Saturday, 30 June 2012

४ खर्ब २९ अर्बको बजेट आउँछ : अर्थसचिव

 


हेटौडा, असार १६ – अर्थसचिब कृष्णहरि बाँस्कोटाले आगामी आर्थिक बर्षमा ४ खर्ब २९ अर्बको बजेट आउने खुलासा गर्नुभएको छ । मकवानपुरको हेटौडामा शक्ति एफएमको दोस्रो बार्षिक उत्सबको शनिवार उद्घाटन गर्दै अर्थसचिब बाँस्कोटाले बजेटमा रोजगारी सृजना गर्ने कार्यक्रम, विकास निर्माण, उर्जा क्षेत्र, पर्यटन, कृषि र भौतिक पुर्बाधार क्षेत्रले प्राथमिकता पाउने बताउनुभयो ।

बजेट निर...
्माण गर्दा मुलुकको अर्थतन्त्र निर्माणको लागि राम्रा कार्यक्रमहरु ल्याउने अर्थसचिब बाँस्कोटाले बताउनुभयो । बजेटमा हेटौडा काठमाडौ सुरुङ मार्ग, कपडा उद्योग, हेटौडा अस्पताल, हेटौडा धरान चतरामार्ग निर्माणलाई प्राथमिकता दिने उहाँले आश्वासन दिनुभयो ।

चालु आर्थिक बर्षको ११ महिनामा २ खर्ब १० अर्ब राजस्व संकलन भईसकेको जानकारी दिदै उहाँले लक्ष अनुसार मा २ खर्ब ४२ अर्ब राजस्व संकलन हुने दावी गर्नुभयो ।

चालु आर्थिक बर्षमा ७५ प्रतिशत रकम खर्च भईसकेको र सरकारको ढुकुटीमा ५० अर्ब रुपैया संचित रहेको अर्थसचिव बाँस्कोटाले जानकारी गराउनुभयो । १० बर्ष सञ्चार माध्यममा काम गरेका संचारकर्मीहरुलाई उपचार कोषको ब्यबस्था गरेको पनि उहाँले बताउनुभयो ।

हेलिकप्टरले चामल पुर्‍याउने जिल्ला घट्दै(सडकमा ८५ प्रतिशत रकम खर्च हुने)


काठमाडौ, असार १६ - सरकारले हेलिकप्टरबाट चामल पुर्‍याउनुपर्ने जिल्ला अब २ वटा मात्रै बाँकी छन् । अर्थात हुम्ला र डोल्पा बाहेक अन्य जिल्लालाई सडक सञ्जालले छोइसकेकाले ढुवानी सजिलो भएको हो ।'हिउँदमा मुगुमा पनि सडकबाट ढुवानी सम्भव भएपछि हेलिकप्टरको ढुवानी घटेको हो,' भौतिक योजना तथा निर्माणसचिव तुलसी सिटौला भन्छन् । यस वर्षको खर्च अन्यन्त्र निराशाजनक रहे पनि उनको मन्त्रालय अन्तर्गत सडकतर्फको प्रगति भने उल्लेख्य भएको उनको दाबी छ ।
चालू वर्षको बजेट समयमै विनियोजन भएकाले सडकमा करिब ८५ प्रतिशत लक्ष्य प्राप्त हुने उनको दाबी छ । सडक निर्माणमा यस वर्ष ३० अर्ब बजेट थियो । उनले बताए अनुसार यस वर्ष नेपाल सरकारले दिएको रकममध्येबाट ८५ प्रतिशत र वैदेशिक सहयोगको ८० प्रतिशत रकम खर्च हुने अपेक्षा गरिएको बताए । 'तर यकिन तथ्यांक तेस्रो चौमासिक -साउन) मा मात्रै आउने छ,' उनले भने । सरकारले यस वर्ष हुलाकी, मध्य पहाडी, उत्तर-दक्षिण, फास्टट्रयाकलाई राष्ट्रिय गौरवका आयोजनामा राखेको थियो । चालू आर्थिक वर्षको मध्यमा घोषणा गरिएका राष्ट्रिय महत्त्वका योजनालाई बजेटले समेट्न नसकेको मन्त्रालयले गुनासो पनि छ । यसमा कम प्राथमिकतामा परेको रेलवे योजना रह्यो । भारतीय सहयोगमा निर्माण हुन लागेको पूर्व-पश्चिम रेलमार्गमा रकम अभावका कारण मुअब्जा सयममै दिन मन्त्रालयले सकेन ।
मध्य पहाडीमा विनियोजित सबै खर्च भारतदेखि भारतसम्म अर्थात पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म फैलिने मध्य पहाडी -पुष्पलाल मार्ग) का लागि यस वर्ष १ अर्ब ७५ करोड विनियोजन भएको थियो । मन्त्रालयले यस महिनाको मसान्तसम्म सबै रकम खर्च हुने भनेको छ । यस सडक अन्तर्गत जाजरकोटमा २५ किलोमिटर ट्रयाक खोल्ने काम यस वर्ष पनि बाँकी नै रहने छ । यसबाहेक अन्यत्र यसै वर्ष ट्रयाक खुलिसक्ने आयोजनाको दाबी छ ।
०६५ फागुन २६ गतेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको यो मार्गको लम्बाइ १ हजार ७ सय ३५ किलोमिटर छ । यसले पहाडी जिल्लामा सञ्चालनमा रहेका राजमार्ग/सडकलाई समेट्दै नयाँ बाटो बनाउने छ । पहाडभित्र पर्ने ३९ जिल्लामध्ये यसले २४ जिल्लालाई छुने छ । जसमध्ये १९ जिल्ला सदरमुकाम र बाँकी साना सहरलाई छिचोल्ने छ ।
उत्तर-दक्षिण सडकको खर्च न्यून अबको १० वर्षसम्म निर्माण सक्ने योजना राखिएको उत्तर-दक्षिण लोकमार्ग आयोजनाका लागि यस वर्ष ६२ करोड विनियोजन गरिएको थियो । हिमाली भेगका जनतालाई सरकारी सेवा सुविधा लिन सघाउने उद्देश्यले अघि सारिएको यस मार्गका अधिकांश आयोजनामा रकम खर्च हुन सकेको छैन । वर्षभरि देखिएको इन्धन अभाव र भौगोलिक विकटताका कारण विनियोजन गरिएको बजेट खर्च कम भएको आयोजना प्रमुख प्रमिला बज्राचार्यले बताइन् । यस आयोजनामा ६ वटा करिडोर सहित १६ वटा आयोजना छन् ।
फास्टट्रयाकमा १ अर्ब बाँडिँदै
राजधानीलाई बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने मुख्य लक्ष्य राखेर ०६६/०६७ बाट सुरु भएको देशकै नम्बर १ आयोजना अन्तर्गत मुआब्जा वितरणका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं-निजगढ फास्टट्रयाकमा मुअब्जा बाँड्ने काम भइरहेको छ । सेनाले जिम्मा लिएको सडकको यस वर्ष खोकनामा ८ किलोमिटर ट्रयाक खोल्ने काम मात्रै बाँकी रहने छ । अरू स्थानमा ट्रयाक खोल्ने काम सकिने क्रममा छ । यस आयोजनामा मुअब्जाका लागि रकम अभाव भएपछि मन्त्रालयले स्रोतअन्तर र बचतबाट मुअब्जा रकम छुट्याएको थियो । निर्माणका लागि यस वर्ष ३५ करोड विनियोजन भएको ूथियो । यो रकम पूरै खर्च भएको छैन । केही बाँकी रहेको सचिव सिटौलाले बताए । मन्त्रालयका अनुसार ७६ किलोमिटर लामो सडक ६७ अर्ब लागतमा निर्माण भइरहेको छ ।
पुलमा २ अर्ब १८ करोड थपियो पुल निर्माणमा यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ विनियोजित थियो । यो रकम पूरै खर्च भएर यस वर्ष तेस्रो मुलुक, भारतीय र एसियाली विकास बैंकको सहयोग रकम र स्रोतअन्तरबाट २ अर्ब १८ करोड थपिएको छ । यस वर्ष चार सय पुल निर्माणको लक्ष्य थियो । मन्त्रालयले असार मसान्तसम्म देशभर ७० वटा पुल निर्माण भइसक्ने दाबी गरेको छ । निर्माण हुने पुलमध्ये पूर्व-पश्चिम हुकाली सडकमा ५० वटा र मध्य पहाडी लोकमार्गमा ३० वटा परेका छन् । लक्ष्यमा समावेश गरिएका पुलमध्ये केन्द्रीय सडक सञ्जालमा १ सय ५० र बाँकी स्थानीय सडकमा निर्माण हुने लक्ष्य बजेटमा थियो ।
हुलाकीमा खर्च विवरण आउन बाँकी हल्कराले साइकल गुडाउने दक्षिणी तराईका ससाना बाटालाई 'हुलाकी राजमार्ग' मा बदलिरहेको मन्त्रालयले यस वर्ष ४ अर्ब ९८ करोड रकम विनियोजन गरेको थियो । यस्मा ९८ करोड नेपाल सरकारको थियो । बाँकी रकम भारत सरकारको अनुदानको थियो । यस आयोजनाका निर्देशक हरिकृष्ण भगतका अनुसार ४९ करोड पुल निर्माण र ४९ करोड मुअब्जामा खर्च गरिएको छ ।
भारतले दिने सहयोग रकम भारतीय विदेश मन्त्रालय र काठमाडौंमा रहेको भारतीय दूतावास मार्फत खर्च हुने भएकाले यस वर्ष भारतीय रकम कति खर्च भयो भन्नेबारे आयोजनालाई जानकारी छैन । यो सडक निर्माण गर्न मन्त्रालयले विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा ७ आयोजना कार्यालय राखेको छ । यी कार्यालयले भारतीय निर्माण कम्पनीलाई सघाउने, मुअब्जा वितरण गर्ने, पोल सार्ने, विवाद सुल्झाउने गरिदिन्छन् । यस सडकको पहिलो चरणको निर्माणको लक्ष्य ३ वर्षभित्र सक्ने छ । बाँक चरणको कामको टुंगो लागेको छैन ।
निर्माण सम्पन्न हुने अवधि १० वर्ष अनुमान गरिएको आयोजनाको निर्माण गत वर्षदेखि थालिएको हो । दुई वर्षअघि भारत सरकारसँग २० अर्ब रकम सम्झौता भएको यो बाटोले भारतसँग नजिक रहेका दक्षिणी भेगका गाउँलाई तराईका सदरमुकाम र राजमार्गसँग जोड्ने लक्ष्य छ । पहिलो चरणको ६ सय किलोमिटर सडकको निर्माण जारी छ ।
रेलमा मुअब्जा वितरण नेपाल-भारतबीचको व्यापारलाई सहज बनाउन सरकारले पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेको थियो । करिब सात दशकअघि स्थापना भएको जनकपुर-जयपुर रेलवे (५१ किलोमिटर) लाई सरकारले यसै आयोजनामा गाभ्न गृहकार्य गरिरहेको छ । यसका साथै विराटनगरलाई पनि यस ओजनामा गाभ्ने लक्ष्य छ । भारतीय सहयोगमा हुन लागेको रेलमार्गबारे विस्तृत योजना अध्ययन (डीपीआर) को काम जारी छ । यस मार्गमा पर्ने घर/जग्गाका लागि मुआब्जा दिन ४ करोड विनियोजन भएको थियो । तर अहिले १ अर्ब रुपैयाँ मुआब्जा बाँड्ने काम भइरहेको छ । त्यसैगरी उपत्यकामा निर्माण हुने मेट्रो रेलको सम्भाव्यता अध्ययन र बर्दिबास-वीरगन्ज जोड्ने मार्गको विस्तृत अध्ययन भइरहेको छ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर नपुग भएको कारण देखाउँदै मन्त्रालयले रकमान्तर मार्फत थप १० गरी २० करोड दिएको छ ।
६ लेन निर्माण भएन मन्त्रालयले यस वर्ष मुलुकका चार वटा सहरका सडकलाई ६ लेन बनाउन ६० करोड छुट्याएको थियो । तर ३ वटाको काम यस वर्ष हुन सकेन । निर्माण हुन नसकेका योजनामा विराटनगर-धरान, पथलैया-वीरगन्ज र रुपैडिया-कोहलपुर छन् । बुटवल भैरहवाको ठेक्का भइसकेको छ भने कोहलपुर रुपैडिया ठेक्का लाग्ने प्रक्रियामा छ । यस आयोजना अन्तर्गत वीरगन्ज खण्ड विश्व बैंक र कोहलपुर खण्ड एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने छन् ।
पर्यटन सडक पर्यटन क्षेत्रसँग जोडिएका ५० वटा सडक विस्तार र स्तरोन्नतिका लागि यस वर्ष २० करोड विनियोजन गरिएको थियो । यो रकम खर्च हुने अनुमान छ ।आगामी वर्ष सडकमा ३४ अर्ब आगामी आर्थिक वर्षका लागि भौतिक मन्त्रालयले सडक निर्माणका लागि ३४ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । अर्थ मन्त्रालयले गत वर्ष ३० अर्ब सिलिङ तोकेको थियो ।

Friday, 29 June 2012

रामदेवको नुन कम गुणस्तरको

ramdevकाठमाडौं, असार १६ - भारतीय योग गुरु रामदेवको सञ्जालले गैरकानूनी रुपमा नेपाल भित्र्याएको पतञ्जली ब्राण्डको नून कम गुणस्तरको भएको फेला परेको छ ।
भारतको हरिद्वास्थत पतञ्जली आयुर्वेद लिमिटेडले उत्पादन गरेको उक्त नून काठमाडौंको स्वयम्भुस्थित पतञ्जली आयुर्वेद केन्द्र प्रालिले ठूलो परिमाणमा नेपाल ल्याएको हो । औषधि भएको दाबी गर्दै बिक्री वितरण हुँदै आएको उक्त नून सरकारको स्वीकृति बेगर नेपाल भित्र्याइएको थियो । वाणिज्य तथा आपूर्ति ब्यबस्थापन विभागले स्वयम्भूस्थित केन्द्रमा छापा मारी ती नून बेच्न प्रतिबन्धसमेत लगाएको छ ।

पूर्व राजपरिवारको सम्पत्ति जसरी पनि खोज्नुस् : प्रम भट्टराई

काठमाडौँ, असार १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजपरिवारका सदस्यहरूको सम्पत्ति खोजविनको कामलाई तदारुकताका साथ अगाडि बढाउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिएका छन्। उनले पूर्व राजपरिवारको नाममा विदेशमा रहेका सम्पत्तिसमेत व्यवस्थितरुपमा खोज्न निर्देशन दिए।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल ट्रष्टको आर्थिक वर्ष २०६७/२०६८ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले भावी सन्ततिका लागि पनि त्यो सम्पत्ति साँस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहने भएकाले त्यसको जगेर्ना गर्न निर्देशन दिएको नेपाल ट्रष्टका सचिव श्रीधर गौतमले जानकारी दिए।
ट्रष्टअन्तर्गत रहेका सम्पत्तिहरूलाई आर्थिक उपार्जनको काममा लगाएर त्यसबाट आर्थिक विकास तथा बेरोजगार युवालाई रोजगारी दिनुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिएका थिए।
प्रधानमन्त्रीले पूर्व राजपरिवारको स्वदेश तथा विदेशका विभिन्न बैंकहरूमा रहेको नगद तथा स्वदेश तथा विदेशमा रहेका अन्य भौतिक सम्पत्तिको समेत तत्काल खोजविन गर्न निर्देशन दिएकोमा आफूहरुले त्यस कार्यमा इमान्दारिताका साथ लागिरहेको जानकारी गराएको प्रतिवेदन बुझाएपछि सचिव गौतमले जानकारी दिए।
सो अवसरमा ट्रष्टको तर्फबाट आफूले ट्रष्टको ऐन समय सापेक्ष बनाउन पहल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको र प्रधानमन्त्री त्यसका लागि सकारात्मक रहेको समेत सचिव गौतमले जानकारी दिए।
ट्रष्टअन्तर्गत चारजना सञ्चालकहरू अझैसम्म पनि पूर्ति हुन नसकेको समेत ट्रष्टका तर्फबाट सचिव गौतमले जानकारी गराएका थिए।
यसैगरी पूर्व राजा तथा राजपरिवारको सदस्यहरूको सम्पत्ति खोज्नका लागि सहयोग गर्ने स्थानीय जनता र जानकारहरूलाई सम्पत्तिको बारेमा जानकारी दिँदा त्यसबापत दिइने भनिएको प्रोत्साहनमा पनि प्रष्टताको आवश्यकता रहेकामा त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।
प्रतिवेदनमा ट्रष्टले आर्थिक वर्ष २०६७/६८ मा गरेका काम कारबाहीको विवरण समेटिएको छ। -रासस

अर्थद्वारा नियमविपरीत भिसा नोट सिधै दूतावासमा


काठमाडौं, असार १५ (नागरिक)- अर्थ मन्त्रालयले कूटनीतिक आचारसंहिता विपरीत विदेशमा हुने सम्मेलनमा आफ्ना कर्मचारी पठाउन सिधै सम्बन्धित दूतावासलाई पत्राचार गरेको खुलेको छ। अर्थले कर्मचारीको मनोनयन सम्बन्धी विवरण र भिसा नोट सिधै दूतावासलाई लेखी भिसा प्रक्रियामा सघाउन आग्रह गर्दै आएको छ।
अर्थले पछिल्लोपटक चीनको बेइजिङमा साउन २ देखि २२ सम्म आयोजना हुने 'फाइनान्सियल मार्केट कन्स्ट्रक्सन एन्ड इकोनोमिक डेभलपमेन्ट फर डेभलपिङ कन्ट्रिज' सेमिनारमा आफ्ना कर्मचारी पठाउन मनोनयन पत्र र भिसा नोट सिधै काठमाडौंस्थित चिनियाँ दूतावास पठाएको छ।
स्रोतका अनुसार कूटनीतिक आचारसंहिता विपरीत अर्थले मनोनयन पत्र र भिसा नोट सिधै पठाएपछि चिनियाँ दूतावासले वास्तविकता बु‰न परराष्ट्र मन्त्रालयसँग राय मागेको छ। चिनियाँ दूतावासले 'दूतावाससँग पत्राचार गर्ने आधिकारिक बाटो कुन हो? के नियम परिवर्तन भएको हो?' भनी स्पष्टता मागेको हो।
'सम्मेलनमा कर्मचारी पठाउन अर्थले सिधै दूतावासलाई पत्राचार गर्नु कुटनीतिक आचारसंहिताको ठाडो उल्लंघन हो,' स्रोतले भन्यो, 'भिसा नोट परराष्ट्रबाहेक अरुले लेख्नै मिल्दैन।'
कूटनीतिक आचारसंहिता, २०६८ अनुसार विदेशी सरकार वा क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय संस्थाको निमन्त्रणामा नेपाल सरकारको सहभागिताका लागि प्रतिनिधि पठाउँदा सम्बन्धित मन्त्रालय वा निकायले परराष्ट्रमार्फत आतिथ्य मुलुक, नियोग वा संस्थासँग पत्राचार गर्नुपर्ने हुन्छ।
'सरकारी प्रतिनिधिले गर्ने विदेश भ्रमण सम्बन्धी लेखापढी परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्नेछ,' कुटनीतिक आचारसंहितामा भनिएको छ, 'प्रस्तावित कुनै भ्रमणको उपयुक्तताबारे परराष्ट्र मन्त्रालयको अन्यथा राय भएमा सोको कारणसहित पुनर्विचारको लागि समय रहँदै सम्बन्धित निकायलाई जानकारी दिनुपर्नेछ।'
अर्थले सिधै मनोनयन पठाई आचारसंहिताको उल्लंघन र भिसा नोट लेखी अवैधानिक कार्य गरेको ठहर स्रोतको छ। विदेशमा आयोजना हुने सभा सम्मेलनमा सहभागी हुन जानको लागि सम्बन्धित मन्त्रालयले कर्मचारीको नाम मनोनयन गरी परराष्ट्र पठाउनुपर्ने प्रावधान छ। यसरी आएको मनोनयन पत्रलाई परराष्ट्रले सम्बन्धित देशको दूतावास पठाउने गर्छ।
स्रोतका अनुसार भिसा नोट तोकिएका परराष्ट्रको दुई जना कर्मचारीले मात्र लेख्न पाउने प्रावधान छ। परराष्ट्रले कूटनीतिक र अफिसियल (सरकारी) राहदानीका लागि मात्र भिसा नोट लेख्ने गर्छ। परराष्ट्रको भिसा नोटको आधारमा मात्र सम्बन्धित दूतावासले कूटनीतिक र अफिसियल राहदानीमा भिसा दिने गर्छन्। तर, अर्थ मन्त्रालयबाट भिसा नोट गएपछि चिनियाँ दूतावासले परराष्ट्रसँग स्पष्टीकरण मागेको हो।
कूटनीतिक आचारसंहितामा विदेशमा आयोजन हुने सभा सम्मेलनमा सहभागी हुन जाने सदस्यले नेपाल सरकारका तर्फबाट प्रस्तुत गर्ने नीतिगत स्थिति, सम्बोधन, भाषण, वक्तव्य वा टिप्पणीका सम्बन्धमा परराष्ट्रसँग परामर्श लिनुपर्नेसमेत स्पष्ट उल्लेख गरिएको छ।

Thursday, 28 June 2012

फेरी बढ्ने भो गाडी भाडा

काठमाडौं, असार १५ - यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ । विभागले डिजेलबाट चल्ने यात्रुवाहक सवारी साधन भाडा ३ दशमलव ७५ प्रतिशत र मालबाहकमा ४ देखि ४ दशमलव ५ प्रतिशतले भाडा बढाउने निर्णय गरेको छ ।
विभागले निर्णयलाई आइतवार यातायात मन्त्रालयमा पठाउने भएको छ । मन्त्रालयबाट विभागको निर्णयमा सहमती भए पछि नया भाडादर लागु हुनेछ । तिन महिनाको अवधिमा डिजेलको मुल्य उच्चदरले बढेकाले भाडा बढाउन लागिएको विभागले जनाएको छ । यसअघि गत चैतमा पनि सार्वजनिक सवारीको भाडा बढाइएको थियो ।
व्यवसायीको दवावपछि अघिल्लो साता भाडा बृद्धिको अध्ययन शुरु गरेको विभागले तिन दिन अघि बढाउने निर्णय गरेको हो । यति छोटो समयमा भाडा बढाउने निर्णय भएको यो संभवत पहिलो हो । व्यवसायीको आग्रहपछि विभागले मात्र अध्ययन गरि भाडा बढाउने निर्णय गरेको हो । यसअघि अन्य सरोकारवालासंग पनि छलफल गरेर भाडा निर्धारण गर्ने गरेको थियो ।
'तिन दिनअघि विभागले भाडा बढाउने निर्णय गरेको छ,' विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, 'अव मन्त्रालयलाई सहमतीका लागि सिफारीस गर्छौ ।' त्यहाबाट सहमती आए पछि नया भाडा लागु हुने उनले बताए ।
चैतमा मात्र भाडा बढाईएको थियो । त्यसपछि दुई पटक डिजेलको मुल्य बढेकाले भाडा बढाउन लागिएको श्रेष्ठले बताए । पछिल्लो पटक असार ५ गते डिजेलको भाउ बढे पनि राष्ट्रिय यातायात व्यवसायी महासंघ र ट्रक तथा ट्याङकर व्यवसायी महासंघले भाडा समायोजनाका लागि विभागमा निवेदन दिएका थियो । त्यसको एक सातापनि नवित्दै विभागले नया भाडादर निर्धारण गरेको हो ।
'बैज्ञानिक रुपमा भाडा निर्धारण गरेका छौ,' श्रेष्ठले भने, 'डिजेलको मुल्य ५ रुपैयाभन्दा बढीले बृद्धि भएकाले भाडा बढाउन निर्णय गरि सिफारिस गरेका हौ ।' सरकारले ल्याएको बैज्ञानिक भाडादर निर्धारण गर्न तयार गरेको मापदण्डमा पेट्रोलियम पदार्थको मुल्य ५ रुपैयाभन्दा बढीले बढ्यो भने भाडा समायोजन गर्ने व्यवस्था रहेको उनले बताए ।
'तिन महिनामा डिजेल र मटि्टतेलको भाउ लिटरमा ८ रुपैयाले बढेको छ,' उनले भने, 'त्यसैले भाडा समायोजन गर्ने निर्णय गरेर सहमतीका लागि मन्त्रालयलाई सिफारीस गर्न लागिएको हो ।'
यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विभागबाट बढाउने निर्णय भएको जानकारी पाएको बताए । उनले बैज्ञानिक आधारमा भाडा बढाएकाले आफुले बृद्धिबारे केही बोल्न नमिल्ने बताए । 'व्यवसायी र अरु कसैले पनि बृद्धिको बारेमा केही आलोचना गर्ने ठाउ छैन,' उनले भने, 'पहिले निर्धारण गरेको बैज्ञानिक आधार बृद्धि भएको छ ।'
उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जगन्नाथ मिश्रले व्यवसायीको दवावमा सरकारले एकतफिर् रुपमा बढाएको भाडा उपभोक्तलाई मान्य नहुने बताए । 'विभागले प्रत्येक पटक भाडा बढाउदा व्यवसायीको हितमा मात्र काम गरेको छ,' उनले भने, 'पेट्रोलियम पदार्थको मुल्य बृद्धिसंग भाडा बढाउनु जायज भएपनि एकपक्षिय भाडा बृद्धि सही हैन ।' विभागबाट एक पक्षिय रुपमा हुने भाडा निर्धारणमा आर्थिक चलखेल र अनियमिता भएको आशंका समेत उनको छ ।

म्याग्दीमा यार्सागुम्बा किलोको साँढे १० लाख रुपैयाँ

 म्याग्दी, असार १४ – एकाविहानै हेलिकप्टरको आवाजले म्याग्दी सदरमुकाम बेनीका वासिन्दा अचम्ममा परे । धेरैले त ठाने पोखराबाट नेपाल बैंकमा नोट लिएर आएको होला । तर हेलिकप्टरमा आएकाहरु त सरासर जिल्ला वन कार्यलयतिर पो लागे ।
...
बुधवार विहानै आएको हेलिकप्टर म्याग्दीको दुर्गम मुदी गाविसबाट यार्सागुम्बा लिएर आएको थियो । उनीहरु संकलित यार्सागुम्बा निर्यातको लागि कागजी प्रक्रिया मिलाउन वन कार्यलय गएका थिए । साँढे ४ किलो यार्सागुम्बा ल्याउनका लागि खरिदकर्ता नोर्वु शेर्पाले माउण्टेन कम्पनीको ९ एन एजिआइ हेलिकोप्टर चार्टर गरेर ल्याउनुभएको थियो ।

गएको वर्ष किलोको करिब ५ लाख रुपैयाँमा किनबेच भएको यार्सागुम्बा यसवर्ष मुदी गाउँमा नै १० लाख ३२ हजार रुपैयाँ तिरेर किनेको खरिदकर्ता नोर्बुले बताउनुभयो । मुदीका स्थानीय संकलक दलमान पुनसँग साँढे ४ किलो यार्सागुम्बा खरिद गरेर सडक मार्गबाट ल्याउन असुरक्षा हुने भन्दै हेलिकोप्टर चार्टर गर्नुभएको थियो नोर्बुले ।

पुनले यसवर्ष १० किलो यार्सागुम्बा संकलनका लागि पुर्जी लिएका थिए तर साँढे ४ किलोमात्र संकलन गर्न सकेको बताउनुभयो । अघिल्लो वर्ष ११ किलो संकलन गरेका दलमानले यसवर्ष यार्सागुम्बा थोरै पाइएकाले मुल्य दोब्बर बढेको बताउनुभयो ।

नेपालको यार्सागुम्बा धेरैजसो चीन निर्यात हुने भएकाले चीनको मागका आधारमा मूल्य निर्धारण हुने भएकाले गत वर्षभन्दा दोब्बर मूल्य बढेको वन अधिकृत यमबहादुर रुम्बाले बताउनुभयो ।

जिल्ला वन कार्यालयका अनुसार म्याग्दीका हिमाली गाविसहरुमा प्रतिवर्ष ४० किलो यार्सागुम्बा संकलन गर्न सकिने संभावना छ । यसवर्ष संकलनकर्ताहरुले कार्यलयबाट २२ किलो ५ सय ग्राम यार्सागुम्बा संकलनको पुर्जी लिएपनि हालसम्म ७ किलोको मात्र छोडपुर्जी कार्यालयले दिएको छ । संकलन गरेर जिल्ला वाहिर लैजाने यार्सागुम्बालाई कार्यलयले छोडपुर्जी दिने गर्छ ।

यो वर्ष यार्सागुम्बा संकलन नै कम भएको जिल्ला वन अधिकृत रुम्बाले बताउनुभयो । संरक्षणमा ध्यान नदिँदा वर्षेनी उत्पादन घट्दै गएको उहाँको भनाई छ ।