Tuesday 8 January 2013

प्रविधिले बढाएको आम्दानी




काठमाडौ, पुस २४ - ९ वर्षअघि नेपाल टेलिकमले जति आम्दानी गथ्र्यो, अहिले त्यसको झन्डै दोब्बर रकम सरकारलाई राजस्व बुझाउँछ । टेलिकमको वाषिर्क प्रतिवेदनअनुसार ०६०/०६१ मा उसको आम्दानी २ अर्ब ४६ करोड रुपैयाँ थियो ।

०६८/०६९ आइपुग्दा कम्पनीले ५ अर्ब रुपैयाँभन्दा बढी कर बुझाएको छ । प्रविधिमा भएको विकास र त्योसँगै दूरसञ्चार क्षेत्रमा बढेको सर्वसाधारणको पहुँचका कारण कारोबार बढ्ने र नाफा कमाउने कम्पनी र व्यक्तिको संख्या उल्लेख्य छ ।

तार जडित आधारभूत टेलिफोन सेवाबाट सुरु भएको दूरसञ्चार क्षेत्र बिस्तारै स्याटलाइट, इमेल, मोबाइल हुँदै इन्टरनेटको ठूलो प्रदायक बनेको छ । अझ ससाना सेवा हेर्ने हो भने पछिल्लो दशकमा मात्रै दूरसञ्चार सेवामा नयाँनयाँ आविष्कार भएका छन्, जसले जनजीवन सजिलो बनाउन मात्र होइन रोजगारी बढाउन पनि सहयोग गरेको छ । सय वर्षअघि आवाज मात्र आदान-प्रदान गर्ने पहिलो टेलिफोन लाइन जडान भएको काठमाडौंमा पछिल्लो समय डाटा र भिडियो पनि हावाबाटै पाउन थालिएको छ ।

मोबाइल बोकेर फोन मात्र गर्ने होइन, विश्वसँगै जोडिन खोज्नेको संख्या बढ्दै गएपछि हातमै इन्टरनेट बोक्नेको संख्या बढेको हो, जसका कारण जीपीआरएस हुँदै थ्रीजी, फोरजी, वाइम्याक्ससम्मका प्रविधि आउन थालेका छन् । 'पछिल्लो सयम विशेषगरी इन्टरनेटको माग ज्यादै बढेको छ,' दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्, 'सेवा भ्वाइसमा मात्र नभएर अन्य धेरै क्षेत्रमा रहेकाले माग बढाएको छ ।

' सूचना प्रविधि क्षेत्रमा भएका नयाँ विकास र प्रविधिका कारण दूरसञ्चार सेवाको माग पनि बढिरहेको उनले बताए । 'स्मार्ट फोन र एप्लिकेसनले त्यहीअनुसारको सेवा खोज्छन्,' उनले भने, 'जसले ब्यान्डविथको माग बढाउँछ ।' प्राधिकरणको तथ्यांकअनुसार ६० लाखभन्दा बढी मोबाइल ग्राहकले इन्टरनेट सुविधा उपभोग गरिरहेका छन् । मोबाइलबाट भ्वाइससँगै डाटा र भिडियो प्रयोग गर्ने चलन पनि बढाएको छ, जसले सोसल नेटवर्क होस् वा एप्लिकेसन चलाएर थप सुविधा लिइरहेका छन् । थप सुविधा प्रयोगकै कारण सम्बन्धित सेवा प्रदायकको व्यापार पनि बढेको छ ।

'धेरै सुविधा उपलब्ध भए पनि हाल सबैभन्दा धेरै कारोबार भ्वाइसबाटै हुन्छ,' एनसेलकी सञ्चार प्रवर्द्धन निर्देशक सञ्जु कोइरालाले भनिन्, 'बजार विकासको क्रममा रहेकाले बिस्तारै परिवर्तन हुने छ ।' युरोप अमेरिकी बजारमा भ्वाइसभन्दा डाटाबाट हुने आय बढ्न थालेको तर नेपालमा परिवर्तन आउन भने समय लाग्ने उनले बताइन् । 'हामीकहाँ अहिले पनि नेटवर्क विस्तार भइरहेको छ,' उनले भनिन्, 'त्यसैले सेवाको गुणस्तरमा विशेष ध्यान छ ।'

स्मार्ट फोन प्रयोगकर्ताको संख्या बढ्ने क्रममा रहे पनि साक्षरताका कारण नयाँ सेवाका उपभोक्ता सीमित रहेको उनले बताइन् । 'तर भविष्यको कारोबार भनेको डाटा नै हो,' उनले भनिन् । एनसेल मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । यसको बजारमा ४८ प्रतिशत हिस्सा छ । नयाँ सेवा प्रयोगकर्ताको संख्या सानो भए पनि वृद्धिदर सन्तोषजनक रहेको नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधान बताउँछिन् ।

'कुल आयमा ठूलो हिस्सा नराखे पनि मोबाइल डाटाबाट हुने आर्जन पछिल्लो वर्ष दोब्बर भएको छ,' उनले भनिन्, 'यो क्रम पछिल्लो पुस्ताका कारण अझै बढ्ने छ ।' प्रविधि क्षेत्र दूरसञ्चारसँग छुट्याएर हेर्न छोडिएको र नयाँ आविष्कारले सुविधा थप हुँदै गइरहेको उनी बताउँछिन् । 'टेलिकमले पनि सुलभ मूल्यमा भरपर्दो प्रविधि भित्र्याउने क्रम जारी राखेको छ,' उनले भनिन् । सेवाको गुणस्तर र पहुँच बढ्दै गएपछि विशेषगरी मोबाइलबाट गरिने काम बढ्ने अनुमान उनले गरिन् ।

'योसँगै वाइम्याक्स जस्ता सजिला नयाँ प्रविधिबाट दूरसञ्चार क्षेत्रको आय र विस्तार अझै बढ्ने छ,' उनले भनिन् । टेलिकमले करिब एक महिनाभित्रै सर्वसाधारणलाई पनि यो सेवा दिन थाल्ने उनले बताइन् । टेलिकमको ८२ लाखभन्दा बढी ग्राहक छन् ।

योसँगै सूचना प्रविधि क्षेत्रमा बढेको व्यापार र रोजगारी पनि सँगै छ । मुलुकभर मोबाइल बिक्री गर्ने पसलको यकिन तथ्यांक नभए पनि २० हजारको हारहारीमा व्यवसायी रहेको अनुमान गरिन्छ । व्यापार र व्यापारीको संख्या बढ्दै गएपछि ३ वर्षअघि संघ दर्ता गरिएको छ । 'अहिले ३ सयको हाराहारीमा व्यवसायी संघमा छन्,' मोबाइल व्यवसायी संघका सचिव मुकुन्द बाँस्कोटाले भने, 'यसलाई विस्तार गर्दै जाने छौं ।'

प्रविधिको विकाससँगै मोबाइलको मूल्य कम हुँदै आएको र व्यवसायी बढ्ने क्रमले प्रतिस्पर्धा पनि थपिएको उनले बताए । 'बिक्री बढी रहेको छ' उनले भने, 'जसले गर्दा प्रतिस्पर्धाले मार्जिन घटेको छ ।' सस्तो फोनका साथै पछिल्ला प्रविधिमा आधारित मोबाइलको माग पनि उच्च रहेको उनी बताउँछन् । 'औसतमा १० हजार रुपैयाँ पर्ने मोबाइलको माग बढी छ,' उनले भने । पछिल्लो तथ्यांक अनुसार मुलुकमा करिब ७० प्रतिशत जनतासँग दूरसञ्चारको पहुँच छ । यसको अर्थ १ करोड ८५ लाख व्यक्ति प्रविधिका ग्राहक हुनु पनि हो ।

मुलुकका ६१ प्रतिशतसँग पहुँच पुगेकाले मोबाइल सेवा र त्यसमा आधारित उत्पादनको बजार पनि उत्तिकै बढेको छ । 'मल्टी मिडियायुक्त सेटसहित साधारणको पनि माग उत्तिकै बढिरहेको छ,' बाँस्कोटाले बताए । मोबाइल सेट बजारमा बिक्रेता कम्पनीसँगै ब्रान्डको उपस्थिति पनि बढ्न थालेको छ । बजारमा एक दर्जनभन्दा बढी ब्रान्डका मोबाइल उपलब्ध हुन थालेका छन् ।

No comments:

Post a Comment