Friday, 29 June 2012

अर्थद्वारा नियमविपरीत भिसा नोट सिधै दूतावासमा


काठमाडौं, असार १५ (नागरिक)- अर्थ मन्त्रालयले कूटनीतिक आचारसंहिता विपरीत विदेशमा हुने सम्मेलनमा आफ्ना कर्मचारी पठाउन सिधै सम्बन्धित दूतावासलाई पत्राचार गरेको खुलेको छ। अर्थले कर्मचारीको मनोनयन सम्बन्धी विवरण र भिसा नोट सिधै दूतावासलाई लेखी भिसा प्रक्रियामा सघाउन आग्रह गर्दै आएको छ।
अर्थले पछिल्लोपटक चीनको बेइजिङमा साउन २ देखि २२ सम्म आयोजना हुने 'फाइनान्सियल मार्केट कन्स्ट्रक्सन एन्ड इकोनोमिक डेभलपमेन्ट फर डेभलपिङ कन्ट्रिज' सेमिनारमा आफ्ना कर्मचारी पठाउन मनोनयन पत्र र भिसा नोट सिधै काठमाडौंस्थित चिनियाँ दूतावास पठाएको छ।
स्रोतका अनुसार कूटनीतिक आचारसंहिता विपरीत अर्थले मनोनयन पत्र र भिसा नोट सिधै पठाएपछि चिनियाँ दूतावासले वास्तविकता बु‰न परराष्ट्र मन्त्रालयसँग राय मागेको छ। चिनियाँ दूतावासले 'दूतावाससँग पत्राचार गर्ने आधिकारिक बाटो कुन हो? के नियम परिवर्तन भएको हो?' भनी स्पष्टता मागेको हो।
'सम्मेलनमा कर्मचारी पठाउन अर्थले सिधै दूतावासलाई पत्राचार गर्नु कुटनीतिक आचारसंहिताको ठाडो उल्लंघन हो,' स्रोतले भन्यो, 'भिसा नोट परराष्ट्रबाहेक अरुले लेख्नै मिल्दैन।'
कूटनीतिक आचारसंहिता, २०६८ अनुसार विदेशी सरकार वा क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय संस्थाको निमन्त्रणामा नेपाल सरकारको सहभागिताका लागि प्रतिनिधि पठाउँदा सम्बन्धित मन्त्रालय वा निकायले परराष्ट्रमार्फत आतिथ्य मुलुक, नियोग वा संस्थासँग पत्राचार गर्नुपर्ने हुन्छ।
'सरकारी प्रतिनिधिले गर्ने विदेश भ्रमण सम्बन्धी लेखापढी परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्नेछ,' कुटनीतिक आचारसंहितामा भनिएको छ, 'प्रस्तावित कुनै भ्रमणको उपयुक्तताबारे परराष्ट्र मन्त्रालयको अन्यथा राय भएमा सोको कारणसहित पुनर्विचारको लागि समय रहँदै सम्बन्धित निकायलाई जानकारी दिनुपर्नेछ।'
अर्थले सिधै मनोनयन पठाई आचारसंहिताको उल्लंघन र भिसा नोट लेखी अवैधानिक कार्य गरेको ठहर स्रोतको छ। विदेशमा आयोजना हुने सभा सम्मेलनमा सहभागी हुन जानको लागि सम्बन्धित मन्त्रालयले कर्मचारीको नाम मनोनयन गरी परराष्ट्र पठाउनुपर्ने प्रावधान छ। यसरी आएको मनोनयन पत्रलाई परराष्ट्रले सम्बन्धित देशको दूतावास पठाउने गर्छ।
स्रोतका अनुसार भिसा नोट तोकिएका परराष्ट्रको दुई जना कर्मचारीले मात्र लेख्न पाउने प्रावधान छ। परराष्ट्रले कूटनीतिक र अफिसियल (सरकारी) राहदानीका लागि मात्र भिसा नोट लेख्ने गर्छ। परराष्ट्रको भिसा नोटको आधारमा मात्र सम्बन्धित दूतावासले कूटनीतिक र अफिसियल राहदानीमा भिसा दिने गर्छन्। तर, अर्थ मन्त्रालयबाट भिसा नोट गएपछि चिनियाँ दूतावासले परराष्ट्रसँग स्पष्टीकरण मागेको हो।
कूटनीतिक आचारसंहितामा विदेशमा आयोजन हुने सभा सम्मेलनमा सहभागी हुन जाने सदस्यले नेपाल सरकारका तर्फबाट प्रस्तुत गर्ने नीतिगत स्थिति, सम्बोधन, भाषण, वक्तव्य वा टिप्पणीका सम्बन्धमा परराष्ट्रसँग परामर्श लिनुपर्नेसमेत स्पष्ट उल्लेख गरिएको छ।

No comments:

Post a Comment