Monday 2 July 2012

भारतीय पर्यटन तान्न 'चलिए पोखरा'

कास्की, असार १८ - पोखरालाई भारतीय पर्यटन बजारमा थप प्रवर्द्धनका लागि पश्चिमाञ्चल होटल संघले 'चलिए पोखरा' अभियान अघि ल्याएको छ ।
क्षेत्रीय पर्यटन प्रवर्द्धनको अवधारणाअनुरूप संघले भारतीय पर्यटकमाझ पुगेर बढीभन्दा बढी पोखरा भित्र्याउने उद्देश्यसाथ अभियान सुरु गरेको हो । संघले २१ देखि २६ गतेसम्म भारतको गोरखपुर, लखनऊ र कानपुरमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष विप्लव पौडेलले जानकारी दिए । अभियानमा पर्यटन बोर्डको पनि सहकार्य छ ।
पर्यटन व्यवसायीसहितको २० जनाको टोली पोखराको प्रचार- प्रसारका लागि त्यसतर्फ जाँदैछ । सीमावर्ती सहरका सञ्चारकर्मीसमेत अभियानमा सहभागी हुनेछन् । पोखरा र वरपरका पर्यटकीय गाउँलाई भारतीय सहरहरूमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु मुख्य उद्देश्य रहेको पौडेलले बताए । बोर्डर सिटी प्रवर्द्धनको यस कार्यक्रमपछि नेपालको भारतीय पर्यटक आगमनमा १५ देखि २० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आएको संघले एघार वर्षअघि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न जाउँ है पोखरा अभियान सुरु गरेको थियो ।

No comments:

Post a Comment