Tuesday 12 June 2012

'छिटो गर्नुस्, सरकार साथ दिन्छ'

Baburam Bhattarai pmदोलखा/सिन्धुपाल्चोक, जेष्ठ ३० - प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय प्राथमिकताको माथिल्लो तामाकोसी आयोजना र मेलम्चीमा आइपरेको सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आयोजनाहरुको सोमबार निरीक्षण गर्दै भट्टराईले राजनीति र सरकार परिवर्तनले तामाकोसीलाई कुनै फरक नपर्ने पनि बताए । डिजेल, विस्फोटक पदार्थ, भन्सार र मुद्दाको झन्झटमा फसिरहेको तामाकोसी आयोजनालाई समयसीमामै सम्पन्न गर्न सरकारी संयन्त्रलाई निर्देशन दिने पनि प्रधानमन्त्रीले बताए ।
आयोजनाका निमित्त निर्देशक विज्ञानप्रसाद श्रेष्ठ र ऊर्जासचिव हरिराम कोइरालाले नेपाल आयल निगमले समयमा डिजेल आपूर्ति गर्न नसकेर काममा बाधा परेको जानकारी गराए । ३३ केभी प्रसारण लाइन जोडिए पनि आयोजनालाई अझै दैनिक करिब सात हजार लिटर डिजेल आवश्यक हुन्छ । विस्फोटक पदार्थ ल्याउनका लागि ६/६ महिनामा नवीकरण गर्नुपर्ने प्रक्रियाका कारण त्यसको पनि अभाव हुने गर्छ । भन्सार छुटाउने झन्झट पनि त्यत्तिकै छ ।
प्रधानमन्त्रीसामु आयोजनाले विभिन्न सात वटा जटिल समस्याको जानकारी गराएको थियो । उपप्रधान तथा ऊर्जामन्त्री नारायणकाजी श्रेष्ठ साथै आएका उनले सरकारका कारणले तामाकोसी आयोजनालाई कुनै अवरोध नहुने विश्वास दिलाए ।
कुनै अवरोध नभए २०७२ जेठबाट आयोजनाले विद्युत् उत्पादन थाल्ने योजना छ ।
हालको कामको प्रगतिमा निर्धारित समयभन्दा आठ महिना ढिला भएकाबारे जानकारी गराएपछि उत्साहित हुँदै प्रधानमन्त्री भट्टराई ढिला भएको समय परिपूर्ति गर्नेतर्फ कदम चाल्न निर्देशन समेत दिए । २०७२ चैतभित्र ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य लिएको आयोजनको हालसम्म ३२ प्रतिशत काम सकिसकेको छ ।
हालसम्म आयोजनाको ९ स्थानमा बनाउनुपर्ने करिब १४ किलोमिटर टनेलमध्ये ३ किलोमिटर सकिएको छ ।

No comments:

Post a Comment