Sunday 17 June 2012

आयल निगमको घाटा ३८ करोड

काठमाडौं, असार ४ (नागरिक)- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमको घाटा ३८ करोडमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेर प्रति ब्यारल ९६ डलरमा आइपुगेको छ।इन्डियन आयल कर्पोरेसन(आइओसी)ले जुन १५मा पठाएको मूल्य अनुसार निगमको घाटा ३२ करोडले कम भएको हो। आइओसीले पठाउने जुलाईको मूल्यमा निगमलाई नाफा/घाटा बराबर हुने देखिन्छ। लगातार नोक्सानी ब्योहोरेको निगमले अन्तर्राष्ट्रिय मूल्य घटेर राहत दिएको छ। यो नोक्सानीमा विभिन्न वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न १५ करोड रुपैयाँ जोडिएको छ।
'अन्तर्राष्ट्रिय मूल्य घट्दा निगमलाई राहतनै भएको छ। जुलाईमा आउने नयाँ मूल्यमा निगमलाई अझै राहत हुनेमा विश्वस्त छौ,' निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले आइतबार नागरिकसँग भने, 'नोक्सानी कम भएमा सहज रुपमा तेल ल्याउन सकिनेछ। उपभोक्ताले पनि राहत पाउनेछन्।' जुलाईमा खाना पकाउने ग्यासको मूल्य घटेमा निगमलाई सहज हुने उनले बताए। निगमलाई अहिले एक सिलिन्डर ग्यासमा ४ सय ५३ रुपैयाँ घाटा छ। उनले निगम नाफा/घाटा बराबरमा भएमा स्वचालित मूल्य संयन्त्रमा जाने बाटो खुल्ने जानकारी दिए।
'अन्तर्राष्ट्रिय बजारले हामीलाई तेलको स्वचालित मूल्य कार्यान्वयन हुन बाटो खुल्नेछ,' उनले भने।
जुन १मा निगमको घाटा ७० करोड थियो। नयाँ मूल्य अनुसार निगमलाई डिजेलको घाटा कम भएको छ भने पेट्रोलमा नाफा बढेको छ। निगमलाई पेट्रोल एक लिटरमा ११ रुपैयाँ ८८ पैसा नाफा छ। यसअघि निगमलाई पेट्रोलमा ७ रुपैयाँ ५९ पैसा मात्रै नाफा थियो। डिजेलमा निगमलाई एक लिटरमा ४ रुपैयाँ ७२ पैसा घाटा छ। निगमलाई यसअघि डिजेलमा ८ रुपैयाँ ५३ पैसा घाटा थियो।
चर्को राजनीतिक हस्तक्षेपले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा निगमले यो आर्थिक वर्षमा ९ अर्ब नोक्सानी व्योहोरेको छ। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्नुपर्ने व्यापारिक सिद्धान्त विपरीत सस्तो लोकप्रियताका लागि भाउ नबढाउँदा सरकारको ११ अर्ब १८ करोड ६९ लाख, नागरिक लगानी कोषको ४ अर्ब १३ करोड, सञ्चय कोषको ६ अर्ब ४० करोड र विभिन्न वाणिज्य बैंकको १ अर्ब ९० करोड ऋण निगममा लगानी भएको छ।

No comments:

Post a Comment