Thursday 19 July 2012

३० करोडको सरकारी जग्गा व्यक्तिका नाममा (सर्वोच्चबाट पनि सदर)


supreme courtकाठमाडौं, श्रावण ५ - धरहराको फेदैमा लस्करै टहरा बनाएर व्यापार व्यवसाय गर्दै आएका मुसलमान समुदाय अचेल विलखबन्दमा छन् । पसल मात्रै होइन, दोस्रो तलामा स्थापित मस्जिदसमेत अब छाडेर हिँड्ने दिन आएका छन् ।
राणाकालमा ७० वर्षदेखि भोगाधिकार पाएर बसेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । त्यसविरुद्ध तिनले हालेको मुद्दा हालै सर्वोच्च अदालते तिनकै विरुद्धमा फैसला गरिदिएपछि उनीहरुको कानुनी बाटो अब समाप्त भएको हो ।
कसरी फुत्कियो जग्गा ?
काठमाडौं महानगरपालिका वडा नं. २२ को कित्ता नाम्बर ५२ को ६ आना १ पैसा २ दाम जग्गा २००० साल चैत ११ गते राणा सरकारले भारतदेखि खसी व्यापार गर्न आएका मुसलमान समुदायलाई भोग चलन गर्न दिने गरी खड्ग निसाना दिएको थियो ।
नापजाँच ऐन २०१९ अनुसार २०३७ असार १४ गते सरकारले आफ्ना नाममा अस्थायी दर्ता गराएर राखेको उक्त जग्गा विभिन्न व्यक्ती हुँदै अन्ततः अहिले नरदेवीका रत्नकाजी महर्जनका नाममा दर्ता भएको छ । यो जग्गा दिने पुनरावेदन पाटन अदालतको निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन परेको थियो । गत असार १४ गते सर्वोच्चले फैसला गर्‍यो, जग्गा महर्जनकै हुने ठहर्छ ।
संयुक्त इजलाशका तीन न्यायाधीश मध्ये रामकुमारप्रसाद साह र तर्कराज भट्टले महर्जनको पक्षमा फैसला गरेका हुन् । त्यस इजलाशका अर्का न्यायाधीश ताहिरअली अन्सारीले भने विपरित राय राख्दै जग्गा सरकारकै नाममा हुनु पर्ने जिकिर गरेका छन् । हाल सर्वोच्चमा उक्त फैसलाको पूर्ण पाठ तयार भइरहेको छ ।
सर्वोच्चको यो फैसलाप्रति असन्तुष्ट सरकारी वकिलहरू त्यसविरुद्ध पुनरावलोकनको निवेदन दिने मनस्थितिमा छन् । पूर्णपाठ तयार भएलगत्तै त्यसबारे निर्णय हुने एक महान्यायाधीवक्ता कार्यालयका एक सरकारी वकिलले बताए । 'हुन त सर्वोच्चले गरेको फैसलालाई सम्मान गर्नुपर्ने संवैधानिक बाध्यता छ' उनले भने, 'तर सरकारी जग्गा भएको सारा प्रमाण पुग्दापुग्दै पनि व्यक्तिका नाममा दर्ता कायम हुनु र त्यसालाई अदालतले पनि स्वीकृति दिनु विडम्बना नै हो ।'
हालको मूल्य अनुसार ३० करोड रुपैयाँ बराबरको उक्त जग्गा हडप्ने सिलसिला ३० वर्षअघि सुरु भएको थियो ।
नरेन्द्र विक्रम राणाले २०३९ चैत २४ गते मालपोत कार्यालय डिल्लिबजारमा उक्त जग्गा आफ्ना नाममा दर्ता गरी पाऊँ भनी दिनवेदन दिएका थिए ।
त्यसको ७ वर्षपछि मालपोतले २०४६ जेठ १८ गते दर्ता हुन नसक्ने भन्दै 'चित्त नबुझे अदालत जान' भनेको थियो ।
त्यसविरुद्ध राणा पुनरावेदन अदालत पाटन गएका थिए । पाटनका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद सिंहले २०५२ कात्तिक २२ गते फैसला गरी राणाको नाममा दर्ता हुने फैसला गरिदिए ।
त्यो फैसला बदर गरी पाऊँ भन्दै उक्त जग्गामा व्यापार गर्दै आएका अब्दुल सलाम मिलाले सर्वोच्चमा मुद्दा हाले । तर सर्वोच्चले पनि राणाकै पक्षमा फैसला गरिदियो । सर्वोच्चको उक्त फैसलालाई आधार मान्दै राणाले सावित्री तिमिल्सीना र भेषराज न्यौपानेलाई बेचे । तिमिल्सीना र न्यौपानेले त्यो जग्गा जुजुकाजी महर्जन र रत्नकाजी महर्जनलाई बेचे ।
महर्जनद्वयले उक्त जग्गाको कित्ताकाट समेत गरे । हाल उक्त जग्गा कित्ता नं. १८४१ र १८४२ मा विभक्त छ । मालपोत ऐन २०३४ को दफा २४ (क) मा सरकारी जग्गा व्यक्तीको नाममा दर्ता गर्न नपाइने र दर्ता गरेको भए त्यो स्वतहः बदर हुने कानूनी प्रावधान छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले यही ऐनका आधारमा २०६५ असार १७ मा उक्त जग्गा सरकारको नाममा स्वतः दर्ता हुने निर्णय गर्‍यो ।
महर्जनद्वयले त्यसविरुद्ध सोझै सर्वोच्चमा रिट हाले । त्यसको ४ वर्षपछि अन्तिम निर्णय गर्दै पूर्ण इजलाशका न्यायाधीशमध्ये साह र भट्टको महुमतले उक्त जग्गा महर्जनद्वयकै हुने ठहर गरेको हो ।

राष्ट्रपतिसहित १६ नेताले गैरकानुनीरूपमा बुझेको दसैं खर्च फिर्ता


rambaranकाठमाडौं, श्रावण ५ - राष्ट्रपति रामवरण यादवसहितका १६ नेताले विभिन्न कालमा मन्त्री हुँदा गैरकानुनी रूपमा लिएको दसैं खर्च र कर कट्टी नगरेको रकम फिर्ता गरेका छन् । सम्बन्धित मन्त्रालयका सचिवहरूले तत्कालीन मन्त्रीहरूले गरैकानुनी रूपमा लिएको रकमको बेरुजु मिनाहा गर्न राखेको प्रस्ताव बेरुजु फछ्र्यौट समिति र महालेखा परीक्षकले नमानेपछि उनीहरू रकम फिर्ता गर्न बाध्य भएका हुन् ।
बेरुजु फछ्र्यौट समिति र महालेखा परीक्षक समितिको दबाबमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गैरकानुनी रूपमा नेताहरूले मन्त्री हुँदा लिएको रकम फिर्ता गर्न पत्र पठाई ताकेता गरेपछि उनीहरूले केही दिनअघि फिर्ता गरी बेरुजु फछ्र्यौट गरेका हुन् । महालेखा परीक्षकको कार्यालयले तत्कालीन मन्त्रीहरूले बुझेको दसैं खर्च र कर कट्टा नगरेको रकमलाई आफ्नो प्रतिवेदनमा गैरकानुनी करार दिँदै फछ्र्यौट हुनुपर्ने बेरुजुमा राखेको थियो ।
महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रपति यादवले स्वास्थ्यमन्त्री हुँदा गैरकानुनी रूपमा दुई वर्ष बुझेको दसैं खर्चबापतको २५ हजार ५ सय रुपैयाँ फिर्ता गरेका छन् । त्यसैगरी तत्कालीन मन्त्रीहरू महन्थ ठाकुर, विजयकुमार गच्छदार (वर्तमान उपप्रधानमन्त्री), महेश आचार्य, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, विष्णु पौडेल, अमृतकुमार बोहरा, केशव बडाल, विद्यादेवी भण्डारी, तुलबहादुर गुरुङ, मुकुन्द न्यौपाने, अशोक राई, सिद्धिलाल सिंहले गैरकानुनी रूपमा लिएको दसैं खर्च फिर्ता गरेका छन् ।
गच्छदार र खड्काले दुई वर्षको दसै खर्च १७ हजार, ठाकुरले २५ हजार ५ सय, आचार्यले तीन वर्षको ३४ हजार ५ सय र बाँकी तत्कालीन मन्त्रीले एक/एक वर्षको दसैं खर्च ८ हजार ५ सय रुपैयाँका दरले फिर्ता गरेका हु्न् । कर कट्टी नगरेको रकम फिर्ता गर्नेमा तत्कालीन मन्त्रीद्वय गोपालमान श्रेष्ठ र एनपी सावद तथा तत्कालीन मन्त्री एवं वर्तमान उपप्रधानमन्त्री विजयकुमार गच्छदार छन् । गच्छदारलेः २ हजार ५ सय ४५, श्रेष्ठले १ हजार २ सय २३, सावदले २ हजार ४४ रुपैयाँ गैरकानुनी रूपमा कर कट्टी नगरेको रकम फिर्ता हुन् ।

थ्री गर्जेजले लगानी बोर्डलाई जवाफ पठायो


थ्री गर्जेजले लगानी बोर्डलाई जवाफ पठायो


रामचन्द्र भट्ट, काठमाडौ, साउन ४ - पश्चिम सेती जलविद्युत आयोजना बनाउन समझदारी भएको झण्डै साढे चार महिनापछि चिनिया कम्पनी थ्री गर्जेज इन्टरनेसनलले थप प्रकृया अघि बढाउन समझदारीलाई पारित गर्नुपर्ने अडान लिएको छ। 


थ्री गर्जेजले त्यतिखेर भएको समझदारीपत्रले अहिलेसम्म सरकारले वैधानिकता नदिएको प्रति चासो राख्दै त्यसको अवस्थाका बारेमा समेत जिज्ञासा राखेको छ।
कम्पनीले लगानी बोर्डलाई मंगलबार पत्र पठाएर समझदारीपत्रले वैधानिकता नपाएसम्म कुनै पनि प्रकृया अघि बढ्न कठिन रहेको समेत उल्लेख गरेको छ।

लगानी बोर्डले गत असार दोस्रो साता थ्री गर्जेजलाई पत्र पठाएर आयोजना अघि बढाउन वार्तामा बोलाएको थियो। कम्पनीले वार्तामा बस्न तयार रहेको जानकारी दिँदै समझदारीपत्रलाई संबन्धित निकायले पारित नगरेसम्म काम सुरु गर्न अप्ठेरो रहेको समेत जानकारी दिएको छ।
सातसय ५० मेगावाटको पश्चिमसेती आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालय र थ्री गर्जेजबीच फागुन १७ मा भएको समझदारीपत्रको १९ नम्बर बुँदामा 'संबन्धित निकायबाट अनुमोदन भएपछिमात्र कार्यान्वयनमा जाने' उल्लेख छ। समझदारीपत्रमा हस्ताक्षर भएको दिन तत्कालिन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले मन्त्रीपरिषदबाट समझदारीपत्रलाई अनुमोदन गरिने बताएका थिए।

लगत्तै तत्कालिन संसदको प्राकृतिक स्रोत साधन समितिले अध्ययन थालेर तत्काललाई रोक्न निर्देशन दिएपछि साढे चार महिनामा हुनुपर्ने पाँचवटा कामहरु रोकिएका छन्। यसबीचमा थ्री गर्जेजका अधिकारी सहितका प्राविधिकहरु पश्चिमसेती आयोजना रहने सुदूरपश्चिमको स्थलगत भ्रमण गर्ने, आयोजना बनाउन विद्युत प्राधिकरण समेतको २५ प्रतिशत सेयर रहनेगरि 'पश्चिमसेती जलविद्युत विकास कम्पनी' दर्ता गर्ने, प्राविधिक र आर्थिक पक्षलाई पुनः मूल्यांकन गर्ने, सर्भे लाइसेन्स दिने र थ्री गर्जेजको व्यबस्थापनले पास गर्ने कार्यतालिका पछि सरेको छ।

पाँचसय मेगावाटभन्दा ठूला आयोजनाहरु प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले सिधै हेर्ने नीति अनुसार एक महिना अघि थ्री गर्जेजलाई वार्ताको लागि बोलाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए।

समझदारी भएपछि प्राकृतिक स्रोत साधन समितिले कानुन मिचेर बिना प्रतिस्पर्धा दिएको भन्दै अध्ययन सुरु गरेको थियो। समितिले लगानी बोर्ड मार्फत अघि बढाउनुपर्ने, नेपाललाई बढी सेयर हुनुपर्ने, प्रशारण लाइन निर्माण निश्चित हुनुपर्ने, बहुउद्वेश्यीय आयोजना (बिजुली, सिंचाई) को रुपमा विकास गर्नुपर्ने, सन् १९९७ मा भएको अध्ययनलाई आधार मानेर बिद्युत खरिद सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएको थियो।

समितिको निर्देशनपछि केही महिना रोकिएको प्रकृयालाई अघि बढाउन गत महिना बोर्डले थ्री गर्जेजलाई वार्ताको लागि बोलाएको हो। पश्चिमसेतीलाई ऊर्जा मन्त्रालयले हेर्ने कि लगानी बोर्डले भन्ने विवाद चर्किएपछि प्रधानमन्त्री बाबुराम भट्टराईलेनै हस्तक्षेप गर्नु परेको थियो। प्रधानमन्त्रीले बैशाख अन्तिम साता यो आयोजना लगानी बोर्डबाट अघि बढाउन निर्देशन दिएका थिए।

बोर्डले संसदीय समितिको निर्देशन र व्यबहारिक पक्षलाई समेत ख्याल गदर्ैै थप प्रकृया अघि बढाउने भएको छ।
थ्री गर्जेजले लगानी बोर्डलाई पठाएको पत्रमा औपचारिक रुपमा पहिलो पटक बोर्ड मार्फत अघि बढ्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै समझदारीपत्र अनुसार गत मार्च महिनामै प्रोजेक्ट साइट भ्रमण गरेर मे भित्रै आवश्यक पर्ने लगानीलाई अद्यावधिक गर्ने उल्लेख भएको र ती सबै रोकिएको स्मरण समेत गराएको छ। 'साढे चार महिनामा हुनुपर्ने धेरै प्रकृयाहरु रोकिएका छन्, समय हामीले धेरै खेर फ्यालिसक्यौं,' पत्रमा भनिएको छ।

बोर्डसँग बसेर आयोजनालाई अघि बढाउन तयार रहेको जानकारी दिदै चिनिया कम्पनीले समझदारीपत्रका प्रावधानहरुलाई पनि स्विकार गर्नुपर्ने जनाएको छ।

थ्री गर्जेजले समझदारीपत्रमा हस्ताक्षर हुँदानै धेरै विषयहरु छिनोफानो भइसकेको र वृस्तृत आयोजना प्रतिवेदन तयार भएपछि पुनः छलफल गरेर निधोमा पुग्न सकिने प्रस्ताव राखेको छ। स्मेकले १६ वर्षसम्म अध्ययन गरेपनि त्यसको प्रतिवेदन अहिले ऊर्जा मन्त्रालय, विद्युत विकास विभाग लगायत कुनै पनि निकायमा छैनन्। त्यसो हुँदा आयोजना बनाउन आवश्यक पर्ने लगानी निकाल्न फेरि अध्ययन गर्नुपर्ने अवस्था रहेको थ्री गर्जेजले जनाएको छ।

'अहिले प्रोजेक्टका बारेमा जतिपनि विवरणहरु छन्, त्यसको आधारमा लिनदिन सकिने विषयहरु समझदारीपत्रमै उल्लेख भइसकेको र बाँकी विषयहरु वृस्तृत अध्ययन भएपछि अघि बढ्न सकिन्छ,' पत्रमा उल्लेख छ। प्रधानमन्त्री र नेपालस्थित चिनिया राजदूतलाई समेत पत्रको वोधार्थ थ्री गर्जेजले दिएको छ।

आयोजनाको समझदारीपत्र हस्ताक्षर हुँदा चिनिया राजदूता याङ हौलान समेत उपस्थित थिए।

१४ वर्षसम्म अष्ट्रेलियाको स्मेक कम्पनीसँग भएको लाइसेन्स गत वर्ष सरकारले रद्ध गरेको हो। फागुन १७ मा थ्री गर्जेजसँगको समझदारी अनुसार आयोजनामा विद्युत प्राधिकरणको २५ प्रतिशत स्वामित्व हुने उल्लेख छ। थ्री गर्जेजको ७५ प्रतिशतमध्य सुदूरपश्चिमबासीलाई १० प्रतिशत, देशभरिकालाई १४ प्रतिशत सेयर दिन संसदीय समितिले निर्देशन दिएको छ।

थ्री गर्जेजले समझदारीपत्र अनुसार आफ्नो हिस्साको ७५ प्रतिशतमध्य २ देखि ५ प्रतिशत स्थानीयवासीलाई दिन प्रस्ताव गरेको छ।
जलाशययुक्त यो आयोजना निर्माण भएमा नेपालले लामो समयसम्म लोडसेडिङबाट मुक्ति पाउनेछ। अहिले निर्माण भइरहेका अधिकांश आयोजना 'रन अफ दी रिभर' (नदी प्रवाहमा आधारित) भएकोले बर्षामा धेरै बिजुली निकालेपनि हिउँदमा क्षमता घटेर लोडसेडिङ गर्नुपर्ने अवस्था बर्षौपछिपनि रहन्छ। तर जलाशययुक्त आयोजनाले भने बढी बिजुली माग भएको समयमा निकाल्ने भएको हुँदा लोडसेडिङ घटाउन मद्धत गर्छ।

सरकार र थ्री गर्जेजसँग भएको समझदारी अनुसार सन् २०१४ को जुलाई अघि लगानी जुटाउने, पिपिए गर्ने लगायत १४ वटा प्रकृया पुरा गरेर निर्माण थाल्ने उल्लेख छ। यो आयोजनाबाट सन् २०१९ को जुनभित्र बिजुली निकाल्ने उल्लेख छ।

थ्री गर्जेज इन्टरनेसनल चीनमा एउटै आयोजनाबाट साढे २२ हजार मेगावाट बिजुली निकाल्ने कम्पनीको सहायक हो। थ्री गर्जेजले विदेशमा लगानी गर्न थ्री गर्जेज इन्टरनेसनलको नाममा कम्पनी खडा गरेको छ। 

Tuesday 17 July 2012

तीस तोला सुन चोरी

Goldकाठमाडौ, श्रावण २ - ललितपुरको जावलाखेलमा तीस तोला सुन चोरी भएको छ । जावलाखेलका जीवन थापाको घरमा सोमबार दिउँसो आएका चोरले तीस तोला सुन र एउटा ल्यापटप चोरी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले जानकारी दिए ।
पन्तका अनुसार परिवारका सदस्य माथिल्लो तलामा बसेका बेला आएका चोरहरुले तल्लो तलाको दराजमा रहेका सबै गहनाहरु लगेका हुन् ।
घरका सदस्यले राति ७ बजे मात्र थाहा पाएको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरीलाई राति पौने १० बजे मात्र खबर गरेको पन्तले जनाए ।
पन्तले चोरी गर्नेहरु थापाको परिवारलाई जान्ने व्यक्तिहरु नै भएको हुननसक्ने बताउँदै उनीहरुको खोजी भइरहेको बताए ।

Sunday 15 July 2012

ओलम्पिक सुरक्षामा नेपाली


लन्डन, असार ३० - लन्डनमा हुने ३० औं ग्रीष्मकालीन ओलम्पिकमा सुरक्षाको जिम्मा नेपाली कम्पनीले पनि पाएको छ । नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसेस्ले ओलम्पिक अवधिभर सुरक्षाको जिम्मा पाएको कम्पनीका निर्देशक विष्णु तामाङले जनाए । मुख्य कन्ट्रयाक्टर जीफोरएसले १४ वटा अन्य कम्पनीलाई सहायक कन्ट्रयाक्ट दिने क्रममा एकमात्र नेपाली कम्पनी गोर्खा सेक्युरिटी सर्भिसेस पनि छनोट भएको हो ।
जुलाई २७ देखि अगस्ट १२ तारिखसम्म हुने खेलकुदको महाकुम्भमा कम्पनीबाट सुरक्षाका लागि एक सयभन्दा बढी नेपाली सुरक्षागार्ड खटिनेछन् । यसमा पूर्वगोर्खा सैनिकको संख्या अधिक छ । गत जून ११ देखि नै खटिएका ती गार्डले खेल सुरु भएदेखि अगस्ट अन्तिमसम्म ओलम्पिकको मुख्य साइट, प्रवेशद्वार, पेरिमिटर, संसद् भवन वरपरको सुरक्षा एवं खेलाडीका सरसामान रेखदेख गर्नेछन् । ती सुरक्षागार्डलाई ओलम्पिकका लागि विशेष तालिम दिइसकिएको छ ।
खटिने कर्मचारीले मुख्य कन्ट्रयाक्टर जीफोरएसका सुरक्षागार्डले पाए जति नै घन्टाको साढे आठ पाउण्ड ज्याला पाउने तामाङले बताए । ओलम्पिक जस्तो वृहत् इभेन्ट््समा आफ््नो कम्पनी छानिएकामा निर्देशक तामाङले प्रसन्नता व्यक्त गरे । 'वास्तवमा गुडविलले नै यो अवसर पाएका हौं,' तामाङले भने ।
सन्् २००५ मा स्थापित उक्त कम्पनीले हाल तीन सय ५० जनालाई रोजगारी दिइरहेको छ । वाषिर्क ५ मिलियन पाउण्ड 'टर्न ओभर' रहेको सो कम्पनीले हालैमात्र अल्डरसटमा आयोजित दलाई लामाको विशेष कार्यक्रममा समेत सुरक्षा जिम्मा पाएको थियो ।
लन्डन ओलम्पिकमा यतिखेर सुरक्षा चासोबारे बहस भइरहेको छ । मुख्य कन्ट्रयाक्टर जीफोरएसले यसअघि २ सय ८४ मिलियन पाउण्डमा सर्त भएबमोजिम २३ हजार ७ सय सुरक्षागार्डर् उपलब्ध गराउनुपर्नेमा दस हजार चार सय उपलब्ध गराउन नसक्ने बताएपछि बेलायतले थप तीन हजार पाँच सय सैनिक स्ट्याण्ड बाई राख्ने निर्णय गरेको छ । यसअघि १३ हजार ५ सय सैनिक खटाउने निर्णय भइसकेको छ ।
लन्डन सहरले आयोजना गर्ने यो तेस्रो ओलम्पिक खेल हो । लन्डनमा पहिलो ओलम्पिक सन् १९०८ मा भएको थियो भने दोस्रो विश्वयुद्धपछि सन्् १९४८ मा दोस्रोपटक लन्डनले खेल आयोजना गर्ने अवसर पाएको थियो ।

एक तृतियांश बजेट १ खर्व ६१ अर्ब सार्वजनिक

 

काठमाडौ, असार ३१ - अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष २०६९/०७० का लागि छुट्याइएको कूल बजेट मध्ये एक तृतीयांश बजेट प्रस्तुत गरेका छन् । जस अन्तर्गत १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको बजेट छुट्याइएको छ ।
अध्यादेशमार्फत ल्याइएको बजेटमा अर्थमन्त्री पुनले चालू अर्थिक वर्षमा तीन वर्ष यताकै उच्च आर्थिक वृद्धि भएको बताएका छन् । एक तृतीयांश बजेट भए पनि ठूला आयोजनालाई निरन्तरता दिने अर्थमन्त्रीको प्रतिबद्धता थियो । उनले भने, ‘ढुक्क भएर लगानी गर्नुहोस् ।’
अर्थमन्त्री पुनले पूर्ण बजेटको विकल्प नभए पनि सरकारले त्याग गरेर एक तृतीयांश बजेट प्रस्तुत गरेको बताए । उनले भने, ‘यसलाई सरकारको कमजोरीका रुपमा नभई सदसयताको रुपमा लिन म सबैमा अनुरोध गर्छु ।’ बजेटकै नाममा मुलुकमा द्वन्द्व बढाउने पक्षमा सरकार नरहेको पनि उनले उल्लेख गरे ।

Saturday 14 July 2012

३३ करोड लगानीमा, ३३ सय स्वरोजगार


काठमाडौ, असार ३१  तीन वर्षअघि बेरोजगार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यका साथ ल्याइएको युवा स्वरोजगार कार्यक्रम असफल देखिएको छ। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बेरोजगार युवालाई लक्षित गरेर ल्याइएको कार्यक्रमका लागि ३३ करोड लगानी भएको छ।
यो लगानीबाट तीन हजार ३ सय ४३ जना मात्रै स्वरोजगार बनेको अर्थमन्त्रालयले शनिबार जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।


आर्थिक वर्ष २०६५/०६६मा बेरोजगार युवालाई तालिम दिएर विनाधितो ऋण दिएर स्वरोजगार बनाउने लक्ष्य राखेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापना भएको थियो।
कार्यक्रमले द्वन्द्वपिडित, जनजाति, दलित, पिछडिएका विपन्न जर्ग, महिला र बेरोजगार युवाहरुलाई आय आर्जन गर्न दुई लाख रुपैयाँ ऋण दिँदै आएको छ।
सर्वेक्षणका अनुसार सबैभन्दा बढी कृषि, पशुपालन, तरकारी लगायत क्षेत्रमा काम गर्न बढी ऋण प्रवाह भएको सर्वेक्षणमा उल्लेख छ। मोटरसाइकल मर्मत, सैलुन, व्युटीपार्लर लगायतका क्षेत्रमा तालिम लिएर स्वरोजगार गर्न चाहने न्यून छन्।
सर्वेक्षण अनुसार १९ जनाले मात्रै यस्तो तालिम लिएर स्वरोजगार भएका छन् । सर्वेक्षणमा देशमा बढ्दै गइरहेको बेरोजगारी समस्या समाधान गर्न स्पस्ट नीति नभएको उल्लेख गरिएको छ।

बजेट पास गर्न आज क्याबिनेट बैठक

काठमाडौं, असार ३१ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक-अध्यादेश (बजेट) पारित गर्न आइतबार बिहान आठ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। राष्ट्रपति रामवरण यादवलाई शनिबारै अध्यादेश पठाउने जानकारी गराएको भए पनि एक दिनपछि क्याबिनेट बोलाइएको हो।

विपक्षी दलहरूले 'धारा ९६क' दाबी गरे पनि सरकारले अन्तरिम संविधानका धारा ८८ मात्र उद्धृत गरी अध्यादेश जारी गर्ने तयारी गरेको छ। अध्यादेश जारी गरिएको व्यवहोरमा आर्थिक वर्ष २०६८-६९ आइतबार समाप्त हुँदैछ। साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले त्यसपछिको आम्दानी उठाउने र खर्च गर्ने व्यवस्थाका लागि अध्यादेश जारी गर्न लागिएको हो।
भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले आइतबार बिहान आठ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकिएको बताए। विपक्षी दलहरूको चालू आर्थिक वर्षको वास्तविक खर्चको 'एक तृतीयांश बजेट' भन्दा ल्याउन नमिल्ने भन्दै सरकारलाई दबाब दिएपछि त्यो मागसमेत सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याउन लागेको हो।
राष्ट्रपति यादवले पनि एक तृतीयांश बजेट बराबर मात्रको आर्थिक अध्यादेश जारी गर्न प्रधानमन्त्रीलाई पटक-पटक आग्रह गरेका थिए। तर, बजेटमा नयाँ निर्वाचन, शान्तिप्रक्रिया, थपिएका दुईवटा मन्त्रालयका लागि रकम भने अध्यादेशमा थपेर ल्याउने भएको छ। यसबारे प्रधानमन्त्री भट्टराईले दुई दिनअघि नै राष्ट्रपति रामवरण यादवलाई भेटेर छलफल गरी सहमत गराइसकेका छन्।
संविधानसभा चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ, चुनावी सुरक्षा खर्चका लागि गृहमन्त्रालयलाई ३ अर्ब रुपैयाँ, माओवादी लडाकु समायोजनका लागि २ अर्ब र स्वेच्छिक अवकाशका लागि चार अर्ब रुपैयाँ खर्च अपुग हुने सरकारको दाबी छ। यसबाहेक सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहरी विकास मन्त्रालयका लागि आवश्यक रकम पनि विनियोजन गर्नेछ।
राष्ट्रपति र कांग्रेस-एमाले लगायत विपक्षी दलले अन्तरिम संविधानको धारा ९६ क अनुसारको बजेट ल्याउन प्रधानमन्त्रीलाई दवाब दिएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि विघटित संविधानसभाका ३३ दलको बैठक बोलाएर पूर्ण बजेट नल्याउने निर्णय गरेपछि सरकार केही थप बजेटको व्यवस्था गरी चार महिनाका लागि मात्र बजेट ल्याउन बाध्य भएको हो।
संविधानको धारा ९६क मा 'चालु आर्थिक वर्षको अन्त्यसम्ममा आगामी आर्थिक वर्षको लागि राजस्व र व्ययको अनुमान व्यवस्थापिका-संसदसमक्ष पेस हुन नसक्ने विशेष परिस्थिति उत्पन्न भएमा' अर्थमन्त्रीले त्यसको कारण खुलाई चालु आर्थिक वर्षको कुल व्ययको एक तृतीयांशमा नबढ्ने गरी आगामी आर्थिक वर्षको लागि खर्च गर्ने अधिकारको विधेयक व्यवस्थापिका-संसद समक्ष पेस गर्नसक्ने व्यवस्था छ। यस्तो व्यवस्थाअनुसार खर्च भएको रकम विनियोजन विधेयकमा समावेश गरिने व्यवस्था छ।
यो संसद् भएको तर त्यहाँ बजेट पेश हुन नसक्ने अवस्थाको लागि मात्र संविधान संशोधन गरी गरिएको व्यवस्था हो। संविधानसभाको चुनाव भए पनि त्यसअनुसारको सरकार नबनेको समयका लागि २०६५ साल असार २९ मा संविधान संशोधन गरी यस्तो व्यवस्था गरिएको हो।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारको प्रस्तावमा तत्कालीन समयका लागि गरिएको यो व्यवस्थाअनुसार अहिले बजेट ल्याउन नमिल्ने सरकारी पक्षले दाबी गर्दै आएको छ। सरकारले अन्तिम समयसम्म पनि पूरै आर्थिक वर्षका लागि अध्यादेश ल्याउने र त्यसैमा चार महिना मात्र वर्तमान सरकारले खर्च गर्न पाउने व्यवस्था गर्ने तयारी भए पनि राष्ट्रपतिले नमानेपछि सरकार त्यसबाट पनि पछि हटेको थियो।

Thursday 12 July 2012

साउन १ देखि नेपालभर लोकल कल

 ल्यान्डलाइन टेलिफोनबाट
देशभरिका मोबाइलमा पनि अब लोकल कल हुने भएको छ।
... टेलिकमले आगामी साउन १ देखि लोकल कल सुविधामात्र
रहेका ल्यान्डलाइनबाट दिन लागेको यो सुविधा जिएसएम
र सिडिएमए दुवै फोनका लागि हो।
अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा हुनैपर्ने बाध्यता हटाएर लोकल
कलको सुविधामात्र भएको फोनबाट
देशभरि मोबाइलमा कल गर्न सकिन्छ । ९२ प्रतिशत सरकारी सेयर रहेको दूरसञ्चार सेवा प्रदायक
नेपाल टेलिकमले एसटिडी नभएको ल्यान्डलाइनबाट
पनि अर्को अञ्चलको मोबाइलमा कल गर्न सक्ने
व्यवस्था गर्न लागेको हो। ‘मोबाइलबाट मोबाइलमै देशभरि कल गर्दा एउटै स्थानीय
चार्ज लाग्दै
आएकोमा साउनदेखि एसटिडी नभएको ल्यान्डलाइनबाट
पनि यो सुविधा थप्दैछौं,’ टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद
थिकेले भने। अहिले काठमाडौंदेखि अरू
अञ्चलका मोबाइलमा लोकल कलमात्र भएको ल्यान्डलाइनबाट फोन लाग्दैन। ल्यान्डलाइनबाट
एउटा अञ्चलदेखि अर्को अञ्चलको मोबाइलमा कल गर्न
एसटिडी सुविधा हुनुपर्छ। ‘एउटा अञ्चलको ल्यान्डलाइनबाट
अर्को अञ्चलको मोबाइलमा कल गर्दा एसटिडीकै महसुल
नलागे पनि सुविधा भने हुनैपर्थ्यो, त्यस्तो प्रावधान हटाउन
लागिएको हो,’ थिकेले भने। अहिले ल्यान्डलाइनबाट
देशभरि जहाँसुकैको मोबाइलमा कल
गर्दा पनि मिनेटको एक रुपैयाँमात्र महसुल लाग्छ। एउटा अञ्चलमा लिएको मोबाइल अर्कै अञ्चलमा पुगेर
प्रयोगमा भइरहेकाले एसटिडी हुनैपर्ने प्रावधान
अव्यावहारिक ठान्दै हटाउन लागिएको हो। ‘यसबाट
टेलिकमको आर्थिक पक्ष पनि राम्रो हुने
हाम्रो विश्लेषण छ,’ उनले भने। एसटिडी नभएको फोनबाट अर्को अञ्चलमा फोन गर्न
मिल्ने हो भने कल संख्या र समयसमेत बढ्ने
अपेक्षा टेलिकमको छ। विराटनगर
वा नेपालगन्जमा रहेका टेलिकमका मोबाइल ग्राहक
काठमाडौं आउँदा यहाँ स्थानीय कलमात्र
भएको ल्यान्डलाइनबाट कल हुन सक्दैनथ्यो। साउनदेखि यो व्यवस्था हटाएर स्थानीय
कलको सुविधामात्र भएको ल्यान्डलाइबाट
पनि देशभरि जहाँसुकैका मोबाइलमा सिधै कल गर्न मिल्ने
प्रावधान थप्दैछ। टेलिकमले अहिले मोबाइलमा मेचीदेखि महाकालीसम्म
जहाँ कल गरे पनि पोस्टपेडमा मिनेटको एक रुपैयाँ र
प्रिपेडमा डेढ रुपैयाँमात्र लिने एकल महसुल दर लगाएको छ।
तर, ल्यान्डलाइनमा भने लोकल, ‘क’ वर्ग र ‘ख’ वर्ग गरी तीन
प्रकारको महसुल छ। एसटिडी सुविधा लिनैपर्ने र तीन वर्ग हटाएर
भविष्यमा देशभरि एउटै लोकल दर लगाउनेतर्फ
पनि टेलिकमले अध्ययन गरिरहेको छ। अहिले
टेलिकमको आम्दानी एसटिडीबाट क्रमशः घट्दै
गइरहेको छ भने लोकल कलबाट निरन्तर बढिरहेको छ।
एउटै महसुल गर्ने हो भने कल संख्या र समय पनि बढ्छ।

Tuesday 10 July 2012

घन्टाको ८ करोड ५० लाख कमाई


weakthyउनीहरूले फ्लोइड मेवेदर जुनियरलाई 'मनी' अर्थात पैसा उपनाम दिएका छन् । त्यसको कारण छ । गत वैशाखसम्मको १२ महिनामा फ्लोइडले जम्मा २ वटा भिडन्तमा भाग लिए र भिक्टर ओरिज र मिगेल कोटोजस्ता हस्तीलाई हराए । यी दुई भिडन्तमा उनी रिङमा एक घन्टाभन्दा कम बसे । तर उक्त अवधिमा उनले ८ करोड ५० लाख अमेरिकी डलर कमाए । 
यही कमाइले उनी विश्वका सबैभन्दा बढी पैसा लिने खेलाडीमा दर्ज भए । फोब्र्सले ३ महिना अगाडि प्रकाशन गरेको सूची अनुसार उनको कुल सम्पत्ति यी दुई भिडन्तमा कमाएभन्दा कम अर्थात जम्माजम्मी ४ करोड अमेरिकी डलर मात्र छ । तर उनको पछिल्लो कमाइले सन् २००१ यता सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीको कीर्तिमान राखेका गल्फ खेलाडी टाइगर उड्सलाई समेत पछि पार्‍यो । सन् २०१२ मा उड्स सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीको सूचीको तेस्रो नम्बरमा छन् । तर कुल सम्पत्ति ५ करोड ८० लाख अमेरिकी डलर सहित उनी फ्लोइडभन्दा धनी छन् । फ्लोइड संसारकै ४३ औं धनी खेलाडी हुन् । विश्वका सय सेलिब्रटीको सूचीमा भने उनी ५२ नम्बरमा छन् भने रेडियो र टेलिभिजनमा छाउने सय व्यक्तिमा उनी ६२ औं स्थानमा छन् । पत्रपत्रिकामा सबैभन्दा बढी छापिनेको सूचीमा  ६२ औं नम्बरमा परेका उनी वेबमा सबैभन्दा बढी खोजिने ७७ औं व्यक्ति हुन् । 
फ्लोइडको कमाइको स्रोत बक्सिङ मात्र होइन । उनी मेवेदर प्रोमोसन्स नामक कम्पनीबाट अभिनय र खेल प्रदर्शन समेत गर्छन् । अमेरिकाको लस भेगासका उनका ४ सन्तान छन् । 
फेब्रुअरी २४ सन् १९७७ मा जन्मेका फ्लाइडले बक्सिङमा ८ वटा विश्वस्तरीय पुरस्कार पाएका छन् । दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार सहित दुई पटक 'द रिङ फाइटर अफ द इयर' उपाधि हात पार्न सफल उनले बक्सिङमा दर्जनौं अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेका छन् । 
अपराजित व्यवसायिक बक्सरका रूपमा चिनिने उनी केही साताअघि भने घरेलु हिंसाको अभियोगमा जेल परेका थिए । अमेरिकाको ग्रान्ड र्‍यापिडमा जन्मेका फ्लोइडका पिता फ्लोइड मेवेदर सिनियर र काकाद्वय जेफ र रोजर सबै व्यावसायिक बक्सिङ खेलाडी थिए । उनका प्रशिक्षक समेत रहेका रोजरले विश्वस्तरीय बक्सिङ प्रतिस्पर्धामा २ वटा उपाधि जितेका छन् ।  
फ्लोइड सानैदेखि बक्सिङमा रुचि राख्थे । अन्य व्यवसायलाई उनले कहिल्यै पनि बक्सिङलाई जस्तो गम्भीरतापूर्वक लिएनन् । बक्सिङकै कारण हाई स्कुल तहको पढाइ समेत छाडे । तर उनको परिवार नशालु पदार्थको समेत कारोबार गथ्र्यौं । उनकी आमा दुव्र्यसनी थिइन् भने काकी दुव्र्यसनको कारण एड्स लागेर मरिन् । उनका पिता आफू हिरोइन बेच्थे । तर उनका पिताले उनमा कहिल्यै आफ्नो नशालु पदार्थको कारोबारको छायाँ पर्न नदिएको बताइन्छ । 'उहाँले धेरैजसो समय मलाई जिम हलमा पुर्‍याउने र बक्सिङ सिकाउने काममा बिताउनुभयो,' फ्लोइडले आफ्नो पिताबारे भनेका छन् ।
सन् १९९३ मा गोल्डेन ग्लोभ्स नामक अमेरिकाको राष्ट्रिय स्तरको बक्सिङ प्रतिस्पर्धा जितेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । त्यसको तीन वर्षपछि उनले एटलान्टामा भएको ओलम्पिकमा कास्य पदक जिते । अब्बल प्रतिरक्षात्मक कुशलताका कारण अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका तीन दर्जनभन्दा बढी बक्सिङ प्रतिस्पर्धा जितेका उनको अन्य खेलाडीजस्तो अनुहार र शरीरमा चोटपटकको दाग छैन । त्यही भएकाले उनलाई 'पि्रटी ब्वाइ' उपनाम समेत दिइएको छ । 

फेरि तेल प्रशोधन केन्द्र खोल्ने प्रस्ताव


काठमाडौं, असार २६ - एउटा निजी कम्पनीले नेपालमा सम्भावना नरहेको कच्चा पेट्रोलियम पदार्थ प्रशोधन केन्द्र खोली डिजेल कारोबार गर्ने प्रस्ताव गरेको छ । विराट पेट्रो केमिकल्स प्रालि नामक कम्पनीले करिब तीन महिनाअघि कच्चा पेट्रोलियम पदार्थ प्रशोधन गर्न 'मिनी रिफाइनरी' खोल्ने प्रस्ताव विभागमा र डिजेल कारोबार गर्ने प्रस्ताव वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरेको हो ।
अपुरो कानुन र बजारको अभावमा यसअघि यस्तै खाले कम्पनी बन्द भइसकेको अवस्थामा उद्योग मन्त्रालयले भने कम्पनीको प्रस्ताव अध्ययन गर्न समिति गठन गरिसकेको छ । उद्योग विभागले निर्देशक विपिन राजभण्डारीको संयोजकत्वमा समिति गठन गरेको छ । 'विराटको प्रस्तावमाथि अध्ययन भइरहेको छ,' राजभण्डारीले भने ।
आपूर्ति सचिव लालमणि जोशीले औद्योगिक डिजेल कारोबार गर्ने सम्बन्धमा विराट पेट्रोलियमको प्रस्ताव मन्त्रालयमा आएको बताए । 'मिनी रिफाइनरी खोली कच्चा पेट्रोलियम प्रशोधन गर्छौं र औद्योगिक प्रयोजनका लागि खपत हुने डिजेल उत्पादन गरी व्यापार गछौर्ं भन्दै प्रस्ताव परेको छ,' उनले भने, 'हामीले त्यस विषयमा आयल निगमसँग राय मागेका छौं ।'
निगमले विराटको प्रस्तावमा मन्त्रालयलाई राय पठाइसकेको छैन । तर निगमका उच्च अधिकारीहरूका अनुसार निगमले उक्त प्रस्ताव अस्पष्ट भएको भन्दै त्यस विषयमा विज्ञहरूको समिति बनाई अध्ययन गर्न आवश्यक रहेको राय दिने तयारी भइरहेको छ ।
'थुप्रै विषयमा हाम्रो ध्यानाकर्षण भएको छ,' निगम स्रोतले भन्यो, 'सबैभन्दा मुख्य कुरा प्रस्ताव नै अस्पष्ट छ ।'
विभाग र निगम स्रोतका अनुसार प्रस्तावमा विराटको डिपो कहाँ राखिने भन्ने जमिनको टुंगो छैन । प्रस्तावमा कहाँबाट कच्चा पेट्रोलियम पदार्थ ल्याउने, कति डिजेल नियमित आपूर्ति गर्ने, कोसँग कच्चा पेट्रोलिम खरिद गर्ने र गुण नियन्त्रण कसले गर्ने भन्ने उल्लेख छैन । त्यसैगरी पूर्वाधार र नेटवर्क, अनुभव, आर्थिक हैसियत, प्राविधिक/सम्भाव्यता अध्ययन प्रतिवेदन, मूल्यलगायत कुरामा पनि प्रस्ताव मौन छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले उक्त प्रस्तावमाथि छलफल भइरहेको बताए । 'विराटको प्रस्तावमाथि छलफल भइरहेको छ,' उनले भने ।
खुला बजार नीतिअनुरूप प्रतिस्पर्धात्मक बजार व्यवस्था गर्न सरकारले २०६५ मा पेट्रोलियम कारोबार निजी क्षेत्रका लागि खुला गरेको थियो ।
त्यतिबेला कानुन नबनेकाले पछि जारी हुने निर्देशिका अनुसार सञ्चालन हुने सर्तमा कोसी पेट्रो केमिकल्स नामक कम्पनीलाई मिनी रिफाइनरी खोल्ने अनुमति दिएको थियो । तर हालसम्म सरकारले निर्देशिका जारी गरेको छैन भने पेट्रोलियम कारोबार व्यवस्थित गर्न कानुन बनेको छैन । तर कोसी भने खुलेर सञ्चालन हुन नसकेपछि केही महिनाअघि बन्द भएको छ । विराटका सञ्चालक भारतीय नागरिक अर्जुन छेत्री हुन् । छेत्रीले खाडी मुलुकबाट कच्चा पेट्रोलियम पदार्थ ल्याउने र त्यसलाई प्रशोधन गरी बेच्ने विराटको योजना रहेको दाबी गरे । 'खाडी मुलुकबाट कच्चा पेट्रोलियम पदार्थ ल्याउने र त्यसलाई मिनी रिफाइनरीमा प्रशोधन गर्ने योजना हो,' उनले भने । तर उनले त्यस्तो मिनी रिफाइनरी आर्थिक र प्राविधिक रूपमा कसरी सम्भव छ भन्ने बताउन सकेनन् ।
'प्राविधिक पक्षबारे मेरो प्राविधिकसँग करा गर्नुपर्छ,' उनले भने । सिक्किममा निर्माण कम्पनी सञ्चालन गर्ने छेत्री र उनको कम्पनीसँग पेट्रोलियम क्षेत्रमा काम गरेको अनुभव छैन ।
'मिनी रिफाइनरी सम्भव छैन'
प्रशोधन लागत अत्यधिक पर्ने भएकाले मिनी रिफाइनरी विश्वमै असम्भव भएको निगमका उच्च अधिकारी बताउँछन् । 'वाषिर्क २० लाख टन कच्चा पेट्रोलियम पदार्थ प्रशोधन गर्न सक्ने प्रशोधन केन्द्रमात्र आर्थिक रूपमा धान्न सकिन्छ,' निगमका एक प्राविधिकले भने, 'आर्थिक रूपमा धान्न सकिने प्रशोधन केन्द्र खोल्न अर्बौं अमेरिकी डलर लाग्छ, जसका लागि नेपालमा लगानीकर्ता छैनन् ।' ती अधिकारीका अनुसार समुद्री मार्ग नभएकाले नेपालमा कच्चा पेट्रोलियम ढुवानी गर्न धेरै महँगो पर्छ । त्यसका लागि ठूलो पूर्वाधार आवश्यक रहेको उनको भनाइ छ ।
अग्रवालले पनि घुमाउरो भाषामा नेपालमा प्रशोधन केन्द्र सम्भव नभएको संकेत गरे । 'मिनी रिफाइनरी राख्ने भनेर खुलेको कोसी पेट्रो केमिकल्स बन्द छ,' उनले भने, 'अब रिफाइनरी सम्भव छ/छैन भनेर आफैं विश्लेषण गर्नुहोस् ।' यसअघि सोल्टी होटलका सञ्चालक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि नेपालमा पेट्रोलियम कारोबारको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययनले नकारात्मक नतिजा देखाएपछि नेपालमा निजी क्षेत्रले पेट्रोलियम कारोबार गर्ने आँट गर्न सकेको छैन ।
निगमका अधिकारीहरू मिनी रिफाइनरीको प्रस्ताव 'भ्याकुम डिस्टिलेसन' मेसिन राखेर छक्याउने चाल हुन सक्ने बताउँछन् । 'चोरीको गुणस्तरहीन पेट्रोलियम सस्तोमा किन्ने र त्यसलाई मोबिलमा मिसाएर कच्चा तेल भनी ल्याउने योजना हुन सक्छ,' एक उच्च अधिकारीले भने, 'भ्याकुम डिस्टिलेसनका माध्यमबाट मिसिएको डिजेल र मोबिल छुट्याउन सकिन्छ ।

२ वर्षभित्र अन्तरदेशीय प्रसारण लाइन


काठमाडौं, असार २६ - सन् २०१४ सम्म बनाउने लक्ष्य लिइएको अन्तरदेशीय प्रसारण लाइन कम्पनीका सेयरधनीबीच सम्झौता भएको छ । विद्युत् प्राधिकरण र भारतीय कम्पनीको लगानी रहने गरी खडा भएका दुई छुट्टाछुट्टै कम्पनीका लगानीकर्ताले राजधानीमा हस्ताक्षर गरेका हुन् ।
ढल्केवार मुजफ्फरपुर प्रसारणलाइनमा नेपालतर्फको कम्पनी पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड -पीटीसीएन) र भारततर्फ निर्माण गर्ने कम्पनी क्रस बर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) का सेयरधनीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
पीटीसीएनमा विद्युत् प्राधिकरणको ६४, पावर ग्रीड भारतको २६ र आईएल एन्ड एफएस भारतको १० प्रतिशत सेयर छ । यसैगरी सीपीटीसीमा आईएल एन्ड एफएसको ३८, पावर गि्रड र सतलजको २६ र प्राधिकरणको १० प्रतिशत लगानी रहने छ ।
'सेयरधनीबीचको सम्झौताले वित्तीय स्रोत जुटाउन सहज भएको छ,' प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले भने, 'अब सन् २०१४ सम्म प्रसारण लाइन बनाइसक्छौं ।'
सन् २००८ मा यी दुई कम्पनी स्थापना भएर २०११ सम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको भए पनि सेयर संरचनाका कारण काम हुन सकेको थिएन । प्रसारण लाइनको निर्माणपछि १२ सय मेगावाटसम्म बिजुली आदानप्रदान गर्न सकिने छ ।
कम्पनीका लागि चाहिने अन्य नीतिगत व्यवस्था भइसकेको प्राधिकरणले जनाएको छ । गत मंसिरमा विद्युत् प्राधिकरणसँग प्रसारण सेवा सम्झौता भइसकेको छ । यसैगरी भारतबाट आयत हुने १ सय ५० मेगावाट बिजुली प्राधिकरणले किन्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) पनि भइसकेको जनाइएको छ ।
उक्त प्रसारण लाइन निर्माणका लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यस अन्तर्गत नेपालतर्फ ४० र भारततर्फ एक सय किलोमिटर लाइन बनाउनुपर्ने छ । नेपालतर्फका लागि भारतले १ करोड ३० लाख डलर -करिब १ अर्ब १५ करोड रुपैयाँ) सहुलियत ऋण दिइसकेको छ । उक्त ऋण सहायता कम्पनीलाई प्रदान गर्ने संयन्त्र भने बनी नसकेको प्राधिकरणका एक अधिकारीले बताए । ४ सय केभी क्षमताको यो लाइन दुई देशबीच बनाउने तय भएका ४ अन्तरदेशीय प्रसारण लाइनमध्येको एक हो ।

डीजीकमका ३ नयाँ राउटर बजारमा

rauterकाठमाडौं , असार २५ - हाइटेक डिस्ट्रिब्युटरले डीजीकमका नयाँ रेन्जका वायरलेस राउटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले १ सय ५० एमबीपीएसको एकल पोर्टको मोडेम, ३ सय एमबीपीएसको ४ पोर्ट भएको मोडेम र ३ सय एमबीपीएसकै ४ पोर्ट भएको ब्रोडब्यान्ड राउटर ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । नयाँ उत्पादनपछि बजारमा सबैभन्दा बढी रेन्जका राउटर डीजीकमकै भएको कम्पनीले दाबी गरेको छ । यी उत्पादन गुणस्तर, सफ्टवेयर, टिकाउ र बिक्रीपछिको सेवा र प्रतिस्पर्धी मूल्यका रहेको कम्पनीले जानकारी दिएको छ ।

Sunday 8 July 2012

पूर्ण बजेट आउने संकेत पाएको छुः दाहाल

Prachandaकाठमाडौं, असार २४ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुसँगको छलफलमा आफूले पूर्ण बजेट आउने संकेत पाएको दाबी गरेका छन् ।
'कांग्रेस, एमाले, मधेसी मोर्चासहितका दलहरुसँग जति छलफल भएका छन्,' आइतबार बिहान राष्ट्रपति रामवरण यादवसँगको भेटपछि संवादाताहरुसित दाहालले भने, 'मैले चाँही पूर्ण बजेट आउने नै संकेत पाएको छु ।' भेटमा दाहालले बजेटबारे दलहरुबीच भएका छलफलबारे राष्ट्रपतिलाई जानकारी दिएका थिए ।
मुख्य दलहरुबीच बजेटमा विमति रहेकाबेला दाहालले पनि सहमतिमै बजेट ल्याउनुपर्नेमा जोड दिए । 'घटनाक्रमहरु जसरी देखिएका छन्,' विपक्षी दलको विरोधप्रति दाहालले भने, 'मेरो जोड पनि राजनीतिक दलको सहमति बनाएरमात्रै बजेट ल्याउनुपर्छ भन्ने हो ।'
दाहालले सहमतिमा बजेट ल्याउने जानकारी राष्ट्रपतिलाई गराएको उल्लेख गरे । 'कुराकानी भइरहेका छन्, सहमति भएको छैन,' उनले भने, 'जस्तो खालको बजेट ल्याए पनि सहमतिमै ल्याउनुपर्छ ।'
आर्थिक वर्ष सकिन लाग्दा पनि नयाँ बजेट ल्याउनेबारे दलहरुबीच सहमति भएको छैन । सरकार अध्यादेशबाट पूर्ण बजेट ल्याउने तयारीमा छ तर कांग्रेस, एमालेलगायतका दलहरु पूर्ण बजेटको विपक्षमा छन् । उनीहरुले तृतियांश ल्याउन दिने संकेत गरेका छन् ।
संविधानसभा विघटनपछि संसद् नभएकाले अध्यादेशबाट बजेट ल्याउन सरकारले सहमतिको प्रयास भने जारी नै राखेको छ ।

Thursday 5 July 2012

एक अर्ब ७० करोडमा पेट्रोलियम पाइपलाइन बनाउने भारतीय प्रस्ताव



उसले सात वर्षमा पाइपलाइन निर्माणमा लागेको रकम उठ्ने र तीन वर्ष नाफामा जाने हिसाबले यो प्रस्ताव गरेको हो। आइओसीले पाइपलाइन निर्माणमा लागेको खर्च प्रत्येक पल्ट नेपाल पठाएको पेट्रोलियम पदार्थको निश्चित रकमबाट कटाउँदै जाने उल्लेख गरेको छ।


आइओसीले पठाएको यो प्रस्तावलाई आयल निगमले बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ।
'आइओसीले पाइपलाइन निर्माण गर्न लाग्ने खर्च सहितको प्रस्ताव वाणिज्यमा सोमबार पठाएका छौ,' निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले विहिवार नागरिकसँग भने। १५ वर्ष भन्दा बढी समयदेखि निर्माण गर्ने भनिएको पाइपलाइनको प्रक्रियानै अघि बढ्न सकेको छैन।
वाणिज्य सचिव लालमणी जोशीले निगमले पाइपलाइन निर्माण आइओसीले गरिदिने प्रस्ताव आएको जानकारी दिए।
'आइओसीले पाइपलाइन निर्माण गरेर दश वर्षमा फिर्ता गर्ने प्रस्ताव पठाएको छ,' उनले भने, 'आइओसीको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौ।'
उनले आइओसीको प्रस्तावको बारेमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत जानकारी गराइसकिएको बताउँदै यसका बारेमा अरु प्रक्रिया अघि नबढेको स्पस्ट पारे। वाणिज्यले पाएको प्रस्तावलाई अध्ययन गरेर मन्त्रिपरिषद्मा पठाउनुपर्छ। पाइपलाइन निर्माणको निर्णय मन्त्रिपरिषदबाटै हुनुपर्ने प्रावधान छ। निर्वाचन घोषणा भइसकेको अवस्थामा दीर्घकालिन महत्वका परियोजना अघि बढाउन सक्ने अवस्था छैन।
निर्वाचनको घोषणा भइसकेपछि आचारसंहिता कार्यान्वयनमा आउने भएकोले दीर्घकालिन महत्वका परियोजना अघि बढाउन नपाउने भएको हो।
'निर्वाचन आचारसंहितालाई हेरेर आइओसीको प्रस्तावलाई मन्त्रिपरिषद्मा पठाउनेछौ,' जोशीले भने, 'तर यो परियोजना राष्ट्रका लागि आवश्यक छ।' वार्षिक रुपमा नेपालमा पेट्रोलियम पदार्थको खपत १५ प्रतिशत भन्दा बढीले वृद्धि भइरहेको छ। गत वर्ष ७५ अर्बको पेट्रोलियम पदार्थ आएकोमा यो वर्ष १ खर्बको पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ।
नेपालमा आउने ७० प्रतिशत पेट्रोलियम पदार्थ रक्सौल नाका भई आउँछ। पाइपलाइन निर्माणले पेट्रोलियम ढुवानी सस्तो पर्नेछ। पाइपलाइनबाट ल्याउँदा बन्द, हड्ताल, चुहावट र मिसावटको समस्या हुने छैन्।
अहिले ट्यांकरबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा मिसावट र लागत पनि महँगो हुने गरेको छ। ट्यांकरबाट ल्याउँदा पेट्रोलियम पदार्थमा मिसावटको समस्याले निगमको साख गिरेको छ। पाइपलाइन निर्माण भएपछि ढुवानी व्यवसायीले विभिन्न वहानामा निगमलाई घुँडा टेकाउने कार्य पनि बन्द हुनेछ।
निगमको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) मा ४१ किलोमिटर लामो यो दुरीमा पाइप लाइन बिछाउन उक्त रकम लाग्ने देखिएको थियो। यो रकममा जग्गा अधिग्रहण भने जोडिएको थिएन।
पाइपलाइनबाट एक पटकमा तीन हजार किलोलिटर तेल नेपालतर्फ आउँछ। दैनिक दुईपटक पाइपलाइनबाट तेल पठाउन सकिने अध्ययनले देखाएको छ।
यसअघि अमेरिकी सहयोग नियोग (युएसआइडी) ले सन् २००६ मा गरेको प्राविधिक अध्ययनमा पाइपलाइन निर्माण गर्न १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो। सन् २००६ पछि सबै निर्माण सामग्रीको भाउमा व्यापक वृद्धि भइसकेको छ। पाइपलाइन नेपालतर्फ ३९ किलोमिटर र भारततर्फ दुई किलोमिटर पर्छ। पेट्रोलियम पाइपलाइन संवदेनशील मानिन्छ। डेढ मिटरमात्र तल पाइप गाड्दा सुरक्षाका दृष्टिकोणले असुरक्षित मानिन्छ। नेपालमा कानुन कार्यान्वयन कमजोर रहेकाले पाइपलाइनको सुरक्षा गर्न कठिन हुनेछ। पाइपलाइन सुरक्षाका लागि दुई किलोमिटरमा सुरक्षा गार्ड राख्ने प्रस्ताव अध्ययनमा छ। भारतमा पाइपलाइनका लागि छुटै कानुन छ। कानुनमा पाइपलाइनमा क्षति पुर्‍याउनेलाई गोली हान्ने सम्मको अधिकार सुरक्षाकर्मीलाई दिइएको छ।
भारततर्फ समुन्द्री सतहदेखि ८४ मिटरमाथि छ भने नेपालको अमलेखगञ्ज समुन्द्र सतहदेखि २ सय ९५ मिटर माथि छ। पाइपलाइन ल्याउँदा दुईवटा राजमार्ग पार गर्नुपर्छ। पाइपलाइन ल्याउने क्षेत्रमा पाँच वटा नदी पर्छन्।
पाइप लाइन रक्सौल हुँदै वीरगन्जको सडकभन्दा १ किलोमिटर ७ सय मिटर परबाट आउनेछ। त्यसपछि जितपुरको त्रिभुवन राजमार्ग, सिमराको विमानस्थल पूर्व हुँदै अमलेखन्ज ल्याउने निगमको अध्ययनमा थियो।

Monday 2 July 2012

अब बल प्राधिकरणको कोर्टमा

काठमाडौं, असार १७ - सरकारले १० वर्षदेखि यथावत् रहेको बिजुलीको महसुल बढाएसँगै विद्युत् प्राधिकरणलाई सुधारबाट विभिन्न बहानामा पन्छिने बाटो सकिएको छ । सुधारका लागि प्राधिकरणको नेतृत्व समक्ष गरिने आग्रह यसअघि महसुल नबढेकै बहानामा टार्ने गरिन्थ्यो ।
'महँगोमा किनेर सस्तोमा बिजुली बेच्नुपरेको बेला कहाँबाट सुधारको अपेक्षा गरिन्छ' भन्दै हिँड्ने नेतृत्वले अब संवेदनशील बन्नुपर्ने छ । महसुल निर्धारण आयोगका अधिकारीहरूका अनुसार महसुल वृद्धिले प्राधिकरणको वाषिर्क घाटा साढे ४ अर्ब रुपैयाँ घटाउने छ । त्यति हुँदाहुँदै पनि झन्डै साढे २ अर्ब रुपैयाँ प्राधिकरणको घाटा कायमै रहने छ ।
यसअघिको सञ्चित नोक्सानी सरकारले अपलेखन गरिदिएको छ । सरकारलाई तिर्नुपर्ने २७ अर्ब रुपैयाँ बराबरको सञ्चित नोक्सानीबाट प्राधिकरण मुक्त भएको छ । सरकारका यी दुई पहल पछि पनि प्राधिकरण सन्तुष्ट हुन सकेको छैन ।
उसले ३० प्रतिशत महसुल वृद्धिको माग राखेको थियो । तर आयोगले साउनदेखि औसतमा २० प्रतिशत बढाउने निर्णय
गरेको छ । २० युनिटभन्दा कम खपत गर्ने ग्राहकको महसुल बढाइएको छैन । यस अनुसार झन्डै ८ लाख ग्राहकले पहिले जति नै महसुल तिरे पुग्ने छ ।
'सरकारले चर्को ब्याजदरमा ऋण दिन्छ फेरि भनेजति महसुल पनि त बढेको छैन,' प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, 'त्यसैले सुधार हुँदैन ।' यो प्रतिक्रिया यतिखेर प्राधिकरणका सानादेखि ठूला सबै कर्मचारीको सुन्न पाइन्छ ।
अब यसरी उम्किन नपाइने विज्ञहरू बताउँछन । 'अब पनि प्राधिकरण यो वा त्यो बहानामा सच्चिन सकेन भने समस्या यथावत् रहन्छ,' पूर्व ऊर्जामन्त्री गोकर्ण बिष्ट भन्छन् ।
प्राधिकरणको अर्को मुद्दा चर्को ब्याजदर पक्कै हो । सरकारले विदेशी बैंक वा बहुपक्षीय सहयोग एजेन्सीबाट लिएको सहुलियत वा कम ब्याजदरको ऋण प्राधिकरणलाई महँगोमा दिँदै आएको छ । सहुलियत प्राप्त ऋणको ब्याजदर १ दशमलव ७५ प्रतिशत हुने भए पनि सरकारले प्राधिकरणबाट ८ प्रतिशतसम्म ब्याज लिने गरेको गुनासो छ । केही व्यावसायिक कर्जा पनि कम दरमा सरकारले लिने गरेको छ ।
पछिल्लो समयमा धेरै माग भएपछि केही ऋणको ब्याजदर भने ५ प्रतिशतमा झारिए पनि सबैमा कम नहुँदा दीर्घकालीन असर कायमै रहने छ । सञ्चालन खर्चमा दोस्रो हिस्सा सरकारलाई तिर्ने ब्याजकै हो । वाषिर्क करिब ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको ब्याज प्राधिकरणले बुझाउँछ ।
'सधैं सजिलो मात्रै खोजिरहने र कमाउने मात्रै दाउ राख्ने कर्मचारीले यतिको ठूलो निर्णय पछि आपmनो सुधारमा पनि ध्यान दिनुपर्छ,' प्राधिकरणका एक पूर्वअधिकारी बताउँछन्, 'ब्याज पनि बिस्तारै भइहाल्छ नि ।'
माथिल्लो त्रिशूली ३ ए को क्षमता बढाउन ऊर्जा मन्त्रालयका सचिव बोर्डको अध्यक्ष रहेको प्राधिकरणको तदारुकताले असल नियत नदेखाउने उनी बताउँछन् । सरकारलाई दीर्घकालीन भार पर्ने तर आवश्यक पर्दा बिजुली नपाइने आयोजनाको क्षमता ६० बाट ९० मेगावाट बढाउने प्रस्ताव अन्ततः अर्थ मन्त्रालयले अस्वीकार गरेपछि रोकिएको छ ।
यससँगै प्राधिकरणको प्रमुख नियुक्ति हुन सकेको छैन । सबैभन्दा वरिष्ठ १२ तहको कर्मचारी निमित्त प्रमुख हुने व्यवस्था परिवर्तन गरी कायम मुकायम दिन सकिने व्यवस्था गरिएको छ । 'सरकारी निकायमा कि त
सरकारले नयाँ प्रमुख नियुक्त गर्नुपथ्र्यो,' प्राधिकरणका एक अधिकारी भन्छन्, 'विनियमावली परिवर्तन गरेर कायम मुकायम दिनुमा ठूलो आशंका गरिएको छ ।'
प्राधिकरणले बनाइरहेका आयोजनाको लागत बढाइदिएर हुने चलखेल र खरिद प्रक्रियाबाटै पनि नेतृत्वले ठूलो लाभ लिने गरेको आरोप विगतदेखि लाग्दै आएको छ । पूर्वमन्त्री बिष्टको पालामा खरिद प्रक्रियालाई पारदर्शी बनाउने प्रयास भए पनि कार्यान्वयन भएको छैन ।
चमेलिया र कुलेखानी तेस्रोलाई जर्जर बनाइसकेको प्राधिकरणको आँखा यतिखेर माथिल्लो तामाकोसीमा छ । त्यहाँ अझै प्रमुख नियुक्ति भएको छैन । 'निर्माणाधीन आयोजना तोकिएको समय र गुणस्तरमा सकिनुपर्छ,'
बिष्ट भन्छन् ।
चुहावट नियन्त्रणका लागि प्राधिकरण नेतृत्व मौन छ । मिटर जडान र रिडिङमा भइरहेको अनियमितता बाहिर आए पनि चासो देखाएको छैन । यति मात्रै होइन आफ्नो स्वामित्वको करिब १४ सय रोपनी जग्गा अरू कसैले कब्जा गरिसक्दा पनि प्राधिकरण व्यवस्थापनलाई वास्तै थिएन । त्यसमा प्रभावशाली नेता, कर्मचारी नाम चलेका व्यवसायी पनि छन् । मन्त्री बिष्टका पालामा थालिएको प्रक्रिया रोकिएको छ ।
बिजुली उत्पादन, वितरण र प्रसारणको जिम्मेवारी पाएको प्राधिकरण मक्किइसकेको छ । सानो धक्काले ढल्न पनि सक्छ । त्यसैले यी ३ काम हेर्ने छुट्टै निकाय बनाइनुपर्ने सुझाव बिष्टको छ ।

भारतीय पर्यटन तान्न 'चलिए पोखरा'

कास्की, असार १८ - पोखरालाई भारतीय पर्यटन बजारमा थप प्रवर्द्धनका लागि पश्चिमाञ्चल होटल संघले 'चलिए पोखरा' अभियान अघि ल्याएको छ ।
क्षेत्रीय पर्यटन प्रवर्द्धनको अवधारणाअनुरूप संघले भारतीय पर्यटकमाझ पुगेर बढीभन्दा बढी पोखरा भित्र्याउने उद्देश्यसाथ अभियान सुरु गरेको हो । संघले २१ देखि २६ गतेसम्म भारतको गोरखपुर, लखनऊ र कानपुरमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष विप्लव पौडेलले जानकारी दिए । अभियानमा पर्यटन बोर्डको पनि सहकार्य छ ।
पर्यटन व्यवसायीसहितको २० जनाको टोली पोखराको प्रचार- प्रसारका लागि त्यसतर्फ जाँदैछ । सीमावर्ती सहरका सञ्चारकर्मीसमेत अभियानमा सहभागी हुनेछन् । पोखरा र वरपरका पर्यटकीय गाउँलाई भारतीय सहरहरूमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु मुख्य उद्देश्य रहेको पौडेलले बताए । बोर्डर सिटी प्रवर्द्धनको यस कार्यक्रमपछि नेपालको भारतीय पर्यटक आगमनमा १५ देखि २० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आएको संघले एघार वर्षअघि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न जाउँ है पोखरा अभियान सुरु गरेको थियो ।

Sunday 1 July 2012

पूर्ण बजेटका लागि कानुनी बाटो खुला

supreme court काठमाडौ, असार १७ - सर्वोच्च अदालतले सरकारले पूर्ण बजेट ल्याउ खोजेको भन्दै रोक्न परेको रिट निवेदनमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको छ । न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र रामकुमार साहले उक्त आदेश गरेका हुन् ।
सर्वोच्चमा राजनीतिक सहमतिबिना नै पूर्ण बजेट ल्याउने तयारी सरकारले गरेको भन्दै रोक्न अन्तरिम आदेश माग्दै निवेदन दिइएको थियो । न्यायाधीश द्वयले भने राजनीतिक सहमति भन्ने विषय अमूर्त रहेको उल्लेख गर्दै बजेट नल्याउनका लागि अन्तरिम आदेश दिन नपर्ने आदेश आइतबार गरेका हुन् ।
यसले सरकारलाई पूर्ण बजेट ल्याउनका लागि कानुनी बाटो खुला भएको छ । यद्यपि कांग्रेस, एमालेलगायतका विपक्षी दलहरूले भने सहमतिबिना बजेट नल्याउन दबाब दिँदै आएका छन् ।

'बजेट ढिलो गरे विकास बिथोलिन्छ’

budgetकाठमाडौं, असार १७ - उद्योग वाणिज्य क्षेत्रसँग सम्बद्ध निकायहरूले समयमा बजेट नआए विकास-निर्माणका काम बिथोलिने बताएका छन् । राष्ट्रिय सहमतिका आधारमा असारभित्रै पूर्ण आकारको बजेट देशले पाउनुपर्नेमा जोड दिँदै ती संस्थाका प्रमुखहरूले राजनीति र आर्थिक विषयलाई पृथकरूपमा सम्बोधन गर्नुपर्ने तर्क गरे ।
आर्थिक गतिविधिलाई ओझेलमा नपार्न र राष्ट्र विकासका लागि संवेदनशील हुन उनीहरूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग अनुरोध गर्दै कृषिप्रधान देशमा मध्यअसारमा मलको हाहाकार हुनु विडम्बना भएको दुखेसो गरे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको अर्थसंवाद कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले राजनीतिक मतभिन्नतालाई बजेटमा प्रतिविम्बित नगरी त्यसमा राष्ट्रिय सहमति कायम गर्न दलहरूलाई आग्रह गरे ।
पूर्वाधार विकास, प्रत्यक्ष वैदेशिक लगानी, रोजगारीका अवसरको सिर्जना, कृषि, ऊर्जा र उद्योगको प्रवर्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने उनले बताए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतले मुलुकको आर्थिक उन्नयनका निम्ति सबै राजनीतिक पार्टीबीच न्यूनतम साझा कार्यक्रममा सहमति हुनैपर्नेमा जोड दिए ।
बजेटमा आधारित भएर उद्यमी-व्यवसायीले कार्ययोजना बनाउने भएकाले समयमा बजेट नआए देशकै अर्थतन्त्र प्रभावित हुने विचार पनि उनले व्यक्त गरे ।
नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष नरेन्द्र बस्नेतले अति राजनीतिले मुलुक अधोगतितर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै राजनीतिक दलहरूलाई जिम्मेवार हुन आगह गरे । रासस

कोरियामा तलब बढ्यो

south-korean-flagसोल (दक्षिण कोरिया), असार १७ - कोरिया सरकारले यहाँ कार्यरत मजदुरहरूको ६.१ प्रतिशतले तलब वृद्धि गरेको छ । न्यूनतम ज्याला निर्धारण समितिले शुक्रबार उक्त निर्णय गरेको हो । आउँदो जनवरीबाट लागू हुने परिवर्तित नियम अनुसार यहाँका मजदुरहरूले प्रतिघन्टा ज्याला ४ हजार ८ सय ६० वन पाउने छन् ।
बढ्दो महँगीका कारण जीवनयापनमा कठिनाइ भएकाले प्रतिघन्टाको ज्याला ५ हजार ६ सय वन हुनुपर्ने माग राख्दै यहाँका १६ मजदुर संगठनले गत सातादेखि सोल हाकुदोङस्थित न्यूनतम ज्याला निर्धारण समितिको कार्यलयमा धर्ना दिएका थिए । मजदुरहरूको मागलाई सम्बोधन गर्न सरकारले शुक्रबार ज्याला निर्धारण समितिको बैठक आमन्त्रण गरेको थियो ।
२७ सदस्यीय समितिका दस जनाले ६.१ प्रतिशत वृद्धि गर्ने पक्षमा मतदान गरेका थिए । आठ जनाले २२ प्रतिशत वृद्धि गर्न माग गरेका थिए भने ९ जना तटस्थ बसेका थए । मतदान प्रक्रिया अपनाइए पनि आपसी सहमतिद्वारा सरकारले राति अबेर ६.१ प्रतिशतले वृद्धि भएको घोषणा गरेको थियो । हाल प्रतिघन्टा ज्याला ४ हजार ५ सय ८० वन छ । मझौला तथा साना उधोगहरूलाई कठिनाइ हुने भन्दै सरकारले गत मेमा तलब वृद्धि नगर्ने घोषणा गरेको थियो ।
कोरियाको श्रम नियम अनुसार प्रतिमहिना २ सय ९ घन्टा न्यूनतम कार्यअवधि भएकाले सन् २०१३ बाट न्यूनतम तलब १० लाख १५ हजार वन -करिब ७१ हजार रुपैयाँ) हुने छ ।
परिवर्तित नियमले करिब २ करोड ५८ हजार मजदुरलाई फइदा पुग्ने छ । १५ देशका युवाहरूको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले नेपाली श्रमिक अझ उत्साहित बनेका छन् ।