Tuesday 12 June 2012

प्याज १० रुपैयाँ किलो !

बैजापुर (बाँके), जेष्ठ ३० - दुई वर्षअघि सम्म घरमा खानका लागि मात्र प्याज लगाउने बाँकेका किसानले अहिले व्यावसायिक खेती सुरु गरेका छन् । तर राम्रो बजार भाउ नपाउँदा उनीहरू उत्पादन सस्तोमा बिक्री गर्न बाध्य छन् । प्रतिकिलो १० रुपैयाँमा प्याज बिक्री भइरहेको छ ।
भण्डारणगृह नहुँदा किसानले सस्तोमा बिक्री गर्न थालेका हुन् । राप्ती पारिको बैजापुर लगायत गाविसमा प्याज प्रतिक्विन्टल १ हजार रुपैयाँमा बिक्री भइरहेको छ । त्यसले किसानको मिहिनेत र लगानी उठ्दैन । उनीहरूले घरको खाली ठाउँ तथा गोठमा प्याज थन्काएका छन् । शीतभण्डार नहुँदा जोगाउन हम्मे परेको बैजापुर-९ धामपुरका किसान तथा स्थानीय शिक्षक हरिराम थारूले बताए ।
उनले ७ कठ्ठा जमिनमा प्याज लगाएका थिए । झन्डै ३० क्विन्टल उत्पादन भएको बताए । 'नेपालगन्जका व्यापारीले प्रति क्विन्टल १ हजार रुपैयाँ दिने भनेका छन्,' उनले भने, 'मिहिनेत अनुरूप लगानी नउठे पनि खेर जाने डरले सहमति जनाएको छु ।'
जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको बीउ तथा विषादीमा ५० प्रतिशत अनुदान दिएर खेती गर्न अभिप्रेरित गरेको हो । प्याज खेतीका लागि आवश्यक पर्ने पानीको व्यवस्था गर्न विद्युत् मोटर तथा पम्पसेट मेसिनको खरिदमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । तर उत्पादित प्याज भण्डारण गर्ने ठाउँ नहुँदा किसान सस्तोमा बिक्री गर्न बाध्य छन् ।
'धेरै दिन घरमा राख्दा कुहिने डर हुन्छ,' गत वर्षदेखि व्यावसायिक खेती थालेका बैजापुर-७ का किसान खुसिराम थारूले भने, 'त्यसैले सस्तोमा बिक्री गर्नुपरेको छ ।' नेपालगन्ज लगायतका बजार क्षेत्रमा भारतबाट आयातित प्याज अहिले ३० रुपैयाँ किलोमा बिक्री भइरहेका बेला झन्डै ३० किलोमिटर टाढा बैजापुरमा भने १० रुपैयाँ किलोमा बिक्री भइरहेको हो ।
जिल्ला कृषि विकास कार्यालयले मिसन प्याजअन्र्तगत बाँकेका उदयपुर, नरैनापुर, कोहलपुर र बागेश्वरी सेवा केन्द्रका गाविसमा ३७ समूह बनाएर गत वर्षदेखि कार्यक्रम सुरु गरेको
थियो । पहिलो वर्ष सय हेक्टरमा खेती गरिएको थियो । बागवानी अधिकृत किशोरमान श्रेष्ठका अनुसार यो वर्ष थप ५० बढाएर १ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । 'जिल्लालाई प्याज उत्पादनमा आत्मनिर्भर बनाउन मिसन प्याज कार्यक्रम सुरु गरिएको हो,' अधिकृत श्रेष्ठले भने, 'त्यसमा सफल भएका छौं ।'
किसानहरूले उत्पादन गरेको प्याज भण्डारण गर्न प्रत्येक समूहलाई १५/१५ हजार रुपैयाँ अनुदान दिने योजना रहेको बागवानी अधिकृत श्रेष्ठले बताए । 'राख्न समस्या छ, उनले भने, 'अहिले आधुनिक शित भण्डार बनाउन नकिएला तर जमिनमा एक फिट खाल्डो खनेर त्यसमा बालुवा राखेर प्राकृतिक तरिकाले भण्डारण गर्न सकिन्छ,' उनले भने ।
कृषि कार्यालयले कृषकहरूलाई तालिम तथा बीउ, विषादी तथा पानी तान्ने विद्युत् मिटरमा अनुदान दिएपछि कृषक समूह तथा कृषि सहकारी संस्थासमेत व्यावसायिक प्याजखेतीमा जुटेका हुन् । बाँकेमा वाषिर्क करिब १ हजार ९ सय २६ टन प्याजको माग भए पनि स्थानीय उत्पादनले माग पूरा गर्न सक्दैन । त्यसैले सीमावर्ती भारतीय बजार रुपैडियाबाट प्याज आयात हुँदै आएको छ । अहिले प्याज केही सस्तो भए पनि बेमौसममा त्यहाँबाट आयातित प्याज किलोको डेढ सयसम्म पर्ने गरेको छ ।
मिसन प्याज खेतीबाट जिल्लामा आवश्यक पर्ने प्याज उत्पादन गरी अन्य जिल्लामा समेत निर्यात गर्ने लक्ष्य जिल्ला कृषि विकास कार्यालयको छ । गत वर्ष १ सय हेक्टरमा गरिएको प्याज खेतीमा प्रतिहेक्टर साढे १४ मेटि्रक टन प्याज उत्पादन भएको थियो । अहिले त्यो केही मात्रामा बढेर १५ टन पुगेको अधिकृत श्रेष्ठले बताए ।

No comments:

Post a Comment