Sunday, 6 January 2013
बिदाको दिन चलेका १० वटा सरकारी गाडी प्रहरीको नियन्त्रणमा
पोखरा, पुस २१ - जिल्ला प्रहरी कार्यालय कास्कीले
सार्वजनिक बिदाको दिनमा चलेका १० वटा सरकारी गाडीलाई
शनिवार पोखराबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन
कार्यालयको अनुमति विना सरकारी गाडीको चरम दुरुपयोग
गरेको भन्दै पोखराका विभिन्न ठाउँबाट प्रहरीले
ती गाडी नियन्त्रणमा लिएको हो ।
बा १ ब ६०१९, बा १ झ ८७२४, बा १ झ २८८६, ग १ ब २२१,
बा १ प ७३८३ नम्बरका गाडीलाई
नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी, बा १ झ
३८७६, ग १ ब २७८, बा १ ब २७८, ग १ ञ १२९० र बा १ ब
६७८७ नम्बरको गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ
।
आगामी दिनमा सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन
कार्यालयको अनुमति बिना सरकारी गाडी चलाएको पाईएमा थप
कारवाही गरिने प्रहरीले जनाएको छ ।
केबुल टिभीलाई डिजिटल बनाउन सरकारको निर्देशन
काठमाडौं, पुस २२ -सरकारले केबुल टेलिभिजन सञ्चालकलाई तत्काल डिजिटल प्रविधिमा सेवा सुरु गर्न निर्देशन दिदैं सूचना जारी गरेको छ।
शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना गर्दै केबुल टेलिभिजन सञ्चालकलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न निर्देशन दिएको हो। मन्त्रालयले डिजिटल प्रविधिले केबुल टिभीको गुणस्तर सुधार गर्न, पारदर्शीता अपनाउन र गलत क्रियाकलाप तत्कालै थाहा पाउन सजिलो हुने जनाएको छ।
डिजिटल प्रविधिमा गएपछि केबुल टिभी सञ्चालकले अहिलेको 'एनलग' प्रविधिलाई परिवर्तन गर्नुपर्ने हुन्छ। सरकारले हालै संशोधन गरेको राष्ट्रिय प्रसारण नियमावलीले काठमाडौं महानगरपालिका र सबै उपमहानगरपालिका भित्र आगामी तीन वर्षभित्र सबै केबुल टिभीहरु डिजिटल प्रविधिमा जानुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार मन्त्रालयले सूचना निकालेको मन्त्रालयका उप-सचिव अनुप नेपालले बताए।
'यो प्रविधिमा गएपछि केबुल टिभीको गुणस्तरमा सुधार हुनेछ,' उनले भने, 'यसका साथै प्रयोगकर्ताको सही तथ्यांक आउने भएकाले राजस्वमा पनि योगदान पुग्नेछ।' केबुल टिभी सञ्चालकहरुका अनुसार डिजिटल प्रविधिमा गएपछि ग्राहकले एउटा सेटअप बक्स राख्नुपर्ने छ। यस्तो सेटअप बक्स बजारमा २ हजार रुपैयाँदेखि पाइने छ। यसरी सेटअप बक्स राखेपछि भिडियो र अडियोको गुणस्तर राम्रो हुने नेपाल केबल टेलिभिजन महासंघका सह-अध्यक्ष मनराजा रञ्जितले बताए।
'डिजिटलमा गएपछि अहिलेको जस्तो ग्राहकले कोठैपिच्छे आफैले सेयर गरेर केबुल हेर्न मिल्दैन,' उनले भने, 'यसका लागि ग्राहकले एउटा मास्टर सेटअप बक्स राख्नुपर्ने छ, अनी अरु स्प्लेभ बक्स राखेर सेयर गर्न सकिन्छ।' डिजिटल प्रविधिमा जाने केबुल सञ्चालकले अहिले एनलगकै मूल्यमा मासिकरुपले ग्राहकले सेवा पाउने बताएका छन्।
अन्तराष्ट्रिय दूरसञ्चार संगठन(आइटियु)ले सन् २०१७ सम्म संसारभर टिभी प्रसारणलाई डिजिटल प्रविधिमा लाने लक्ष्य राखेको छ। सोही लक्ष्य अनुसार नेपालले पनि २०१७ भित्र केबुल टिभीलाई डिजिटल प्रविधिमा लाने निर्णय गरि नियमावली संशोधन गरेको हो। नेपालमा हाल करिब ६ सय जति केबुल सञ्चालक छन्।
Monday, 26 November 2012
१२ खनिज ९५ ठाउँमा उत्खनन
काठमाडौ, मंसिर १२ - खनिज पदार्थको प्रचुर सम्भावना रहेको नेपालमा हाल १२ प्रकारका खनिज पदार्थ ९५ ठाउँमा उत्खनन भइरहेका छन् । खानी तथा भूगर्व विभाग, लैनचौरका अनुसार उत्खननमा रहेका खानीमा चुनढुंगा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, ट्रुमालिन र जिंक छन् ।
विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले चुनढुंगाका १० उद्योग सञ्चालनमा रहेको जनाए । नेपाल भौगर्भिक समाज र विभागद्वारा राजधानीमा बुधबारदेखि आयोजना हुने 'हिमालय -काराकोरम -तिब्बत क्षेत्रको भूगर्व विषयक अन्तर्राष्ट्रिय सम्मेलन' को जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा खनिज पदार्थको अध्ययनसमेत भइरहेको बताए ।
महतोका अनुसार दाङ, रोल्पा, प्यूठान, सल्यान, पाल्पामा कोइला र पर्वतमा फलाम खानी सञ्चालनमा छन् । 'पब्लिक प्राइभेट पिपुल पाट्टनरसीप (४ पी) अनुसार खानी उत्खनन्, सञ्चालन गर्ने हो भने नेपालमा खनिज उद्योगको राम्रो सम्भावना छ,' उनले भने ।
खोलाको लाइसेन्स जस्तै खानीको पनि निजी कम्पनीले रोकेर राखेका छन् कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'पानीको लाइसेन्स जस्तो खानीको होल्ड गरेर राख्न मिल्दैन,' उनले भने, 'पानी जस्तै खानी बग्दैन, यसलाई थाहा पाउन धेरै अध्ययन गर्नुपर्छ ।' उनले विभागले खानीका लागि दिएको लाइसेन्सको मासिक सूचना निकाल्ने र जानकारीहरू विभागको वेबसाइटमा राखिने गरेको बताए । विभागको वेबसाइट भने अपडेट छैन ।
काठमाडौंमा १९ देशका ३ सय भूवैज्ञानिक तीन दिने 'हिमालय-काराकोरम-तिब्बत क्षेत्रको भूगर्व विषयमा अन्तर्राष्ट्रिय सम्मेलन' एसिया, युरोप र अमेरिका गरी १९ देशका करिब ३ सय भूवैज्ञानिक काठमाडौंमा जुट्दैछन् । भौगर्भिक समाजका अध्यक्ष उत्तमबाबु श्रेष्ठले सम्मेलनमा भूगर्भ, भौगोलिक प्रक्रिया, भूकम्प, खनिज सम्पदा, प्राकृतिक प्रकोप, जलवायु र यी विषयका प्रविधिसम्बन्धी नेपालका भूवैज्ञानिकले तयार गरेका ४० सहित १ सय ५० कार्यपत्र प्रस्तुत हुने बताए । एउटा कार्यपत्र उपत्यकाको भूमिगत जलस्रोतबारे छ । पानी कति छ भनेर पत्ता लगाउन कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे सम्मेलनमा छलफल हुने समितिले जनाएको छ ।
सम्मेलनमा आएका वैज्ञानिकहरूले मंगलबार काठमाडौं उपत्यकाको अध्ययन भ्रमण गर्ने भएका छन् । सम्मेलनपछि एक टोली बुटवल-पोखरा, जोमसोममा र अर्को टोली हेटौंडा, बर्दिबास जानेछ । 'यो सम्मेलनले थप अनुसन्धान गर्ने क्षेत्रहरूको समेत मार्ग प्रसस्त गर्नेछ,' सम्मेलन संयोजक दिव्यरत्न कंसाकारले भने, हामीले यो सम्मेलनलाई महत्त्वपूर्ण रूपमा लिएका छौं । नेपालमा भूवैज्ञानिकको संख्या करिब ४ सय छ । सन् १९९४ मा आयोजित नवौं सम्मेलनपछि नेपालमा आयोजना हुन लागेको यो ३०औं सम्मेलन हो ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगालादेश, भुटान, चीन, जापान, अमेरिका, इटली, बेलायत, फ्रान्स, जर्मनी, स्पेन, स्वीट्जरल्यान्ड, पोल्यान्ड, रसियालगायतबाट भूवैज्ञानिकहरूले भाग लिँदै छन् ।
Friday, 26 October 2012
औद्योगिक करिडोर क्षेत्रमा मजदुर अभाव
खनारस्थित रिलायन्स स्पनिङ मिल्समा काम गर्ने कर्मचारीमात्र होइन मजदुर का लागि व्यवस्थापनले आवासको व्यवस्था गरेको छ ।
राजनीतिक अस्थिरताले उद्योग धराशायी भइरहेको उद्यमीले गुनासो गरे पनि सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा काम गर्ने मजदुर का लागि सुविधा बढ्दै गएको छ । मजदुर ी छाडेर वैदेशिक रोजगारीमा जानेहरू बढ्न थालेपछि उद्योगले विभिन्न सुविधाको क्रम बढाएको छ ।
करिडोर क्षेत्रले पछिल्लो समय खोजेजति मजदुर पाउन छाडेपछि घरघरमै गएर सुविधासहित आकर्षण गर्ने क्रम पनि बढेको छ । र, पनि मजदुर नपाएर उद्योगले समस्या भोग्नु परेको उद्यमीहरूले बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस पूर्वाञ्चल क्षेत्रीय समितिले गरेको अध्ययनअनुसार करिडोर क्षेत्रमा झण्डै १० हजार मजदुर अभाव भएका छन् । उद्योगले थप कामदार लिन तयार भए पनि जनशक्ति नभेटाइएको अवस्था रहेको उल्लेख गर्दै युनियनले यसखाले समस्या आउनुको कारणमा वैदेशिक रोजगारीमा बढ्दो आकर्षण, बिहार सरकारले बढी मूल्य तिरेर मजदुर ल्याउने गरेको लगायतका कारण रहेको बताएको छ ।
जुट, इट्टाभट्टा, बिस्कुट, कागज, साबुन, फलामजस्ता उद्योगमा आवश्यकताअनुसार मजदुर नहुँदा उत्पादनसमेत प्रभावित हुने गरेको छ । अरिहन्त मल्टिफ्लाइवर्सका प्रबन्धक गोविन्द बजगाइँका अनुसार ४ हजार ६ सय जनालाई रोजगारी दिइरहेको अरिहन्तमा मजदुर अभाव भएको छ ।
'मागअनुसार मजदुर नआएपछि हामीले यातायात सुविधासमेत प्रदान गरेर सुनसरी र मोरङमा अभियान चलाउनुपरेको छ' बजगाईले ईकान्तिपुरसित भने- 'अझै प्रशिक्षित जनशक्ति त भेट्टाउनै मुस्किल छ ।'
सुनसरी-मोरङ करिडोर क्षेत्रमा ५ सयभन्दा बढी उद्योग छन् । यी उद्योगमा झण्डै ५० हजार मजदुर कार्यरत छन् । अरिहन्त मल्टिफ्लाइवर्स, रिलायन्स स्पनिङ्, धनलक्ष्मी सेन्थेटिक्स, एसियन थाइफुड्स, कमला र पशुपति आइरन, आरती स्ट्रिप्सलगायतका उद्योग बढी मजदुर उपयोग गर्ने कारखाना हुन । धनलक्ष्मी सेन्थेटिक्सका उद्योगी वासु गोल्यानका अनुसार उद्योगमा कामका लागि दक्षभन्दा अदक्ष कामदार आउँछन् र, काम सिककेपछि विदेश जाने क्रम बढेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस पूर्वाञ्चल सचिव ज्योति कोइरालाले युनियनले गरेको स्थलगत अध्ययनका क्रममा उद्योग आसपास क्षेत्रमा बढी युवा, युवती वैदेशिका रोजगारीका लागि खाडी र अन्य मुलुक जाने गरेका छन् । सप्तरी, सिरहा, झापालगायत जिल्लाबाटसमेत मजदुर लाई ल्याएर उद्योग चलाउनु पर्ने अवस्था रहेको जानकारी दिए ।
झण्डै एक दर्जन संख्यामा करिडोर क्षेत्रमा खुल्न थालेका नयाँ उद्योगका लागि पनि पर्याप्त मजदुर पाइएका छैनन् । करिडोर क्षेत्रमा बिहारबाट कुल मजदुर को २५ प्रतिशत मजदुर काम गर्न आउँथे ।
'बिहारमा आर्थिक क्षेत्रको विकाससँगै मजदुर नेपालमा आएर काम गर्ने रुचि राखेको पाइँदैन' करिडोर क्षेत्रमा बागमती प्लाष्टिक खोलेका उद्यमी नन्दकिशोर राठीले भने- 'गाउँतिर अधिकांश युवा पासपोर्ट बनाएर वैदेशिका रोजगारीमै गएको देखिन्छ ।'
कुनै बेला अन्नपूर्ण सोपमा काम गरेका माधवलाल चौधरी उक्त उद्योग बन्द भएपछि कार्यरत दर्जनौं मजदुर लाई तत्कालै काममा राख्न धेरै उद्योगहरूबाट अफर आएको बताए । 'काम गर्ने मजदुर नै पाइन छाडेका छन्' चौधरीले पनि स्वीकार गरे- 'अझै सीप भएका मजदुर लाई कामको कुनै अभाव छैन ।'
Sunday, 30 September 2012
बिरामी परेपछि आधा दर्जन राउटे बसाइँ सरे
सल्यान, १४ असोज । सल्यानको फलावाङ गाविस-३ को खातखोलामा केही महिना अघिदेखि बस्दै आएका राउटेहरुले बसाइँ सरेका छन् ।
राउटेहरुलाई ज्वरो आउने टाउको दुख्नेलगायतका समस्या देखिएपछि उक्त ठाउँ नफापेको भन्दै उनीहरु सल्यानकै छायाँक्षेत्र गाविस-३ मा रहेको जङ्गलमा आइतबार बसाइँ सरेका हुन् ।
ूहामीलाई यो ठाउँ फापेन त्यही भएर अर्को ठाउँमा सर्न लागेका हौँू मुखिया मैनबहादुर शाहीले रासससँग कुरा गर्दै भन्नुभयो ूराउटे समुदायमा कसैको मृत्यु भएमा वा बिरामी भएपछि बसेको ठाउँ छाडेर अर्को ठाउँमा जाने परम्परा छ ।ू
ज्वरो आउने टाउको दुख्नेलगायतका समस्याबाट पीडित भएका राउटे हिँड्न नसकेपछि अरु राउटेहरुले बोकेर सडकसम्म ल्याइपुर् याएका थिए ।
एकलाई भने दुवै खुट्टामा चोटपटक लागेपछि बोकेर ल्याएको बताउँदै हरिबहादुर शाहीले भन्नुभयो ूहामीलाई यो ठाउँ नफापेर यस्तो भएको हो त्यसैले यो ठाउँ छाडेका हौं अर्को ठाउँमा बसेपछि सबै राम्रो हुन्छ ।ू
बस पर्खेर बसेका राउटेलाई देखेर पनि बसहरु रोक्न नमानेपछि उनीहरु सडक नै बन्द हुनेगरी लाइनमा बसेका थिए । स-साना केटाकेटी महिलाहरु बसभित्र बसेपछि बान्ता हुन्छ भन्दै उनीहरु बसको छतमा बसेका थिए ।
औषधि गरेर रोग निको नहुने बरु कुलदेउता रिसाएर यस्तो भएको मुखिया मैनबहादुर शाहीले बताउनुभयो । ूऔषधि खाएमा कुलदेउता रिसाउँछन् झारफुक गरेर ठीक पार्नुपर्ला ।ू
उनीहरु चिसोका कारण बिरामी परेको आशंका गरिएको छ । बिरामी भएर थला परेका राउटेहरुलाई छतमा पुर् याउँदाको दृश्यले यात्रुहरुलाई समेत भावुक बनाएको थियो ।
केही समयअघि एकै ठाउँमा बस्दै आएका राउटेहरु अहिले दुई ठाउँमा बस्दै आएका छन् । आधा राउटे दाङ र सल्यानको सिमानामा पर्ने जङ्गलमा बस्दै आएका छन् भने बाँकी फलावाङ्गको खातखोलामा बस्दै आएका थिए
Saturday, 11 August 2012
सेयरले उकास्दैछ घरजग्गा र बैंकलाई
काठमाडौं, श्रावण २८ - सेयर बजारमा देखिएको सुधारले घरजग्गा देखि बैंकिङसम्म राहत पुर्याउन थालेको छ । ऋण तिर्नका लागि सेयर विक्री गर्ने क्रम बढेपछि गत वर्षको अन्तिम त्रैमाशिकमा बैंकहरुलाई केहि राहत पुग्ने देखिएको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाशिकको तुलनामा चौथोमा ३ अर्ब १४ करोड रुपैया बढीको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जको तथ्याकं अनुसार वैशाख देखि असारसम्म ४ अर्ब ५२ करोड रुपैयाको कारोबार भएको थियो । जुन माघ देखि चैत सम्म १ अर्ब ३८ करोड रुपैया बराबर मात्र थियो ।
अन्तिम त्रैमाशिकमा बैंकको ऋण चुक्ता गर्न सेयर विक्री गर्नेको संख्या बढी भएकाले बैंकलाई राहत पुग्ने देखिएको हो । ब्रोकरका अनुसार अधिकासं विक्री सेयरधितो कर्जा र रियलस्टेट कर्जा चुक्ता गर्न भएका छन् । जसले बैंकको ऋण उठ्नका साथै खराब कर्जा कम गर्न सहयोग पुग्छ ।
बैंकर भने सेयर बजारमा बढेको कारोबारले बैंकको नाफा वृद्धि गर्न सहयोग नपुगेपनि घट्न भने नदिएको हुनसक्ने बताउछन् । ‘सेयर बजारमा बढेको कारोबारका कारण बैंकहरुको नाफा बढ्ला भन्न सकिदैन’ एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले भने,‘तर नाफा घट्न नदिएकोसम्म हुनसक्छ ।’
बजारमा सुधार आएको अवस्थाका कारण आवस्यक पर्ने व्यक्तिले सेयर विक्री गरेर पनि ऋण तिरेको किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद ज्ञवालीले बताए । ‘सेयर तुरुन्तै किनवेच हुने लगानी भएकाले सहज अवस्था भएपछि केहि व्यक्तिले विक्री गरेर पनि ऋण तिरे’ उनले भने, ‘यसले बैंकलाई सहज भएको हुनुपर्छ ।’ पछिल्लो समय सेयर बजारमा देखिएको सुधारले समग्र व्यवसाय चलायमान बनाएको उनी बताउछन् । ‘बजार बढेपछि सेयर धितो कर्जाको प्रोभिजनिङ हुने संभावना घट्यो साथै आवस्यक पर्नेले विक्री गरेर पनि अन्य ऋण तिरे’ उनले भने, ‘त्यसैले बैंकलाई पनि यसले सकारात्मक असर गरेको छ ।’ पछिल्लो समय सेयर बजारमा देखिएको वृद्धि एक्कासी आएको नभई स्थिर प्रकृतिको रहेकाले सुधार अझै जारी रहने ज्ञवालीले बताए ।
घरजग्गा कारोबारमा सिथिलता आएको समयमा बढेको सेयर बजारले केहि राहत दिने संकेत भने गरेको छ । ‘घरजग्गाकै ऋण तिर्नका लागि सेयर विक्री गरिएको केहि उदाहरण देखिए’ अग्रवाल सेक्युरिटिजका आधिकारीक प्रतिनिधि अनन्त पौडेलले भने । घरजग्गा विक्री हुन असहज भैरहेको समयमा सेयरबजारमा भने ठिक उल्टो अवस्था आएको उनी बताउछन । ‘सेयर विक्री गर्न खोज्दा तुरुन्तै खपत हुन थाल्यो’ उनले भने, ‘यसले बैंकलाई प्रोभिजनिङ गर्नबाट पनि जोगायो ।’
तेस्रो त्रैमाशिक विवरण अनुसार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २५ वटा मध्ये १६ वटा बैंकको नाफा अघिल्लो वर्षको सोहि अवधीभन्दा घटेको थियो । त्यस्तो घाटालाई कम गर्न वा नाफामा लैजान चौथो त्रैमाशिकमा भएको कारोबारले सहयोग गर्ने देखिन्छ ।
चौथो त्रैमाशिकमा सेयर धितो ऋण लिएका केहि ठुला व्यवसायीले पनि कर्जा चुक्ता गर्न बल्क सेयर विक्री गरे । साथै बैंक आफैले पनि ऋण चुक्ता नगरेकाको सेयर लिलामीमा लगेर विक्री गरेका थिए ।
विक्री गर्ने प्रवृत्ती बढेको देखिए पनि बैंकलाई भने ठुलो राहत नहुने अनुमान जोशीको छ । ‘यस्तो कारोबारको बैंकमा अंश कम हुन्छ’ उनले भने, ‘यसका साथै तेस्रोमा नभएर चौथो त्रैमाशिकमा प्रोभिजनिङ गर्छु भनेर बैंकले कुरेका हुनसक्छन् ।’
गत आर्थिक वर्षको अधिकासं समय सुस्त देखिएको सेयर बजार चैत अन्त्यबाट भने बढ्न थालेको थियो । यसका तीन प्रमुख कारण रहेको सेयर सम्बन्धी अनुसन्धान गर्ने संस्था सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेजका अध्यक्ष रविन्द्र भट्टराई बताउँछन् । ‘सेना समायोजन, संविधान निर्माण लगायतका राजनीतिक क्रियाकलापका साथै सेयर बजारमा रहेका धेरै कम्पनीको मूल्य तल आउनु र बैंकको व्याजदर पनि घट्न थाल्नुले सेयर बजार बढाउन सहयोग पुग्यो’ उनी भन्छन् ।
सेयर धितो कर्जा सहज हुनका साथै कम्पनीहरुको वासलात प्रकासित हुनु र जलविद्युत कम्पनीको सेयर खरिद बढेपछि बजारमा सुधार आएको पौडेल बताउछन । माघमा २ करोड १४ लाख रहेको औसत दैनिक कारोबार असारमा ६ करोड २९ लाख पुगेको थियो ।
Subscribe to:
Posts (Atom)