Friday 26 October 2012

औद्योगिक करिडोर क्षेत्रमा मजदुर अभाव

majdurइटहरी, कार्तिक १० - अरिहन्त मल्टिफ्लाइवर्स जुट उद्योग सोनापुरका अधिकांश मजदुर सार्वजनिक भाडाको यातायात प्रयोग गर्दैनन् । उनीहरूलाई उद्योग ल्याउन र घर पुर्‍याउन उद्योग व्यवस्थापनले नै बसको व्यवस्था गरेको छ ।



खनारस्थित रिलायन्स स्पनिङ मिल्समा काम गर्ने कर्मचारीमात्र होइन मजदुर का लागि व्यवस्थापनले आवासको व्यवस्था गरेको छ ।

राजनीतिक अस्थिरताले उद्योग धराशायी भइरहेको उद्यमीले गुनासो गरे पनि सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा काम गर्ने मजदुर का लागि सुविधा बढ्दै गएको छ । मजदुर ी छाडेर वैदेशिक रोजगारीमा जानेहरू बढ्न थालेपछि उद्योगले विभिन्न सुविधाको क्रम बढाएको छ ।        

करिडोर क्षेत्रले पछिल्लो समय खोजेजति मजदुर पाउन छाडेपछि घरघरमै गएर सुविधासहित आकर्षण गर्ने क्रम पनि बढेको छ । र, पनि मजदुर नपाएर उद्योगले समस्या भोग्नु परेको उद्यमीहरूले बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस पूर्वाञ्चल क्षेत्रीय समितिले गरेको अध्ययनअनुसार करिडोर क्षेत्रमा झण्डै १० हजार मजदुर अभाव भएका छन् । उद्योगले थप कामदार लिन तयार भए पनि जनशक्ति नभेटाइएको अवस्था रहेको उल्लेख गर्दै युनियनले यसखाले समस्या आउनुको कारणमा वैदेशिक रोजगारीमा बढ्दो आकर्षण, बिहार सरकारले बढी मूल्य तिरेर मजदुर ल्याउने गरेको लगायतका कारण रहेको बताएको छ ।

जुट, इट्टाभट्टा, बिस्कुट, कागज, साबुन, फलामजस्ता उद्योगमा आवश्यकताअनुसार मजदुर नहुँदा उत्पादनसमेत प्रभावित हुने गरेको छ । अरिहन्त मल्टिफ्लाइवर्सका प्रबन्धक गोविन्द बजगाइँका अनुसार ४ हजार ६ सय जनालाई रोजगारी दिइरहेको अरिहन्तमा मजदुर अभाव भएको छ ।

'मागअनुसार मजदुर नआएपछि हामीले यातायात सुविधासमेत प्रदान गरेर सुनसरी र मोरङमा अभियान चलाउनुपरेको छ' बजगाईले ईकान्तिपुरसित भने- 'अझै प्रशिक्षित जनशक्ति त भेट्टाउनै मुस्किल छ ।'

सुनसरी-मोरङ करिडोर क्षेत्रमा ५ सयभन्दा बढी उद्योग छन् । यी उद्योगमा झण्डै ५० हजार मजदुर कार्यरत छन् । अरिहन्त मल्टिफ्लाइवर्स, रिलायन्स स्पनिङ्, धनलक्ष्मी सेन्थेटिक्स, एसियन थाइफुड्स, कमला र पशुपति आइरन, आरती स्ट्रिप्सलगायतका उद्योग बढी मजदुर उपयोग गर्ने कारखाना हुन । धनलक्ष्मी सेन्थेटिक्सका उद्योगी वासु गोल्यानका अनुसार उद्योगमा कामका लागि दक्षभन्दा अदक्ष कामदार आउँछन् र, काम सिककेपछि विदेश जाने क्रम बढेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस पूर्वाञ्चल सचिव ज्योति कोइरालाले युनियनले गरेको स्थलगत अध्ययनका क्रममा उद्योग आसपास क्षेत्रमा बढी युवा, युवती वैदेशिका रोजगारीका लागि खाडी र अन्य मुलुक जाने गरेका छन् । सप्तरी, सिरहा, झापालगायत जिल्लाबाटसमेत मजदुर लाई ल्याएर उद्योग चलाउनु पर्ने अवस्था रहेको जानकारी दिए ।

झण्डै एक दर्जन संख्यामा करिडोर क्षेत्रमा खुल्न थालेका नयाँ उद्योगका लागि पनि पर्याप्त मजदुर पाइएका छैनन् । करिडोर क्षेत्रमा बिहारबाट कुल मजदुर को २५ प्रतिशत मजदुर काम गर्न आउँथे ।

'बिहारमा आर्थिक क्षेत्रको विकाससँगै मजदुर नेपालमा आएर काम गर्ने रुचि राखेको पाइँदैन' करिडोर क्षेत्रमा बागमती प्लाष्टिक खोलेका उद्यमी नन्दकिशोर राठीले भने- 'गाउँतिर अधिकांश युवा पासपोर्ट बनाएर वैदेशिका रोजगारीमै गएको देखिन्छ ।'

कुनै बेला अन्नपूर्ण सोपमा काम गरेका माधवलाल चौधरी उक्त उद्योग बन्द भएपछि कार्यरत दर्जनौं मजदुर लाई तत्कालै काममा राख्न धेरै उद्योगहरूबाट अफर आएको बताए । 'काम गर्ने मजदुर नै पाइन छाडेका छन्' चौधरीले पनि स्वीकार गरे- 'अझै सीप भएका मजदुर लाई कामको कुनै अभाव छैन ।'