Thursday 19 July 2012

राष्ट्रपतिसहित १६ नेताले गैरकानुनीरूपमा बुझेको दसैं खर्च फिर्ता


rambaranकाठमाडौं, श्रावण ५ - राष्ट्रपति रामवरण यादवसहितका १६ नेताले विभिन्न कालमा मन्त्री हुँदा गैरकानुनी रूपमा लिएको दसैं खर्च र कर कट्टी नगरेको रकम फिर्ता गरेका छन् । सम्बन्धित मन्त्रालयका सचिवहरूले तत्कालीन मन्त्रीहरूले गरैकानुनी रूपमा लिएको रकमको बेरुजु मिनाहा गर्न राखेको प्रस्ताव बेरुजु फछ्र्यौट समिति र महालेखा परीक्षकले नमानेपछि उनीहरू रकम फिर्ता गर्न बाध्य भएका हुन् ।
बेरुजु फछ्र्यौट समिति र महालेखा परीक्षक समितिको दबाबमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गैरकानुनी रूपमा नेताहरूले मन्त्री हुँदा लिएको रकम फिर्ता गर्न पत्र पठाई ताकेता गरेपछि उनीहरूले केही दिनअघि फिर्ता गरी बेरुजु फछ्र्यौट गरेका हुन् । महालेखा परीक्षकको कार्यालयले तत्कालीन मन्त्रीहरूले बुझेको दसैं खर्च र कर कट्टा नगरेको रकमलाई आफ्नो प्रतिवेदनमा गैरकानुनी करार दिँदै फछ्र्यौट हुनुपर्ने बेरुजुमा राखेको थियो ।
महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रपति यादवले स्वास्थ्यमन्त्री हुँदा गैरकानुनी रूपमा दुई वर्ष बुझेको दसैं खर्चबापतको २५ हजार ५ सय रुपैयाँ फिर्ता गरेका छन् । त्यसैगरी तत्कालीन मन्त्रीहरू महन्थ ठाकुर, विजयकुमार गच्छदार (वर्तमान उपप्रधानमन्त्री), महेश आचार्य, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, विष्णु पौडेल, अमृतकुमार बोहरा, केशव बडाल, विद्यादेवी भण्डारी, तुलबहादुर गुरुङ, मुकुन्द न्यौपाने, अशोक राई, सिद्धिलाल सिंहले गैरकानुनी रूपमा लिएको दसैं खर्च फिर्ता गरेका छन् ।
गच्छदार र खड्काले दुई वर्षको दसै खर्च १७ हजार, ठाकुरले २५ हजार ५ सय, आचार्यले तीन वर्षको ३४ हजार ५ सय र बाँकी तत्कालीन मन्त्रीले एक/एक वर्षको दसैं खर्च ८ हजार ५ सय रुपैयाँका दरले फिर्ता गरेका हु्न् । कर कट्टी नगरेको रकम फिर्ता गर्नेमा तत्कालीन मन्त्रीद्वय गोपालमान श्रेष्ठ र एनपी सावद तथा तत्कालीन मन्त्री एवं वर्तमान उपप्रधानमन्त्री विजयकुमार गच्छदार छन् । गच्छदारलेः २ हजार ५ सय ४५, श्रेष्ठले १ हजार २ सय २३, सावदले २ हजार ४४ रुपैयाँ गैरकानुनी रूपमा कर कट्टी नगरेको रकम फिर्ता हुन् ।

No comments:

Post a Comment