काठमाडौंमा १९ देशका ३ सय भूवैज्ञानिक तीन दिने 'हिमालय-काराकोरम-तिब्बत क्षेत्रको भूगर्व विषयमा अन्तर्राष्ट्रिय सम्मेलन' एसिया, युरोप र अमेरिका गरी १९ देशका करिब ३ सय भूवैज्ञानिक काठमाडौंमा जुट्दैछन् । भौगर्भिक समाजका अध्यक्ष उत्तमबाबु श्रेष्ठले सम्मेलनमा भूगर्भ, भौगोलिक प्रक्रिया, भूकम्प, खनिज सम्पदा, प्राकृतिक प्रकोप, जलवायु र यी विषयका प्रविधिसम्बन्धी नेपालका भूवैज्ञानिकले तयार गरेका ४० सहित १ सय ५० कार्यपत्र प्रस्तुत हुने बताए । एउटा कार्यपत्र उपत्यकाको भूमिगत जलस्रोतबारे छ । पानी कति छ भनेर पत्ता लगाउन कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे सम्मेलनमा छलफल हुने समितिले जनाएको छ ।
सम्मेलनमा आएका वैज्ञानिकहरूले मंगलबार काठमाडौं उपत्यकाको अध्ययन भ्रमण गर्ने भएका छन् । सम्मेलनपछि एक टोली बुटवल-पोखरा, जोमसोममा र अर्को टोली हेटौंडा, बर्दिबास जानेछ । 'यो सम्मेलनले थप अनुसन्धान गर्ने क्षेत्रहरूको समेत मार्ग प्रसस्त गर्नेछ,' सम्मेलन संयोजक दिव्यरत्न कंसाकारले भने, हामीले यो सम्मेलनलाई महत्त्वपूर्ण रूपमा लिएका छौं । नेपालमा भूवैज्ञानिकको संख्या करिब ४ सय छ । सन् १९९४ मा आयोजित नवौं सम्मेलनपछि नेपालमा आयोजना हुन लागेको यो ३०औं सम्मेलन हो ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगालादेश, भुटान, चीन, जापान, अमेरिका, इटली, बेलायत, फ्रान्स, जर्मनी, स्पेन, स्वीट्जरल्यान्ड, पोल्यान्ड, रसियालगायतबाट भूवैज्ञानिकहरूले भाग लिँदै छन् ।