Sunday 6 January 2013

केबुल टिभीलाई डिजिटल बनाउन सरकारको निर्देशन



काठमाडौं, पुस २२ -सरकारले केबुल टेलिभिजन सञ्चालकलाई तत्काल डिजिटल प्रविधिमा सेवा सुरु गर्न निर्देशन दिदैं सूचना जारी गरेको छ। 
शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना गर्दै केबुल टेलिभिजन सञ्चालकलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न निर्देशन दिएको हो। मन्त्रालयले डिजिटल प्रविधिले केबुल टिभीको गुणस्तर सुधार गर्न, पारदर्शीता अपनाउन र गलत क्रियाकलाप तत्कालै थाहा पाउन सजिलो हुने जनाएको छ। 

डिजिटल प्रविधिमा गएपछि केबुल टिभी सञ्चालकले अहिलेको 'एनलग' प्रविधिलाई परिवर्तन गर्नुपर्ने हुन्छ। सरकारले हालै संशोधन गरेको राष्ट्रिय प्रसारण नियमावलीले काठमाडौं महानगरपालिका र सबै उपमहानगरपालिका भित्र आगामी तीन वर्षभित्र सबै केबुल टिभीहरु डिजिटल प्रविधिमा जानुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार मन्त्रालयले सूचना निकालेको मन्त्रालयका उप-सचिव अनुप नेपालले बताए।

'यो प्रविधिमा गएपछि केबुल टिभीको गुणस्तरमा सुधार हुनेछ,' उनले भने, 'यसका साथै प्रयोगकर्ताको सही तथ्यांक आउने भएकाले राजस्वमा पनि योगदान पुग्नेछ।' केबुल टिभी सञ्चालकहरुका अनुसार डिजिटल प्रविधिमा गएपछि ग्राहकले एउटा सेटअप बक्स राख्नुपर्ने छ। यस्तो सेटअप बक्स बजारमा २ हजार रुपैयाँदेखि पाइने छ। यसरी सेटअप बक्स राखेपछि भिडियो र अडियोको गुणस्तर राम्रो हुने नेपाल केबल टेलिभिजन महासंघका सह-अध्यक्ष मनराजा रञ्जितले बताए।

'डिजिटलमा गएपछि अहिलेको जस्तो ग्राहकले कोठैपिच्छे आफैले सेयर गरेर केबुल हेर्न मिल्दैन,' उनले भने, 'यसका लागि ग्राहकले एउटा मास्टर सेटअप बक्स राख्नुपर्ने छ, अनी अरु स्प्लेभ बक्स राखेर सेयर गर्न सकिन्छ।' डिजिटल प्रविधिमा जाने केबुल सञ्चालकले अहिले एनलगकै मूल्यमा मासिकरुपले ग्राहकले सेवा पाउने बताएका छन्।

अन्तराष्ट्रिय दूरसञ्चार संगठन(आइटियु)ले सन् २०१७ सम्म संसारभर टिभी प्रसारणलाई डिजिटल प्रविधिमा लाने लक्ष्य राखेको छ। सोही लक्ष्य अनुसार नेपालले पनि २०१७ भित्र केबुल टिभीलाई डिजिटल प्रविधिमा लाने निर्णय गरि नियमावली संशोधन गरेको हो। नेपालमा हाल करिब ६ सय जति केबुल सञ्चालक छन्।

No comments:

Post a Comment