Sunday 24 June 2012

केरा खेतीमा एकै ठाउँका ५ सय किसान

bananaराजविराज, असार १० - तीन वर्ष भारतको पन्जाबस्थित केरा बगानमा मजदुरी गरेका भारदहका इन्द्रदेव लौगीले फर्केर गाउँमै एक बिघा खेतमा केरा खेती सुरु गरे । उनको बगैंचाले ५ वर्षदेखि उत्पादन दिन थालेको छ । उनले वर्षमा केरा खेतीबाटै सबै खर्च कटाएर २ लाख आम्दानी गर्दै आएका छन् । उनको आम्दानी हेरेर केरा खेतीलाई व्यवसाय बनाउने ५ सय जनाभन्दा बढी भएका छन् ।
लौगीको जीवनस्तरमा एक्कासि परिवर्तन देखेपछि भारदह-१ का बच्चालाल मण्डलले केरा खेती थाले । उनले साहुसँग ऋण काढेर दुई बिघामा खेती लगाएर मनग्य आम्दानी गरे । उनको जीवनस्तर अहिले निकै उकासिएको छ । बालबच्चालाई सरकारी स्कुलमा पढाउन समस्या भोगेका मण्डल अहिले उनीहरूलाई बोर्डिङ स्कुलमा पठाउँछन् । खेती विस्तार गरेर उनले १० बिघा पुर्‍याएका छन् । 'सबै खर्च कटाएर वर्षको ८/१० लाख आरामले बचाउँछु,' उनले भने ।
लौगीले एक बिघाबाट सुरु गरेको केरा खेती भारदहमा मात्र ३ हजार बिघामा फैलिइसकेको छ । भारतको पन्जाबमा कृषि मजदुरी गर्न गएकाहरू फर्केर सुरु गरेको केरा खेतीले उनीहरूलाई बगानका मालिक बनाएको छ । काँधमा कोदालो र खाजाको पोटरी बोकेर एकाबिहानै खेतीमा जाने भारदहका सयौं व्यक्ति अहिले मालिक भएका छन् । उनी अहिले केराको बगान जाँदा खाजा, मिनरल बाटरको बोतल, थर्मसमा चिया लिएर मोटरसाइकलमा चढेर जाने गर्छन् ।
पाँच वर्षअघिसम्म मजदुरी गर्ने भारदहका यस्ता पाँच सयभन्दा बढीको बदलिँदो दिनचर्या हेरेर जागिरको तलासमा बेरोजगार भएर बसेका शिक्षित भारदहका युवासमेत केरा खेतीतर्फ आकषिर्त हुन थालेका छन् । एक वर्षयता मात्र यस क्षेत्रको एक हजारभन्दा बढी क्षेत्रफलमा केरा खेती विस्तार भएको छ ।
यहाँ बाघनगर, नटबर, जहाजी, चिनीचम्पा, कुरकुटियालगायत जातका केरा खेती हुने गरेको छ । भारदहको केरा खेती त्यस क्षेत्रका जोगिनियाँ, हनुमाननगरसम्म विस्तार भइरहेको छ । भारदह क्षेत्रमा बाह्रै महिना केरा उत्पादन भइरहेको छ । दैनिक ५ ट्रक केरा मुलुकको विभिन्न सहरमा जाने गरेको छ । यहाँ ५ वर्षअघिसम्म भारतबाट केरा भित्रिने गरेको थियो । अहिले पूर्वी भारतमा समेत भारदहकै केरा निर्यात भइरहेको छ ।
देशको काठमाडौं, पोखरा, नारायणघाट, वीरगन्ज, जनकपुर, विराटनरलगायत बजारको २५ प्रतिशत माग भारदहको केरा बगानले पूरा गर्दै आएको छ । केरा खेतीमा ५ सयभन्दा बढी किसान, २ हजार कृषि मजदुर, मलखाद, कीटनाशक बिक्रेता, व्यापारी, खुद्रा बिक्रेतालगायत १५ हजारजनाले रोजगारी पाएको अनुमान छ ।
केरा खेती ठूलो परिमाणमा विस्तार भइरहेका बेला सप्तरी कृषि कार्यालयले भने यसको तथ्यांकसमेत संकलन गर्न सकेको छैन । 'भारदहमा विस्तार भएको केरा खेतीबारे कार्यालयमा आधिकारिक जानकारी छैन,' कार्यालयका प्रमुख अनुपलाल साहले भने, 'ठूलै क्षेत्रफलमा केरा खेती भइरहेको सुनेको छु । अझै व्यावसायिक बनाउन योजना तर्जुमा भइरहेको छ ।'
केरा खेतीका अगुवा बच्चालाल मण्डलले सरकारी स्तरबाट कुनै सहयोग नपाएको गुनासो गरे । 'सल्लाह माग्दासमेत जिल्ला कृषि कार्यालयले सघाउँदैन,' उनले गुनासो गरे, 'बोटमा कुनै रोग लागे भारतको पन्जाबका किसानसँग सल्लाह लिन पुग्नुपर्छ । बगानसम्म बाटो नहुँदा मल र उत्पादिन केरा सडकसम्म ल्याउन समस्या रहेको उनले बताए ।






No comments:

Post a Comment