Saturday 11 August 2012

सेयरले उकास्दैछ घरजग्गा र बैंकलाई


काठमाडौं, श्रावण २८ - सेयर बजारमा देखिएको सुधारले घरजग्गा देखि बैंकिङसम्म राहत पुर्‍याउन थालेको छ । ऋण तिर्नका लागि सेयर विक्री गर्ने क्रम बढेपछि गत वर्षको अन्तिम त्रैमाशिकमा बैंकहरुलाई केहि राहत पुग्ने देखिएको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाशिकको तुलनामा चौथोमा ३ अर्ब १४ करोड रुपैया बढीको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जको तथ्याकं अनुसार वैशाख देखि असारसम्म ४ अर्ब ५२ करोड रुपैयाको कारोबार भएको थियो । जुन माघ देखि चैत सम्म १ अर्ब ३८ करोड रुपैया बराबर मात्र थियो ।

अन्तिम त्रैमाशिकमा बैंकको ऋण चुक्ता गर्न सेयर विक्री गर्नेको संख्या बढी भएकाले बैंकलाई राहत पुग्ने देखिएको हो । ब्रोकरका अनुसार अधिकासं विक्री सेयरधितो कर्जा र रियलस्टेट कर्जा चुक्ता गर्न भएका छन् । जसले बैंकको ऋण उठ्नका साथै खराब कर्जा कम गर्न सहयोग पुग्छ ।

बैंकर भने सेयर बजारमा बढेको कारोबारले बैंकको नाफा वृद्धि गर्न सहयोग नपुगेपनि घट्न भने नदिएको हुनसक्ने बताउछन् । ‘सेयर बजारमा बढेको कारोबारका कारण बैंकहरुको नाफा बढ्ला भन्न सकिदैन’ एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले भने,‘तर नाफा घट्न नदिएकोसम्म हुनसक्छ ।’

बजारमा सुधार आएको अवस्थाका कारण आवस्यक पर्ने व्यक्तिले सेयर विक्री गरेर पनि ऋण तिरेको किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद ज्ञवालीले बताए । ‘सेयर तुरुन्तै किनवेच हुने लगानी भएकाले सहज अवस्था भएपछि केहि व्यक्तिले विक्री गरेर पनि ऋण तिरे’ उनले भने, ‘यसले बैंकलाई सहज भएको हुनुपर्छ ।’ पछिल्लो समय सेयर बजारमा देखिएको सुधारले समग्र व्यवसाय चलायमान बनाएको उनी बताउछन् । ‘बजार बढेपछि सेयर धितो कर्जाको प्रोभिजनिङ हुने संभावना घट्यो साथै आवस्यक पर्नेले विक्री गरेर पनि अन्य ऋण तिरे’ उनले भने, ‘त्यसैले बैंकलाई पनि यसले सकारात्मक असर गरेको छ ।’ पछिल्लो समय सेयर बजारमा देखिएको वृद्धि एक्कासी आएको नभई स्थिर प्रकृतिको रहेकाले सुधार अझै जारी रहने ज्ञवालीले बताए ।

घरजग्गा कारोबारमा सिथिलता आएको समयमा बढेको सेयर बजारले केहि राहत दिने संकेत भने गरेको छ । ‘घरजग्गाकै ऋण तिर्नका लागि सेयर विक्री गरिएको केहि उदाहरण देखिए’ अग्रवाल सेक्युरिटिजका आधिकारीक प्रतिनिधि अनन्त पौडेलले भने । घरजग्गा विक्री हुन असहज भैरहेको समयमा सेयरबजारमा भने ठिक उल्टो अवस्था आएको उनी बताउछन । ‘सेयर विक्री गर्न खोज्दा तुरुन्तै खपत हुन थाल्यो’ उनले भने, ‘यसले बैंकलाई प्रोभिजनिङ गर्नबाट पनि जोगायो ।’

तेस्रो त्रैमाशिक विवरण अनुसार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २५ वटा मध्ये १६ वटा बैंकको नाफा अघिल्लो वर्षको सोहि अवधीभन्दा घटेको थियो । त्यस्तो घाटालाई कम गर्न वा नाफामा लैजान चौथो त्रैमाशिकमा भएको कारोबारले सहयोग गर्ने देखिन्छ ।

चौथो त्रैमाशिकमा सेयर धितो ऋण लिएका केहि ठुला व्यवसायीले पनि कर्जा चुक्ता गर्न बल्क सेयर विक्री गरे । साथै बैंक आफैले पनि ऋण चुक्ता नगरेकाको सेयर लिलामीमा लगेर विक्री गरेका थिए ।

विक्री गर्ने प्रवृत्ती बढेको देखिए पनि बैंकलाई भने ठुलो राहत नहुने अनुमान जोशीको छ । ‘यस्तो कारोबारको बैंकमा अंश कम हुन्छ’ उनले भने, ‘यसका साथै तेस्रोमा नभएर चौथो त्रैमाशिकमा प्रोभिजनिङ गर्छु भनेर बैंकले कुरेका हुनसक्छन् ।’

गत आर्थिक वर्षको अधिकासं समय सुस्त देखिएको सेयर बजार चैत अन्त्यबाट भने बढ्न थालेको थियो । यसका तीन प्रमुख कारण रहेको सेयर सम्बन्धी अनुसन्धान गर्ने संस्था सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेजका अध्यक्ष रविन्द्र भट्टराई बताउँछन् । ‘सेना समायोजन, संविधान निर्माण लगायतका राजनीतिक क्रियाकलापका साथै सेयर बजारमा रहेका धेरै कम्पनीको मूल्य तल आउनु र बैंकको व्याजदर पनि घट्न थाल्नुले सेयर बजार बढाउन सहयोग पुग्यो’ उनी भन्छन् ।

सेयर धितो कर्जा सहज हुनका साथै कम्पनीहरुको वासलात प्रकासित हुनु र जलविद्युत कम्पनीको सेयर खरिद बढेपछि बजारमा सुधार आएको पौडेल बताउछन । माघमा २ करोड १४ लाख रहेको औसत दैनिक कारोबार असारमा ६ करोड २९ लाख पुगेको थियो ।