Thursday, 14 June 2012

जहाजको सिट क्षमतामा नेपाल ९१ औं स्थानमा

airकाठमाडौं, जेष्ठ ३२ - अन्तर्राष्ट्रिय उडानमा सिट क्षमताका आधारमा नेपाल विश्वमा ९१ औं स्थानमा छ ।
सेन्टर फर एभिएसन (कापा) को तथ्यांक अनुसार साताको ६८ हजार ६ सय २७ सिट क्षमतामा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालबाट उडान गरिरहेका छन् । नेपालले पुराना हवाई सेवा सम्झौता संशोधन गर्दै उडान गर्न सक्ने सिट क्षमता बढाएपछि विश्वका २ सय ३१ मुलुकमध्येमा ९१ औं स्थानमा पुग्न सफल भएको हो । आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैका सिट क्षमताका आधारमा भने नेपाल ९३ औं स्थानमा छ । यी दुवै गरी यहाँ उडान गर्ने विमान कम्पनीले ८८ हजार ८ सय ९० सिट सुविधा दिइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुदाँहुँदै पनि यति सिट सुविधा यात्रुका लागि राम्रो भएको विज्ञहरू बताउँछन् ।
'भएको सिट सुविधालाई नेपालले भने सदुपयोग गर्न सकेको छैन,' हवाईविज्ञ कुमार चालिसेले भने, 'जति सिट खपत भएको सबै अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गरेका छन् ।' बाह्य मुलुकबाट आउने विमान कम्पनीको संख्या २९ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सञ्जालका लागि नेपाल १ सय २३ औं स्थानमा छ । तर सञ्चालित विमान कम्पनीका आधारमा नेपाल सूचीमै छैन । सरकारले यहाँबाट स्वदेशी विमान कम्पनीले पनि अन्तर्राष्ट्रिय उडान गर्न पाउलान् भनेर सम्झौतामा सिट क्षमता बढाएर ठाउँ राखिदिएको हो । 'केही नेपाली कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति लिए पनि टिक्न सकेनन्,' उनले भने, 'यस्तोमा सिट क्षमतालाई हेरेर मात्र मख्ख पर्ने स्थिति छैन ।'
यहाँबाट नेपाल वायुसेवा निगमले मात्र 'सेड्युल' अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । उसको हिस्सा यो क्षेत्रमा जम्मा ४ प्रतिशतमा सीमित छ ।
त्यस्तै बुद्धले भारतको एक/दुई गन्तव्यमा उडान गरिरहेको छ । एयर ट्राफिक मुभमेन्टका आधारमा नेपाल एसिया प्यासिफिकमा तेह्रौं स्थान रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सन् २०११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक मुभमेन्ट १ लाख १ हजार ९ सय ९३ थियो ।
अघिल्लो वर्ष यो संख्या ९९ हजार २ सय ८१ रहेको विमानस्थलको तथ्यांक छ । त्यस्तै चीनको अन्तर्राष्ट्रिय उडानमा १९ लाख ८८ हजार ८ सय ६३ सिट क्षमता छ । विश्वभरमा चीन ७ औं स्थानमा छ । कापाको तथ्यांक अनुसार भारत १९ औं स्थानमा छ ।
त्यस्तै ट्राभल एन्ड टुरिजम कम्पिटिटिभ रिपोर्ट अनुसार हवाई यातायात पूर्वाधारमा नेपाल १ सय ३९ मुलुकमध्ये १ सय १६ स्थानमा छ । रिपोर्टमा औसत मापदण्डका लागि दिइएको सूचांकभन्दा नेपाल पछाडि छ । पूर्वाधारका लागि औसत मापदण्डका रूपमा ४ दशमलव ८ अंक राखिएकामा नेपालको ३ दशमलव ५ मात्र छ । नेपाल वायुसेवा निगमले १९५८ देखि उडान सुरु गरेपछि नेपालमा हवाई सेवाको सुरुवात भएको हो । हालसम्म आइपुग्दा उड्डयन क्षेत्रले प्रत्यक्ष ४ हजारलाई रोजगारी दिएको छ । प्राधिकरणका अनुसार यो संख्या विमान कम्पनीमा काम गर्ने कर्मचारीको मात्र हो । यस बाहेक सबै विमान कम्पनीले अन्य सेवा प्रदायक संस्थाबाट समेत जनशक्ति लिने गरेका छन् । ती जनशक्तिको संख्या यकिन नभएको प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले बताए । 'प्राधिकरणको मात्र विमानस्थलमा खटिएका कर्मचारी र सेवा प्रदायकबाट लिइएको जनशक्ति गरी दुई हजारले काम गरिरहेका छन्,' उनले भने । विश्वभर भने उड्डयन क्षेत्रले ५ करोड ७० लाखलाई रोजगारी दिएको छ ।

No comments:

Post a Comment