Thursday 28 June 2012

म्याग्दीमा यार्सागुम्बा किलोको साँढे १० लाख रुपैयाँ

 म्याग्दी, असार १४ – एकाविहानै हेलिकप्टरको आवाजले म्याग्दी सदरमुकाम बेनीका वासिन्दा अचम्ममा परे । धेरैले त ठाने पोखराबाट नेपाल बैंकमा नोट लिएर आएको होला । तर हेलिकप्टरमा आएकाहरु त सरासर जिल्ला वन कार्यलयतिर पो लागे ।
...
बुधवार विहानै आएको हेलिकप्टर म्याग्दीको दुर्गम मुदी गाविसबाट यार्सागुम्बा लिएर आएको थियो । उनीहरु संकलित यार्सागुम्बा निर्यातको लागि कागजी प्रक्रिया मिलाउन वन कार्यलय गएका थिए । साँढे ४ किलो यार्सागुम्बा ल्याउनका लागि खरिदकर्ता नोर्वु शेर्पाले माउण्टेन कम्पनीको ९ एन एजिआइ हेलिकोप्टर चार्टर गरेर ल्याउनुभएको थियो ।

गएको वर्ष किलोको करिब ५ लाख रुपैयाँमा किनबेच भएको यार्सागुम्बा यसवर्ष मुदी गाउँमा नै १० लाख ३२ हजार रुपैयाँ तिरेर किनेको खरिदकर्ता नोर्बुले बताउनुभयो । मुदीका स्थानीय संकलक दलमान पुनसँग साँढे ४ किलो यार्सागुम्बा खरिद गरेर सडक मार्गबाट ल्याउन असुरक्षा हुने भन्दै हेलिकोप्टर चार्टर गर्नुभएको थियो नोर्बुले ।

पुनले यसवर्ष १० किलो यार्सागुम्बा संकलनका लागि पुर्जी लिएका थिए तर साँढे ४ किलोमात्र संकलन गर्न सकेको बताउनुभयो । अघिल्लो वर्ष ११ किलो संकलन गरेका दलमानले यसवर्ष यार्सागुम्बा थोरै पाइएकाले मुल्य दोब्बर बढेको बताउनुभयो ।

नेपालको यार्सागुम्बा धेरैजसो चीन निर्यात हुने भएकाले चीनको मागका आधारमा मूल्य निर्धारण हुने भएकाले गत वर्षभन्दा दोब्बर मूल्य बढेको वन अधिकृत यमबहादुर रुम्बाले बताउनुभयो ।

जिल्ला वन कार्यालयका अनुसार म्याग्दीका हिमाली गाविसहरुमा प्रतिवर्ष ४० किलो यार्सागुम्बा संकलन गर्न सकिने संभावना छ । यसवर्ष संकलनकर्ताहरुले कार्यलयबाट २२ किलो ५ सय ग्राम यार्सागुम्बा संकलनको पुर्जी लिएपनि हालसम्म ७ किलोको मात्र छोडपुर्जी कार्यालयले दिएको छ । संकलन गरेर जिल्ला वाहिर लैजाने यार्सागुम्बालाई कार्यलयले छोडपुर्जी दिने गर्छ ।

यो वर्ष यार्सागुम्बा संकलन नै कम भएको जिल्ला वन अधिकृत रुम्बाले बताउनुभयो । संरक्षणमा ध्यान नदिँदा वर्षेनी उत्पादन घट्दै गएको उहाँको भनाई छ ।

No comments:

Post a Comment