Tuesday 12 June 2012

नेप्सेको भारतबाट सफ्टवेयर खरिद गर्ने तयारी

काठमाडौ, जेष्ठ ३० - स्टक एक्सचेन्जले भारतबाट नयाँ सफ्टवेयर खरिद गर्ने तयारी गरेको छ । यसका लागि एक प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ । हाल सञ्चालनमा रहेको सफ्टवेयरमा बराम्बार समस्या आउन थालेपछि एक्सचेन्जले नयाँ खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।
भारत सरकारबाट अनुदानमा सफ्टवेयर आउन सक्ने सम्भावना रहेकाले प्रस्ताव अर्थ मन्त्रालय पठाइएको एक्सचेन्जका अध्यक्ष जीवनाथ धितालले बताए ।
'सहयोगमा उपलब्ध हुने मौखिक जानकारी आएपछि प्रक्रिया अघि बढाएका हौं,' उनले भने । नयाँ सफ्टवेयरमा करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान नेप्सेको छ ।
मुलुकको एक मात्र सेयर बजार नेप्सेको सफ्टवेयरमा देखिएको समस्याका कारण समयसमयमा कारोबार प्रभावित हुँदै आएको छ । साथै नेप्सेको कार्यालयमा रहेको सर्भरमा समस्या आएपछि केही समय अघि सिंहदरबारभित्रको समेत प्रयोगमा ल्याइएको थियो ।
सिंहदरबारमा ब्याकअप सर्भर राखिएको छ, जुन सामान्य अवस्थामा प्रयोग गरिँदैन । सर्भर र सफ्टवेयरको समस्याका कारण सबै ब्रोकरले एकै पटक लग इन गर्न नसक्ने, कारोबार ढिलो हुने लगायत समस्या देखिँदै आएको छ । साथै अहिलेको सफ्टवेयरका बढीमा ५० वटा प्रयोगकर्ता हुन सक्ने अवस्था छ, जसलाई पछिल्लो समय वृद्धि गर्न आवश्यक भइसकेको छ ।
सेयर कारोबारलाई विद्युतीय बनाउन खोलिएको केन्द्रीय निक्षेप प्रणालीमा पनि भारतकै सफ्टवेयर प्रयोग भएको छ । भारतको सीएमसी लिमिटेडले बनाएको उक्त सफ्टवेयर भारत सरकारको सहयोगका रूपमा उपलब्ध भएको हो । प्रणाली र एक्सचेन्जमा एकै कम्पनीको सफ्टवेयर प्रयोग हुँदा काम सजिलो हुने विशेषज्ञहरू बताउँछन् ।
हाल नेप्सेले प्रयोग गरिरहेको सफ्टवेयर दुई वर्ष प्रयोग गर्नका लागि खरिद गरिएको थियो । पूर्णस्वचालित कारोबार सुरु गर्नुअघि यसलाई केही समयका लागि खरिद गरिएको थियो ।

No comments:

Post a Comment