Wednesday 9 January 2013

'सर्वहारा' मजदुर नेताले जुवामा सवा दुई करोड हारे




प्रकाश तिमल्सिना, काठमाडौं, पुस २५ - तत्कालीन तारा क्यासिनोका मजदुरका लागि खडा गरिएको कोषमा जम्मा भएको २ करोड २० लाख रुपैयाँ एकीकृत नेकपा माओवादीका मजदुर नेताले मालिकसँग मिलेर जुवामा सिध्याएका छन्। उक्त रकम पाउन क्यासिनोमा कार्यरत मजदुरले निरन्तर आवाज उठाए पनि त्यसको सुनुवाइ भएको छैन। एमाओवादी नेतृत्वको मजदूर युनियनका अध्यक्ष राजेश जोशी, सचिव केशव थापा, अप्सारा पाण्डेले स्टाफ फण्डको पैसा निकालेर जुवा खेलेको मजदूरहरुको भनाइ छ।
'मजदुरका नाममा जम्मा गरिएको उपदान कोषमा राखिएको रकम खोई भनेर एमाओवादीका नेतालाई सोधिरहेका छौं,' अखिल नेपाल रेस्टुरेन्ट तथा होटल मजदुर संघ क्यासिनो इकाईका सचिव रामहरि रिमालले नागरिकसँग भने, 'युनियनका नेता भने जुवामा हारियो भनेर पन्छिदिन्छन्।'


गत अप्रिलमा तत्कालीन महाप्रबन्धक नरेन्द्रप्रसाद श्रेष्ठ र सहायक प्रमुख महीनारायण चौधरीले मजदुर उपदान कोषको उक्त रकम तीन महिनापछि तिर्ने सर्तमा निकालेको एमाओवादीका मजदुर नेता बताउँछन्। तर, उक्त कोषको रकम मजदुरलाई नसोधी निकालेर जुवामा हारियो मात्र भनेर एमाओवादीका मजदुर नेता पन्छिन खोजेपछि अन्य संगठनले व्यवस्थापकसँग मिलिभगतमा हिनामिना गरेको आरोप लगाइरहेका छन्।


चाबहिल, चुच्चेपाटीस्थित एभरेस्ट बैंकको खातामा रहेको कोषको रकम जुवामा हारिएको भन्ने धेरै पछि मात्र सार्वजनिक भएको एमालेनिकट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन अध्यक्ष भुवन पोखरेलले बताए। 'मजदुरलाई नसोधी युनियनका नेताले मालिकसँग मिलेर त्यो रकम निकालेका रहेछन्, पछि मात्र जुवामा हारियो भनेर जानकारी दिइयो,' पोखरेलले नागरिकसँग भने, 'मालिकलाई दियौं भनेर युनियन पन्छिन्छ तर मजदुरलाई सोध्दै नसोधी किन त्यत्रो रकम निकाल्यौ त भनेर हामी सोधिरहेका छौं।'
तारा क्यासिनोको पुरानो व्यवस्थापक सिंगापुरे कम्पनी एआरटी र महाप्रबन्धक श्रेष्ठ दुवै अहिले छैनन्। रकम चलाएको केही समयमै बन्द भएको क्यासिनो हाल स्टार क्यासिनोका रुपमा सञ्चालनमा आएको छ, जसको व्यवस्थापन जिम्मेवारी केशव सिलवालले लिएका छन्। तर, मजदुर कोषको उक्त पैसा कसले फिर्ता दिने हो? त्यसको जवाफ कोहीसित छैन।
पोखरेलका अनुसार पुरानो व्यवस्थापन रहँदा एमाओवादी मजदुर युनियनको मात्रै क्यासिनोमा हालिमुहाली चल्थ्यो। 'त्यसबेलासम्म अन्य पार्टीको संगठन नै क्यासिनोमा खोल्न दिएका थिएनन्,' पोखरेलले भने, 'त्यो पैसा चलाउने भनिएका तत्कालीन महाप्रबन्धक श्रेष्ठ अहिले क्यासिनो नेपालका फाइनान्स म्यानेजर छन्, एमाओवादीको नेता कता छन्? हामी अहिले खोज्दैछौं।' उनका अनुसार त्यसअघि मनोज सुवेदी नेतृत्वको व्यवस्थापनले पनि उक्त कोषबाट १ करोड लिएर जुवामा हारेको भन्दै फिर्ता गरेन।


कांग्रेसनिकट नेपाल पर्यटन तथा होटल मजदुर युनियनका अध्यक्ष महादेव सुवेदीले एमाओवादी नेताले मजदुर कोषको रकम जुवामा खेलाउन दिएर गम्भीर भुल गरेको बताए। 'क्यासिनोको आधिकारिक युनियनको नेतृत्वमा माओवादी नै थिए, उनीहरुले नै पैसा निकाले र जुवामा खेलाए भनिरहेका छन्,' सुवेदीले नागरिकसँग भने, 'तर, हामीले पनि त्यो पैसा फिर्ता पाउनुपर्छ भनेर माग गरिरहेका छौं।'


एमाओवादीको तत्कालीन नेतृत्व जोशी र सचिव केशव थापाले प्रत्येक मजदुरबाट उठाएको अन्य रकमको पनि हिसाबकिताब अझै सार्वजनिक गरेका छैनन्। 'प्रत्येक मजदुरबाट प्रत्येक महिना 'युनियन कन्ट्रिब्युसन'का नाममा ५० रुपैयाँ र फिटनेस क्लबका नाममा १ सय रुपैयाँका दरले उठाइन्थ्यो,' रिमालले भने, 'तर पाँच वर्षदेखि उठाइँदै आएको सो रकम कहाँ गयो, हामीलाई जानकारी दिइएको छैन, त्यसमा पनि लाखौं हिनामिना भएको छ।' उनका अनुसार सो दुई शीर्षकमा मात्र एमाओवादी नेतृत्वको युनियनले मासिक ९० हजार रुपैयाँजति उठाउँदै आएको थियो।


तर, एमाओवादी सचिव केशव थापाले भने क्यासिनोमा हारिएको रकम मजदुरलाई फिर्ता गराउन आफूहरुले पहल गरिरहेको बताए। 'क्यासिनो सञ्चालक कम्पनी पनि भाग्यो, व्यवस्थापन पनि फेरियो, अहिले दोषजति सबै हामीमाथि थोपर्ने काम भइरहेको छ,' सचिव थापाले नागरिकसँग भने, 'श्रम अदालतमा उजुरी हालेका छौं, सिंगापुरे कम्पनीलाई कसरी नेपालको कानुनी दायरामा ल्याएर पैसा फिर्ता गराउने भनेर वकिलसँग छलफल पनि गरिरहेका छौं।' क्यासिनोको तत्कालीन व्यवस्थापकलाई सो उपदान कोषको सञ्चालक समितिले नै निर्णय गरेर ऋणका रुपमा दिएको सबै पैसा जुवामा हारेकाले युनियनमात्र जवाफदेही हुन नसक्ने उनको भनाइ छ।


एमाओवादीबाहेक अन्य संगठनका नेता भने क्यासिनो बन्द हुने निश्चित भएपछि कोषको रकम व्यवस्थापक र एमाओवादी मजदुर नेताले हिनामिना गरेको बताउँछन्। 'क्यासिनो बन्द हुने निश्चित नै भएपछि सो रकम निकालेको देखिन्छ, ता कि अरुलाई भोलि जवाफ दिनु पर्दैन भन्ने मनसायले प्रेरित भएर सो रकम निकालिएकोमा कुनै शंका छैन,' मोहन वैद्य निकट मजदुर संगठनका अर्का नेताले भने।

No comments:

Post a Comment